तोकिएको काम सकेपछि क्रसर बन्द गर्नुपर्ने प्रावधान छ । तर यहाँ बिडारी कन्स्ट्रक्सनले संचालन गरेको क्रसर उद्योगबाट तोकेको काममा भन्दा अन्यत्र सामग्री बेचेको आरोप लागेको छ ।
What you should know
बागलुङ — यहाँका सडक आयोजनाहरू तोकेको समयमा बिरलै बनेका छन् । ठेकेदारले कहिले बजेट अभाव, कहिले प्रतिकूल मौसम, कहिले महंगी त कहिले महामारी देखाएर पटक–पटक म्याद थपेर काम रोकेका छन् ।
तर कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डको १० किमि सडक भने क्रसर संचालन गर्न अलपत्र छाडिएको छ । यो सडक कालोपत्र गरिसकेपछि कालीगण्डकी नदी किनारको कालाखोलामा रहेको क्रसर बन्द गर्नुपर्ने बाध्यताले ठेकेदारले काम रोकेका हुन् ।
तोकिएको काम सकेपछि क्रसर बन्द गर्नुपर्ने प्रावधान छ । तर यहाँ बिडारी कन्स्ट्रक्सनले संचालन गरेको क्रसर उद्योगबाट तोकेको काममा भन्दा अन्यत्र सामग्री बेचेको आरोप लागेको छ । ठेकेदारका अन्य साइटमा यहाँको सामान पठाउन सडक अलपत्र छाडेको स्थानीयले बताए । करिडोरको रिडीदेखि बलेवासम्मको सडक भने गत वर्ष नै कालिका कन्स्ट्रक्सनले कालोपत्र गरिसकेको छ ।
गत वर्ष नै सकिनुपर्ने यो खण्ड अलपत्र पर्दा यात्रीले सास्ती खेपेका छन् । छोटो दूरीमा बुटवल जान चाहने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङबासी तथा तराईबाट मुक्तिनाथ आउन चाहनेले लामो सडक यात्रा गर्न बाध्य भएका छन् । करिडोरले बुटवलदेखि झण्डै १ सय किमि सडक छोटो बनाएको छ ।
बागलुङ नगरपालिका वडा नं १ को मालढुंगादेखि बलेवासम्मको खण्डमा सडक बनाउने जिम्मा लिएको बिडारी कन्स्ट्रक्सनले सडकमा आएको सामग्री अन्यत्र बेच्नका लागि पहिरो नपन्छाएको, कालोपत्र गर्ने समय लम्ब्याएर सामग्री मात्रै उत्खनन गरिरहेको स्थानीयले आरोप लगाए ।
बागलुङ नगरपालिका वडा नं १३ को कालखोलामा गत वर्ष खसेको पहिरो पन्छाउनुको साटो ठेकेदार कम्पनीले त्यहींको सामग्री क्रसरमा कुटेर अन्य आयोजनामा लैजाने गरेको जैमिनी नगरपालिका–७ का थानेश्वर सुवेदीले बताए । ‘ठेकेदारका अन्य साइटमा यहाँको सामान उठाएर लैजाने गर्दा यो सडक बन्न सकेको छैन,’ सुवेदीले भने, ‘अन्य सडक सरर चल्ने भैसक्दा एक–दुई ठाउँको अप्ठ्यारोको नाउँमा सडक अलपत्र भैरहेको छ ।’ पहिरो नजिकको कच्ची सडक स्तरोन्नति नभएपछि माइक्रोबस, ट्याक्सी लगायतका साना सवारी साधनमा यात्रा गर्न खोज्नेले करिडोरको यात्रामा निस्कन पाएका छैनन् ।
ठूला सवारीले पनि जोखिम मोलेर यात्रा गरिरहेका छन् । पछिल्लो समय बुटवलदेखि छोटो दूरी पर्ने भन्दै बागलुङ, म्याग्दी र मुस्ताङ हिँडेका यात्रुवाहक सवारी साधनसमेत कालाखोलाको पहिरोमा आएर घण्टौं जाममा पर्ने गरेका छन् । खाद्य सामग्री बोकेका ट्रक पनि यहाँ आएर रोकिने गरेको गुनासो छ ।
बिडारी कन्स्ट्रक्सनका इन्जिनियर दिनबन्धु काफ्लेले पहिरो पन्छाउन ढिला भएर सडकको काम रोकिएको बताए । ‘हामीले जानाजान बाटो ढिला गरेको होइन, गत वर्षको पहिरोले काम ढिला भएको हो,’ काफ्लेले भने, ‘असार मसान्तभित्र यो सडक कालोपत्र गरिसक्ने छौं ।’ सोही सडक खण्डको झण्डै ६० किमि भने गत वर्ष समयअघि नै कालिका कन्स्ट्रक्सनले कालोपत्र गरेर हस्तान्तरण गरिसकेको छ । ‘अधिकांश स्थानमा सबबेस राखिसकिएको छ, अब बेस राखेर कालोपत्र गर्ने मात्रै हो,’ काफ्लेले भने, ‘स्ट्रक्चरको काम दुईवटा पहिरोमा मात्रै बाँकी छ ।’ उनका अनुसार बिटुमिनसमेत ल्याइसकेकाले अब छिट्टै कालोपत्र हुनेछ ।
यो सडक ९९ करोड रुपैयाँमा ठेक्का लागेको हो । कम्पनीले लिएका अन्य ठेक्काका काममा पनि यहाँको क्रसरबाट सामग्री ओसारेको छ । ‘यहाँको सामग्री अन्यत्र लगेर बिक्री गरेका छैनौं,’ काफ्लेले भने, ‘आफ्नै आयोजनामा भने उपयोग गरिरहेका छौं ।’ सडकमा खसेको पहिरो, जोखिम क्षेत्रमा ढलानसमेत गर्नुपर्ने र कल्भर्ट निर्माणका कारण बेलाबेला डाइभर्सन बनाउनुपर्ने जस्ता कारणले यो सडक खण्डको निर्माणमा ढिला भएको उनले बताए ।
यो सडक खण्डमा हाल तीनवटा कल्भर्टसमेत निर्माणाधीन छन् । ती कल्भर्ट निर्माणपछि पहरो र ओसिलो क्षेत्रमा ढलान गर्ने र अन्य स्थानमा कालोपत्र गरिसक्ने लक्ष्य रहेको उनले सुनाए । मूल्यवृद्धि र कामदारको समस्याले भने केही ढिला भएको उनले स्विकारे । करिडोरका इन्जिनियर शिवलाल दाहालले बजेटको भुक्तानी लगायतका समस्याले भने काम नरोकिने बताए । आयोजनाले पनि उक्त खण्डको काम छिटो सक्न ताकेता गरिरहेको दाहालले जानकारी दिए ।
करिडोरको यही खण्डमा एक्लेसालको पहिरोले वर्षातमा सडक अवरुद्ध थियो । अहिले पनि यहाँ काम निर्माणाधीन छ । यो सडक बेलाबेला अवरुद्ध भएर बागलुङकै बलेवा, जैमिनी र बरेङ क्षेत्रमा जाने यात्रीले पनि समस्या भोग्ने गरेका छन् । त्यसबाहेक गुल्मी, पाल्पासम्म यात्रा गर्नेहरूले पनि सडक स्तरीय नबन्दा दुःख पाएको बताए ।
यो सडक खण्ड कालोपत्र भैसकेपछि बागलुङदेखि रिडी हुँदै पाल्पा पुग्न बढीमा चार घण्टा लाग्नेछ । बुटवल जानेहरूले पछिल्लो समय यो सडक उपयोग गर्न थालेका छन् । त्यसबाहेक गण्डकी प्रदेश सरकारले एक्लेसालको पहिरो नियन्त्रणमा छुट्टै बजेट राखेर काम गरिरहेको छ । यो पहिरोले दक्षिण बागलुङ जाने सहायक सडकमा पनि अवरोध पुर्याएको छ ।
