चालु वर्षको साढे ९ महिनामा ८६ वटा योजना सम्झौता गरेर अगाडि बढेको एकीकृत सेवा कार्यालयका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिए ।
What you should know
बागलुङ — पर्यटकीय क्षेत्रमा जाने बाटो सहज बनाउन चालू वर्षमा बागलुङमा ९४ वटा पदमार्ग पूरा गरिने भएको छ । एकीकृत सेवा कार्यालयले जिल्लाका पर्यटकीय सम्भावना भएका स्थानमा ती पदमार्गको काम सुरु गरेको हो ।
चालु वर्षको साढे ९ महिनामा ८६ वटा योजना सम्झौता गरेर अगाडि बढेको कार्यालयका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिए । ८ योजना भने अझै सम्झौता भएका छैनन् । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले ती योजना बनेका थिए । यसरी सम्झौता भएका अधिकांश योजना स्थानीय स्रोतसाधनबाट निर्माण हुनेछन् ।
संचालिन योजनामा २१ योजना सम्पन्न भइसकेका छन् । तीमध्ये १० लाख लागतको बालप्रभा आधारभूत विद्यालयदेखि जलजला जाने बागलुङ नगरपालिका–१३ को योजना सम्पन्न भइसकेको हो । त्यस्तै गलकोट नगरपालिका–५ को सिमलबोट होमस्टे जाने पदमार्ग पनि पूरा भएको छ । बनेका सबै योजनामा ढुंगाका सिंढी लगाएर पदमार्ग बनाइएको छ भने विश्राम स्थलहरू पनि काठ र ढुंगाबाट परम्परागत रूपमा बनेका छन् । यो अभियानमा अधिकांश ५ लाखदेखि १० लाखका योजना छन् ।
विशेषगरी मौलिक कला र श्रम प्रयोग गरेर पदमार्ग निर्माण गर्दा पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वासले यस्ता योजना संचालन गरिएको कार्यालयका प्रमुख शिव शर्माले बताए । उनका अनुसार स्थानीयले मौलिक सामग्री प्रयोग गर्दा होमस्टे, धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत पहिचान र प्रवर्द्धन हुने भएकाले सोही प्रकृतिका योजना समावेश गरेको उनले जानकारी दिए ।
समुदाय सक्रिय भएका अधिकांश स्थानमा साझेदारीमा काम भएका छन् । १० लाखको योजना बनाउन स्थानीय सक्रिय बन्दा १५ लाखसम्मको काम भएको हो ।
समुदाय परिचालन गर्न नसकिने केही स्थानमा भने ढलान वा सिमेन्ट प्रयोग भएका पदमार्ग पनि बनेका छन् । ती मार्गलाई पनि सकेसम्म मौलिक बनाउने प्रयास भएको शर्माले जानकारी दिए । वैशाख १० गतेसम्मको तथ्यांक अनुसार ९४ वटा पदमार्ग योजनाको छनोट भएकामा ८ वटा योजनाको सम्झौता हुन बाँकी छ । ती योजनामा आन्तरिक विवाद देखिएकाले योजना सम्झौता नभएको हो ।
ढोरपाटन उपत्यकामा निर्माण गर्न लागिएको एक योजना भने स्थानीय उपभोक्ता समिति गठनमा ढिलाइ भएकाले सम्झौता हुन नसकेको हो । त्यसबाहेक काठेखोला गाउँपालिका–६ को किम्बोटदेखि वडा नं ४ तंग्राम जोड्ने ७ लाखको योजना स्थानीयको विवादले अहिलेसम्म सम्झौता भएको छैन । त्यस्तै बागलुङ नगरपालिका–५ मा बन्ने बीपी स्मृति पार्क, काठेखोला गाउँपालिका–३ को सम्सास घाट थामकिलाडाँडा पदमार्ग पनि अझै सम्झौता हुन नसकेको हो । सम्झौता नभएका योजनाका उपभोक्ता अहिलेसम्म कार्यालयमा सम्पर्क गर्न पनि आएका छैनन् । उक्त कार्यालयले अघिल्लो वर्ष ५२ वटा पदमार्ग बनाएको थियो । ती पदमार्गले ग्रामीण क्षेत्रका होमस्टे जाने सडक सहज भएको, मोटर बाटो बनाउनुपर्ने खर्च जोगिएको, बाढी पहिरो नियन्त्रणमा सहजीकरण भएको स्थानीयले बताए । पदमार्गले ग्रामीण परिवेश आकर्षक भएको गलकोट नगरपालिका–५ का वडाध्यक्ष पवन हमालले बताए । यहाँ अघिल्लो वर्षदेखि चालु वर्षसम्म आधा दर्जन आकर्षक पदमार्ग बनेका छन् ।
