बन्दीपुरमा भुजुङको घाटु नाच

शनिबार समापन गरिएको कार्यक्रमको अन्तिममा प्रस्तुत गरिएको भुजुङको घाटु नाचले पर्यटकको मन जितेको बन्दीपुर पर्यटन समितिका पूर्वअध्यक्ष बैंशबहादुर गुरुङले बताए ।

वैशाख १९, २०८३

आश गुरुङ

Bhujung's Ghatu dance in Bandipur

What you should know

बन्दीपुर, तनहुँ — लमजुङको पर्यटकीय गाउँ भुजुङकी १९ वर्षीया मुना गुरुङ र इन्द्राकाशी गुरुङ पोखरामा पढ्छन् । पाँच वर्ष गाउँमा घाटु नाचेर पोखरा झरेका उनीहरू यसपटक वैशाख पूर्णिमामा गाउँ फर्किएका हुन् ।

गाउँमा उनीहरूले सिकाएका नुकाशी गुरुङ, अंकिता गुरुङ र रिया गुरुङ घाटु नाचिरहेका छन् । घाटु नाच्ने समय बन्दीपुरमा नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाले गाउँ पर्यटन मार्टको आयोजना गर्‍यो । कार्यक्रममा निम्तो पाएको भुजुङ सामुदायिक होमस्टेका तर्फबाट शनिबार मुना र इन्द्रकाशीलाई लिएर घाटु गुरुहरू बन्दीपुर पुगे । घाटु गुरु बुद्धिरास गुरुङसहितको टोलीलाई लिएर पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङको नेतृत्वमा टोली बन्दीपुर पुगेको थियो । टोली एउटा जिप नै रिजर्भ गरेर करिब ४ घण्टाको बाटो बन्दीपुर पुगेको थियो ।

शुक्रबार गण्डकी प्रदेश उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उद्घाटन गरेर शनिबार समापन गरिएको कार्यक्रममा होमस्टे सञ्चालन गरिएका गाउँबाट पौराणिक सांस्कृतिक प्रस्तुतिका लागि आह्वान भएको थियो । कार्यक्रमको अन्तिममा प्रस्तुत गरिएको भुजुङको घाटुले पर्यटकको मन जितेको बन्दीपुर पर्यटन समितिका पूर्वअध्यक्ष बैंशबहादुर गुरुङले बताए ।

मुना र इन्द्राकाशीले लगातार घाटु नाच्न छोडेको चार वर्ष भयो । मुना पोखराको भद्रकाली र इन्द्रकाशी पृथ्वीनारायण क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययन गर्छिन् । ‘घाटु पूर्णिमामा गाउँ आएको थिएँ । घाटु नाच्न बन्दीपुर आउनु पर्‍यो ।  गाउँको संस्कृति देखाउन पाउँदा खुसी छौं,’ दुवैले एकै स्वरमा भने ।

उनीहरूलाई घाटु सिकाएका गुरु लिलकुमारी गुरुङका अनुसार बन्दीपुरमा भुजुङको घाटु उत्कृष्ट रह्यो । ‘अब तीन/चार वर्ष नै भयो ननाचेको । दुवै जनाले नबिगारीकन घाटु नाच्दा यसले हाम्रो इज्जत बच्यो,’ उनले भनिन् । लालीगुराँस युवा क्लब भुजुङका अध्यक्ष नौराज गुरुङका अनुसार भुजुङको सांस्कृतिक प्रस्तृति धेरै ठाउँमा अब्बल हुने गरेको छ । प्रतियोगितात्मक रूपमा समेत सफलता हासिल गर्दै आएको उनले बताए ।

बन्दीपुरमा भुजुङ सामुदायिक होमस्टेका तर्फबाट बाह्रमासे घाटु प्रस्तुत गरिएको थियो । गुरुङ पोसाकमा मुकुट लगाएर मध्ययुगीन राजा परशुराम र रानी ह्योमाउदी (यम्फावती) को प्रतीकका रूपमा नाचेका थिए । मादल र हार्मोनियमको तालमा शास्त्रीय रागको घाटु गाउँदा दुई जनाले कम्मर मर्काएर ज्यान घुमाएको दृश्यलाई बन्दीपुर आएका पर्यटकले मोबाइल र क्यामरामा कैद गरे । त्यतिमात्रै नभएर धेरैले घाटुनीसँग तस्बिर र भिडियो खिचे । घाटुनीले पनि बन्दीपुरमा घाटुनीको पोसाकमै तस्बिर र सेल्फी खिचे ।

घाटु खास गरी वैशाख पूर्णिमामा नाचिन्छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने पर्यटकीय गाउँ भुजुङमा वैशाख १८ गतेदेखि थालनी गरिएको घाटु नाच्ने सिलसिला भने वैशाख २१ गतेसम्म जारी रहनेछ । गाउँपालिका उपाध्यक्षसमेत रहेकी स्थानीय गमीमाया गुरुङले आइतबार (२० गते) राती कुसुन्डा (घाटुको एउटा प्रकार) नाचेर सोमबार साँझ घाटु सेलाइने बताइन् ।

मादल र गीतको तालमा शरीर र अंगलाई मन्द तरिकाले चलायमान गरी शरीर मर्काएर नाचिने कला घाटु नृत्य हो । ढिलो तरिकाले लयबद्ध गाइने पौराणिक लबज र भाकाको घाटु एउटा मौलिक गीतिकाव्य हो । घाटु गुरु बुद्धिरास गुरुङका अनुसार सुरुमा यस नृत्यका लागि रजश्वला नभएका कन्यालाई लिइन्छ । एक जनालाई मध्ययुगीन राजा परशुराम र रानी ह्योमाउदी (यम्फावती) को प्रतीकका रूपमा नचाइन्छ । रजस्वला नभएका, कपाल नकाटेका, चोटपटक वा खोट नभएका, सर्प, कुकुरलगायतले नटोकेका कन्यालाई घाटु नाचका लागि छनोट गरिन्छ । छनोट गरिएका कन्यामध्ये सबैभन्दा पहिले घाटु आउनेलाई राजा बनाइन्छ ।

श्रीपञ्चमीमा घाटुसरी (घाटुनी)लाई नुवाइधुवाइ, हातखुट्टाका नङ काट्न लगाएर चोखोनितो गरी घाटु नाच्न सुरु गरिन्छ । कतिपय ठाउँमा घाटुसरीको शिरमा धान भुटेर बनाइएको लाहाको मुकुट बनाइएको हुन्छ । मौलिक पोसाक गुन्युचोली लगाइन्छ । परशुराम राजा र यम्फावती रानीको विवाह, प्रेम, राज्यारोहण, सिकार खेलेको, युद्ध लडेको लगायतका विषयवस्तु समेटिएको हुन्छ । गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेवारी, माछा मार्ने, खेतीपातीलगायतबारे व्याख्यात्मक अभिनय गरिन्छ ।

बाह्रमासे र सती गरी घाटु दुई किमिमका भए पनि पछिल्लो समय कुसुण्डालाई पनि अर्को छुट्टै घाटुका रूपमा चिनिन्छ । बाह्रै महिना नाच्न मिल्नेलाई बाह्रमासे, माघ महिनाको श्रीपञ्चमीमा सुरु गरी वैशाख पूर्णिमामा अन्त्य गरिनेलाई सति र सति गएकी रानीलाई चिताले नपोलेपछि कुसुण्डा बनेर जंगल पसेको कथामा आधारित घाटुलाई कुसुण्डा भनिन्छ ।

घाटुका नरमाइला क्षण हटाउन रमाइलोका लागि प्रहसन गर्ने, जोक भन्ने र नाचगान गर्ने चलन गाउँ समाजमा छ । घाटुलाई केहीले १५ औं शताब्दी, केहीले १७ औं शताब्दीतिरको कथा भनेका छन् । गण्डक क्षेत्र, विशेष गरी पूर्वी लमजुङ, मर्स्याङ्दी र चेपे नदीको दोभान क्षेत्रबाट सुरु भएको मानिन्छ ।

घाटुको कथ्यमा भिन्नता पाइए पनि परशुराम राजा र यम्फावती रानीको जीवनगाथा यसमा छ । नेपाली जनजीवन प्रतिविम्बित घाटु हेर्न लमजुङको भुजुङमा प्रत्येक वर्ष वैशाख पूर्णिमा मेला लाग्ने वडाध्यक्ष नारायण गुरुङ बताउँछन् । उनका अनुसार पाहुनालाई दहिचालमको अक्षता लगाइदिएर घाटुगीतबाटै आशीर्वाद दिने चलन रहेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully