ढोरपाटन–बुकी पदमार्ग निर्माण अन्योलमा

ढोरपाटनदेखि बुकीपाटनसम्मको पर्यटकीय पदमार्ग बनाउन सहमति नजुट्दा बजेट फ्रिज हुने खतरा देखिएको छ भने पर्यटक र किसानले वर्षातमा सास्ती खेपिरहेका छन्।

वैशाख १४, २०८३

प्रकाश बराल

Construction of Dhorpatan-Buki trekking route in doubt

What you should know

बागलुङ — अघिल्लो आर्थिक वर्षदेखि ढोरपाटनमा आउने पर्यटकको संख्या बढेको छ । आएका पर्यटक उपत्यकामा मात्र नघुमी बुकी, टिकाधारासम्म पुग्ने गर्छन् । साहसिक पर्यटनको रुपमा कतिपयले फागुने धुरीसम्म जान चाहन्छन् । 

तर त्यहाँ जान बाटो अप्ठ्यारो छ । ढोरपाटन सिकार आरक्षले पर्यटकसँग सामान्य प्रवेश शुल्क लिएर आरक्षमा जाने अनुमति दिन्छ । तर गएका पर्यटक ढोरपाटनको उपत्यका मात्रै घुमेर फर्कन्छन् । पदमार्गको अभावमा कमै पर्यटक मात्र बुकी र टिकाधारासम्म पुग्ने गरेका छन् । चिप्लो, अप्ठ्यारो सडकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था भएको बुकीपाटन पुगेर फर्केका पर्यटकको गुनासो छ । 

बुकीकालागि जेठदेखि भदौसम्मको समय उपयुक्त हुन्छ । बर्षातका कारण यो समय बाटाघाटा चिप्ला बनेका हुन्छन् । त्यसैले जिल्लास्थित एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षमा ‘ढोरपाटन–बुकीपाटन–फागुने हुँदै सुर्तिवाङ’ पर्यटकीय पदमार्गको योजना राखेको छ । चालु वर्ष सिंढी निर्माणकालागि राखेको १५ लाख रुपैयाँको योजना अझैसम्म सम्झौता भएको छैन । 

सम्झौताकालागि पटक पटक कार्यालयले पत्राचार र भेटेर पनि कुरा गरेकोमा आरक्ष कार्यालयले सहमति नदिएपछि सम्झौता नभएको हो । आरक्षले वन मन्त्रालयको सहमति चाहिने भन्दै सम्झौता गर्न रोकेको छ । 
प्रदेश मन्त्रालय अर्न्तगतको यो कार्यालयले संघीय वन मन्त्रालयमा सिधैं पहुँच राख्दैन । ‘१५ लाख रुपैयाँमा सिंढीमार्ग बनाउने हो, हामीले वातावरण बिगार्ने पनि होइन, आरक्षले अनुमति दिए पुग्छ,’ कार्यालयका शाखा अधिकृत नारायण रिजालले भने, ‘उपभोक्तालाई समितिमा बस्न नदिने, छलफल गर्ने वातावरण नबनाउने गर्दा बजेट फ्रिज हुने खतरा भयो ।’ बर्षातमा उक्त खण्डमा यात्रा गर्ने पर्यटकले बाटो नभएको गुनासो गरेपछि कार्यालयले बजेट राखेको थियो । 

गत आर्थिक वर्ष २०८१/०८२ तत्कालीन पर्यटन मन्त्रालयले उद्योग तथा पर्यटन कार्यालय मार्फत ढोरपाटनदेखि बुकीपाटन जाने पदमार्ग निर्माण गर्न २० लाख रकम बिनियोजन गरेको थियो । उक्त बजेटको काम गर्न पर्यटन कार्यालयलाई सास्ती पर्‍यो । कर्मचारी र उपभोक्ताले २० लाखको योजना सम्पन्न गर्न दर्जन विभाग र मन्त्रालय धाउन बाध्य भए ।

सिकार आरक्षभित्र संरचना बनाउन लागिएको भन्दै उद्योग तथा पर्यटन कार्यालय बागलुङ, पर्यटन मन्त्रालय पोखरा र ढोरपाटन सिकार आरक्षको ९ महिना लामो रस्काकस्सी चल्यो । वर्षको अन्तिममा आएर आरक्षको प्रत्यक्ष निगरानीमा डेढ मिटर चौडा मात्र पदमार्ग बनाउन कार्यालयले अनुमति पायो । 

ढोरपाटन सिकार आरक्ष, पर्यटन मन्त्रालय, वन मन्त्रालय, मुख्यमन्त्री कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मन्त्रिपरिषदको कार्यालय समेत धाएर उक्त काम भएको थियो । गत आर्थिक वर्षमा कामै भएन । यो पटक भने फेरि स्थानीय र पर्यटकको मागले यो बजेट बिनियोजन भएको रिजाल बताउँछन् । अहिले पनि योजना सम्झौतामा कठिन भैरहेको हो ।

अघिल्लो वर्षको बजेटले ५ सय मिटर सिंढी बनाइएको छ । बिश्रामस्थल र ओत लाग्ने ठाउँ बनिसकेकोले चक्रीय पदमार्ग निर्माण गर्दा पर्यटक बस्ने दिन लम्बिने र त्यसले आरक्षको आय पनि बढ्ने कार्यालय प्रमुख शिव शर्माले बताए ।

ढोरपाटनमा पछिल्लो समय होमस्टेहरु बढेका छन् । पोखरा, चितवन, काठमाडौंबाट पर्यटकहरु ढोरपाटन पुग्दा होटल र होमस्टेको व्यवसाय पनि फस्टाएको होटल संचालकहरुले बताए । सामाजिक सञ्जालमार्फत धेरैले ढोरपाटन र बुकीको प्रचार समेत गरेका छन् । ढोरपाटन सिकार आरक्ष कार्यालय रहेको पाटनसम्म गाडी चढेर पर्यटक पुग्छन् । 

ढोरपाटन हुँदै बुकी जाने लेकाली गोरेटा मात्रै छन् । गार्पाछेडा, चेप्टा ढुंगा, साँघुरे गौंडा, अन्तरेथरी, ठाडो खोला, ढुंगे देउराली जस्ता स्थानमा पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ । जलजला, सुर्तीवाङ, टिकाधारा र जाल्पा तालले पर्यटक आर्कषण बढाएको छ । ती स्थानमा पर्यटक सहजै लैजाने पदमार्ग निर्माण भएमा वर्षमा ५० हजारदेखि एक लाख पर्यटक भित्र्याउन सकिने ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमहादुर घर्तीले बताए । तर सोही स्थानको सिंढी मार्ग बन्न नसक्दा फेरि बर्षातमा पर्यटकले सास्ती खेप्ने अवस्था रहेको उनले बताए ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले भने आरक्षभित्र संरचना बनाउने अनुमति वन मन्त्रालयले मात्रै दिन सक्ने बताए । ‘उहाँहरु आउनु भएको थियो, तर वन मन्त्रालयको अनुमति लिएर आउनुहोला भनेर पठाएका हौं,’ सुवेदीले भने, ‘मन्त्रालयको कागजात आयो भने हामी रोक्दैनौं ।’ स्थानीय वातावरण संरक्षण गर्न भने आरक्षले सहजीकरण गर्ने उनले बताए । आरक्षभित्र ढुंगामाटो उत्खनन् गर्न अनुमति लिनुपर्ने प्रावधान रहेको उनले बताए ।

ढोरपाटनको पर्यावरण जोगाउन स्थानीय ढुंगाको पदमार्ग र काठको बिश्रामस्थल बनाएको शर्माले बताए । खोलाखोल्सीमा बनाएका पुल समेत काठको प्रयोग भएको इन्जिनियर सुजन दरैले दाबी गरे । ढोरपाटन र बुकी क्षेत्रमा गोरेटा र पदमार्ग अभावले स्थानीय भेडापालक किसान पनि समस्यामा छन् । स्थानीय किसान गोविन्द अदैले गोरेटो अप्ठ्यारो हुँदा भेडा चराउन जान पनि समस्या परेको बताए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully