उपल्लो मुस्ताङमा देखिए सयभन्दा बढी जंगली गधा

यी जनावरले हिउँदयामको आठ महिना तिब्बती पठारमा बर्खायाममा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेका छन् ।

वैशाख २१, २०८३

रासस

More than a hundred wild donkeys spotted in Upper Mustang

मुस्ताङ — नेपाल–चीन उत्तरी सीमाक्षेत्र अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो संख्यामा जंगली गधा (क्याङ) देखापरेका छन् । 

समुद्री सतहभन्दा करिब ५ हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जंगली गधा चर्दै गरिहेको अवस्थामा भेटिएका हुन् । यी जनावरसम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङ र सेतारा उच्चलेकमा भेटिएको बताए ।

कोरलास्थित नेपाल—चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङ र सेतारा उच्चलेकमा जंगली गधाको बथान चर्दै गरेको अवस्थामा देखिएको प्रमुख पौडेलले जानकारी गराए । 'लोमान्थाङको धालुङ उच्चलेकमा १०२ वटा र सोही स्थानको अर्को सेतारा उच्चलेकमा १४ वटा गरी ११६ वटा जति देखिए,' उनले भने ।

उनका अनुसार जंगली गधाको बासस्थान हिमायन ट्रान्स हिमालयन (तिब्बत/मुस्ताङ) क्षेत्रमा संयुक्त रहेको विज्ञको भनाइ छ । दुर्लभ स्तनधारी यो जनावरको मौसमअनुसार बासस्थान तय हुने प्रमुख पौडेलले बताए । उनका अनुसार हिउँदयामको आठ महिना तिब्बती पठारमा  बर्खायाममा गर्मी सुरु हुँदा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेका छन् ।

तिब्बतको पठारमा बढी समय बिताउने जंगली गधा अप्रिल, मे र जुन महिनामा बासस्थान परिवर्तन गरी उपल्लो मुस्ताङका उच्चलेकमा प्रवेश गर्छन् । तिब्बत र मुस्ताङको सीमा क्षेत्रमा बस्ने जंगली गधाहरु बढी समय तिब्बती पठारमा बिताउँछन् । चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमाक्षेत्रको चरन क्षेत्रमा मौसमअनुसार जङ्गली गधाको सङ्ख्या देखिने गरेको छ ।

यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो । यसअघि सन् २००४ मा गरिएको जङ्गली गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा सङ्ख्या देखापरेका थिए । जलवायु परिवर्तनका कारण यस प्रकारका जङ्गली गधाहरु मौसमअनुसार तलमाथि गर्ने गर्छन् । यो याममा उपल्लो मुस्ताङका सीमावर्ती उच्चलेकमा हरियो घाँस पलाइसकेकाले जङ्गली गधाहरु आहारको खोजीमा नेपाल प्रवेश गरेका हुन् ।

जङ्गली गधाको शरीर खैरो/हरियो रातो र पेटतिरको भाग सेता रङ्ग हुन्छ । यसका खुट्टा लामोलामो हुन्छ र छिटो कुद्न सक्ने क्षमता राख्दछ ।

समूहमा बस्ने, छिटो छिटो कुद्ने र सतर्क रहने जङ्गली गधाको मुख्य विशेषता हो । जङ्गली गधाका लागि जलवायु सङ्कट र मानव गतिविधि मुख्य चुनौतीका रुपमा लिने गरिएको छ ।

रासस

Link copied successfully