चाप बढ्दै गरेको लोकमार्ग अतिक्रमणले साँघुरिँदै

लोकमार्ग आयोजना कार्यालयले ठेक्का लगाएर निर्माण सम्पन्न भैसकेका दर्जन बढी स्थानमा सडकको छेउमा अतिक्रमण बढेको छ । काठेखोला–६ को ताराखसेमा स्थानीयले सडकमै जोडेर घर–टहरा बनाएर बसेका छन् । त्यस्तै गलकोट नगरपालिका वडा नं २ को नरेठाँटीमा पनि सडक र पुलमै जोडेर टहरा बनाइएको छ ।

वैशाख १६, २०८३

प्रकाश बराल

The increasingly crowded highway is becoming narrower due to encroachment.

What you should know

बागलुङ — कर्णाली प्रदेशका धेरै जिल्लाबाट राजधानी जाने सवारी साधन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड हुँदै गुड्छन् । सडकमा सवारी चाप बढिरहेको छ । तर निर्माण नसकिँदै राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा सडक अतिक्रमण गरेर घर–टहरा बनाउने होड पनि उत्तिकै छ ।

कतिपय स्थानमा घर–टहरा बनाइएको छ भने कतै अन्य संरचना बनाएर सडक साँघुरो पारिएको छ । काठेखोला गाउँपालिका वडा नं ६ को इनारपानीमा घडेरी बनाउन सडकको सेफ्टी वाल समेत भत्काइएको छ भने गलकोट, बडीगाड र निसीखोलातर्फका बजार क्षेत्रमा सडकको नालीमै ल्याएर घर–टहरा बनाउन थालिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतले कतिपय स्थानमा भएको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति र स्थानीय तहलाई पत्राचारसमेत गरेको छ । आयोजनाले सडक जोखिम बढेको, सामान्य मापदण्डको पनि ख्याल नगरिएकाले अतिक्रमण रोक्न निर्देशन पनि दिएको हो । तर स्थानीय तहले स्थानीय मापदण्डसमेत नबनाइदिँदा कतिपय काममा अप्ठ्यारो परेको आयोजनाका प्राविधिक बताउँछन् ।

निर्माण सम्पन्न भएको सडक खण्डमा पनि मापदण्ड मिचिने क्रम बढ्दो छ । पूर्व–पश्चिम सडक भएकाले जुनसुकै बेला थप चौडा पार्नुपर्ने सडक अहिले नै अतिक्रमणमा परेको हो । अतिक्रमण रोक्ने वा प्रतिवाद गर्ने कोही छैनन् । २०५४ मा ट्रयाक खुलेको ग्रामीण सडक चौडा पारेर २०६७ सालदेखि लोकमार्ग आयोजनाअन्तर्गत सूचीकृत भएको बागलुङ खण्ड अधिकांश स्थानमा साँघुरो छ । कतिपय स्थानमा अझै पनि ग्रामीण सडककै मापदण्ड परिवर्तन भएको छैन ।

लोकमार्ग आयोजना कार्यालयले ठेक्का लगाएर निर्माण सम्पन्न भैसकेका दर्जन बढी स्थानमा पनि सडकको छेउमा अतिक्रमण बढेको छ । काठेखोला–६ को ताराखसेमा स्थानीयले सडकमै जोडेर घर–टहरा बनाएर बसेका छन् । त्यस्तै गलकोट नगरपालिका वडा नं २ को नरेठाँटीमा पनि सडक र पुलमै जोडेर टहरा बनाइएको छ । ती टहरामा होटल र ग्यारेज सञ्चालनमा छन् । बडीगाड गाउँपालिका–७ को भीमगिठेमा त दोहोरो सवारी साधन चल्नै नसक्ने गरी दुवैतर्फ घरैघर बनेका छन् । स्थानीयले पिकअप जिप र ट्याक्सी सडकमै पार्किङ गरिदिँदा जोखिम झन् बढेको हो । 

साँघुरो सडककै कारण नियमितजसो सवारी साधन दुर्घटना भैरहेको स्थानीयले बताए । ‘गाउँपालिकाले नक्सापास गरेर घर बनाउने प्रावधान बनाएको छैन, त्यही मौका छोपेर नालीमा जोडेर घर–टहरा बनिरहेका छन्,’ निसीखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष रमेशबिक्रम शाहीले भने, ‘भोलि दुर्घटना हुन सक्छ भन्ने हेक्का नराख्दा यो भएको हो ।’ 

लोकमार्ग आयोजना कार्यालयकी प्रमुख अनुक्षा घिमिरेले सरकारले राजपत्र प्रकाशित नगरेकाले बागलुङ खण्डमा मापदण्डमा कडाइ गर्न नसकेको बताइन् । ‘स्थानीय तहले आफ्नो मापदण्ड मात्रै लागू गरिदिए पनि अतिक्रमण रोकिन्छ,’ उनले भनिन्, ‘राजमार्गको सेवा र सुविधा लिँदा जिम्मेवारी पनि बहन गर्न स्थानीयकै सक्रियता चाहिन्छ ।’ नेपाल सरकारले राष्ट्रिय राजमार्गको हकमा २५ मिटर दायाँबायाँ मापदण्ड छाड्नुपर्ने प्रावधान राखेको छ । लोकमार्गको भने पोखरा बागलुङ खण्डमा राजपत्र प्रकाशित गरिएको र बागलुङदेखि रुकुमको सिमाना पातीहाल्नेसम्मको राजपत्र नआएको घिमिरेले बताइन् । 

गलकोट नगरपालिका–११ को मनेवामा त दरमखोला जलविद्युत् आयोजनाले सडक छेवैमा पाइपलाइन बिच्छ्याएपछि सडक साँघुरो भएको छ । कतिपय स्थानमा भने स्थानीयले मापदण्डबारे थाहा नपाएको र मुआब्जा नपाएको कारण देखाएर संरचना बनाएको दाबी गर्छन् । निसीखोला गाउँपालिकाको जुग्जाखोला, झिवाखोला लगायतको बजार क्षेत्रमा पनि सडक अत्यधिक साँघुरो छ । दोहोरो ठूला सवारी आउँदा साइट दिन नपुग्ने अवस्था भैसकेको गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले बताए । सम्झाइ–बुझाइ गरेर सडक मापदण्ड छाडेर घर–टहरा बनाउन आग्रह गरे पनि कतिपयले अटेर गरेको उनले बताए । ‘नक्सापास गरेर मात्र घर बनाउन पहल गरे पनि जथाभावी भइरहेको छ,’ उनले भने, ‘राज्यले हस्तक्षेप नगरे ठूला दुर्घटनाको जोखिम भोग्नुपर्ने खतरा छ ।’

निर्माण सकिनै लागेको कालीगण्डकी करिडोरको रिडी मालढुंगा खण्डमा पनि सडक आसपासमा संरचना बन्दैछन् । करिडोर नदी किनारको भएकाले २५ मिटरको मापदण्ड कायम गर्दा धेरै जनताको सम्पत्तिमा क्षति पुग्ने भएकाले तत्कालका लागि १५ मिटरभन्दा बढीमा रोक लगाउन नसकिने इन्जिनियर शिवलाल दाहालले बताए । ‘अधिकांश खण्ड नदी किनार र भीरपहरा छ, त्यसैले १५ मिटर पर्याप्त छ,’ दाहालले भने, ‘ग्रामीण बस्तीले पनि राजमार्गको फाइदा लिन पाउने गरी काम गरौं ।’ कित्ताकाट गरेर स्थानीयले मुआब्जा नपाएकाले पनि जबरजस्ती गर्न नहुने उनले बताए ।

पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म पुग्ने १ हजार ७ सय किमि लामो मध्यपहाडी लोकमार्ग निर्माण सुरु भएदेखि नै मापदण्डअनुसारको बन्न नसकेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले बताए । ‘अन्य जिल्लामा कस्तो छ, थाहा भएन तर हाम्रोमा सुरुदेखि नै सडक साँघुरो बनाइयो, चाहिएका बेला चौडा पार्ने जमिन अतिक्रमणमा परेको छ,’ थापाले भने, ‘सडकको मापदण्ड मिच्नु कानुनबिपरीत हो ।’ सडक ऐन २०३१ को दफा १९ ले सडक मापदण्डमा स्वीकृति नलिइ सार्वजनिक सडक वा अन्य संरचना बनाउन नपाउने उल्लेख छ । लोकमार्गको मापदण्डलाई छाड्ने हो भने पनि सडक ऐन आकर्षित गराउन उनले सुझाव दिए ।

लोकमार्गमा दुई वर्षदेखि रुकुम, जाजरकोट, डोल्पा र रोल्पादेखि काठमाडौंका लागि रात्रि र दिवा बस तथा अन्य सवारी साधन नियमित चल्न थालेका छन् । बागलुङको पश्चिमतर्फका ७ वटा स्थानीय तहका बासिन्दा पनि यो सडकबाटै दैनिक सदरमुकाम आउने गर्छन् । लोकमार्गकै केही खण्डमा सडक भासिएको छ । तीन वर्षअघि खसेका ठूला पहिरो मर्मत नभएपछि झाँक्रीस्थान र काफल ठुटा भन्ने स्थानमा सडक जोखिमको बनेको छ । लोकमार्गले ती स्थानमा सडक कतै पनि बनाएको छैन ।

जिल्ला समन्वय समितिले आयोजना गर्ने जिल्ला सभाले लगातार तीन वर्षदेखि लोकमार्गको अतिक्रमणबारे निर्णय र राज्यको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । सडक छेवैमा जोडेर बनाइएका अन्य संरचना हटाउन र सडक ऐन कार्यान्वयन गर्न प्रशासनको समेत ध्यानाकर्षण गराउने गरेको छ । मापदण्ड मिचेर बनाउन लागिएको गलकोटको एक पेट्रोल पम्पलाई समितिले अनुगमन गरेर निर्देशन दिएपछि पछाडि सारेर बनाएको छ । उक्त पम्प संचालनमा पनि आइसकेको छ । अन्य संरचनाहरूबाट निर्देशनको पालना नभएको थापाले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully