स्थानीयको सक्रियता बढ्दा सडक र सरसफाइले फेरियो बस्ती

घर–घरमा फोहोर संकलन गर्ने बाल्टी राखेर सडक र गाउँ पनि सफा बनाइएको छ । नगरपालिकाले यो वडाको पुरानो स्वस्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरेपछि सुनसान बजार गुल्जार बनेको छ ।

वैशाख ११, २०८३

प्रकाश बराल

As locals become more active, the settlement is transformed with roads and sanitation.

बागलुङ — स्थानीयको सक्रियताले गाउँमा सरसफाइ र सडक पुग्दा पुरानो सास्ती हट्न थालेको छ । गलकोट नगरपालिका ५ को हरिचौर बजार पुग्दा यो दृश्य देखिन्छ । यहाँ पुग्ने गोरेटा चिप्ला र अप्ठ्यारा थिए । रित्तिएका घर जीर्ण बन्दै थिए । सडकमा खाल्डैखाल्डा थिए । चौबिसे राज्यको ‘गलकोट दरबार’पनि जीर्ण बन्दै थियो । 

अहिले ऐतिहासिक दरबार संरक्षण गरेर रंगरोगन लगाइएको छ । यो दरबारलाई पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न योजना पनि लक्षित छन् । वडाले हरिचौर गाउँलाई पूर्ण सरसफाइ, शुद्ध खानेपानी पुगेको र चिटिक्क बनाउने अभियान थालेको छोटो समयमै पुरानो समस्या हटेको छ ।

अहिले त यो बजारका अप्ठ्यारा सडक ढलान गरिएको छ । बजार पस्ने खहरे खोलामा स्थानीय र वडाको साझेदारीमा २५ लाख खर्चेर पक्की पुल बनाइएको छ । सडक पेटीमा पहेलो रंग लगाएर पैदलयात्री र सवारी हिँड्ने सिमाना कोरिएको छ । सवारी साधन नचल्ने स्थानमा पक्की पदमार्ग बनेका छन् । घर–घरमा फोहोर संकलन गर्ने बाल्टी राखेर सडक र गाउँ पनि सफा बनाइएको छ । नगरपालिकाले यो वडाको पुरानो स्वस्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरेपछि सुनसान बजार गुल्जार बनेको छ ।

दैनिक १ सय ५० बढी बिरामी त यहाँ उपचारका लागि आउने गरेका छन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकोले छिमेकी पालिका र जिल्लाका बिरामीले पनि यहाँ आएर उपचार सेवा लिन थालेपछि गुमनाम भएको बजारमा व्यवसाय पनि बढ्न थालेको स्थानीय योगेश भण्डारीले बताए । रित्तिएका घरमा ताराखोला, भुजुङे लगायतका गाउँबाट बसाई सरेर बस्न थालेका छन् । 

उनीहरुले बिग्रेका झ्याल ढोका सजाएर चिटिक्क बनाइ बसेका छन् । नगरपालिकाले पुराना बजारको सफाइ गर्दै जीर्ण सडकहरु स्तरीय बनाउन वडा र नगरस्तरमा बजेट बिनियोजन गर्न थालेपछि यो परिवर्तन आएको हो । हरिचौरकै खहरे खोला साना सिँचाइ आयोजना बनाइएकोले खोलाको बाढी पहिरो पनि नियन्त्रणमा आएको छ । खहरेमा वडाकै बजेटमा दुइवटा पक्की पुल बनेपछि बर्षातको सास्ती पनि हटेको छ । हरिचौर बजारदेखि कौलेनी हुँदै टेउवा जाने सडक पक्की बन्दै छ । 

यो सडक पक्की बन्दा टेउवामा रहेको मूर्तिकला परियोजनामा पनि पर्यटक पुग्न थालेका छन् । २०७६ मा यहाँ नेपाल सहित १० देशका मूर्तिकारले बनाएका मुर्तिहरु स्थापना गरिएको छ । टेउवा हुँदै ११ हजार फिटको अग्लो पहाड (घुम्टे)जाने पदमार्ग पनि बनाइएको छ । घुम्टेमा हरेक नयाँ वर्ष र बैसाख पूर्णिमाको दिन मेला लाग्छ । अन्य समयमा पनि घुम्टे चढ्नेहरु धेरै हुन्छन् । अध्यक्ष पवन हमालले वडामा आएको बजेटलाई सही रुपमा सदुपयोग गरेर काम सक्दा हरिचौर बजार र वडा नै चिटिक्क देखिएको बताए ।

As locals become more active, the settlement is transformed with roads and sanitation.

‘हामीले भएको बजेटमा स्थानीयको श्रमदान पनि जोडेर पूर्वाधार बनाएका हौं,’ उनले भने, ‘स्टिमेट अनुसारको लगानी र कामभयो भने सबै योजना सफल बन्छन् ।’ वडाध्यक्ष हमाल आँफै ढुंगा बोक्ने, सिमेन्ट घोल्ने र सडक बनाउने लगायतको काममा समेत खटिन्छन् । लागत साझेदारीलाई वडाले पूर्ण रुपमा पालना गर्दा गरेका काम गुणस्तरीय बन्दै गएको प्रमुख प्रशासकीय अधिकृत डम्बर जिसीले बताए । 

म्ध्यपहाडी लोकमार्ग देखि ५ किमीको यात्रा गरेपछि वडाको सबै स्थानमा पुगिने भएकोले यहाँ विकासका योजना बनाउन पनि सहज भएको स्थानीय तुलसी निउरेले बताए । हटियादेखि ताराखोला जाने सडक पनि हरिचौर बजार भएर गएकोले मुख्य सडक प्रदेश सरकारको बजेटबाट कालोपत्रे गरिएको छ । बजारका भित्रि सडकहरु वडा र नगरको बजेट परिचालन गरिएको हो । 

‘अस्पताल बनेपछि स्थानीयले पनि श्रमदान गरेर विकासमा साथ दिएका छन्,’ हमालले भने, ‘सरसफाइमा पनि अब्बल वडा बनाउने लक्ष्य छ ।’ एक घर एक धारा अभियानमा पनि यो वडाका अधिकांश घरमा शुद्ध खानेपानी पुगिसकेको उनले बताए । टेउवामा पानीको मुहान र बस्तीको उचाइ नमिल्दा केही घरमा भने लिफ्टको माध्यमबाट वितरणको तयारी गरेको हमालले बताए । हाल यहाँ ट्यांकी निर्माण भैसकेको र सामूहिक धारा बनिसकेका छन् । श्रद्दाखेत र टेउवामा केही घरमामात्रै धारा बनेपछि खानेपानीको सास्ती समेत हट्ने उनले बताए ।

वडाकै अगुवाइमा खेल मैदान, नगरस्तरीय बालमैत्रीपार्क पनि बनेको छ । विदेशमा बस्नेहरुले अस्पतालमा एम्बुलेन्स सहित अन्य पूर्वाधार निर्माणमा पनि साथ दिएका छन् । जापानमा बस्ने स्थानीयकै सहयोगमा आँखा उपचार केन्द्रसमेत बनाएका छन् । चालु आर्थिक वर्ष गलकोट नगरपालिकाले पूर्वाधारतर्फ ८ करोड २८ लाख बजेट विनियोजन गरेको छ । वडा तहका पूर्वाधारतर्फ भने साना योजनामा एकलाख देखि ३ लाख रुपैयाँको दरले विनियोजन गरिएको हमालले बताए ।

पुराना बजारमध्ये वडा नं २ को नरेठाँटी, वडा नं ३ को हटिया बजार, वडा नं ४ को खरुवा, वडा नं ८ को काँडेवास र वडा नं ९ को बाँस्खोला बजार पनि सरसफाइ गरेर चिटिक्क बनाइएको छ । सबै पुराना बजारमा सडक कालोपत्रे गरिएको छ भने सरसफाइ गर्दा घुम्न लायक बनेको वडा नं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताए । वडा कार्यालय रहेको स्थान सम्म कालोपत्रे सडकले जोड्ने नगरको नीति समेत छ । तीमध्ये वडा नं १० को पाण्डवखानी र वडा नं ११ को रिघामा भने कालोपत्रे सडक जोड्न बाँकी छ । ती वडाको दूरी टाढा भएकोले रणनीतिक सडक मार्फत काम भैरहेको छ । सरकारी भुक्तानीमा समस्या भएपछि निर्माणाधिन सडकहरु पुरा भएका छैनन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully