लमजुङमा बजार अनुगमन : झिंगा भन्किएका र म्याद गुज्रिएका खाद्यान्न नष्ट

पसलमा झिंगा भन्किएका, सडेगलेका र म्याद गुज्रिएका खानेकुरा र खाद्य वस्तु फेला परेपछि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

वैशाख १५, २०८३

आश गुरुङ

Market monitoring in Lamjung: Foodstuffs labeled as shrimp and expired are destroyed

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा संयुक्त अनुगमन टोलीले साना होटल तथा रेष्टुरेन्ट, किराना र फलफूल पसल अनुगमन गरेको छ ।

पसलमा झिंगा भन्किएका, सडेगलेका र म्याद गुज्रिएका खानेकुरा र खाद्य वस्तु फेला परेपछि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली तनहुँका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यलगायत थिए ।  

दुई समूहमा विभाजित टोलीले साना होटल तथा रेष्टुरेन्ट, किराना र फलफूल पसल गरी १४ वटा पसल अनुगमन गरेकोमा केही मिठाई पसल र रेष्टुरेन्टमा झिंगा भन्किएका, बासी र सडेगलेको खानेकुरा र केही पसलमा म्याद गुज्रिएका, अखाद्य वस्तु भेटिएको खाद्य अनुसन्धान अधिकृत आचार्यले बताए । ‘रेष्टुरेन्ट पनि मिठाइ पसलमा बढी समस्या देखियो । कतिपय पसलमा झिंगा भन्किएका, ढुसी पलाएका, नछोपी राखेको, पत्रिकामा राखिएको खानेकुराहरु भेटियो । फोहर पनि उस्तै देखियो,’ उनले भने ।

एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाका अनुसार पसलहरुबाट म्याद गुज्रिएका, उत्पादन मिति नराखिएका, सडेगलेका खाद्यावस्तु बरामद गरिएको छ । ५ वटा पसलबाट १३ हजार ३ सय ६० रुपैयाँ बराबरको खाद्यवस्तु नष्ट गरिएको उनले बताए । यस्तै, सरकारको निर्णयबमोजिम करिब ५ दर्जन बेकरी सर्टेनिङलाई बिक्री कक्षबाट हटाइएको अनुगमन टोलीले जनाएको छ ।

Market monitoring in Lamjung: Foodstuffs labeled as shrimp and expired are destroyed

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully