बनिनसक्दै ‘जीर्ण’ बने पुल संरचना

आठ वर्षअघि काम थालेर अलपत्र परेको ३ करोड ३४ लाख लागतको भुजीखोला पुलमा उठाएका फलामे पिलरमा खिया लागिसकेको छ । अझै कहिले बन्छ– यकिन छैन ।

वैशाख ७, २०८३

प्रकाश बराल

Bridge structure becomes 'dilapidated' after being completed

What you should know

बागलुङ — वर्षात लाग्ने बेला भैसक्यो, हरेक वर्ष यहाँका स्थानीयलाई खोलामा अलपत्र पुलले सताउने गरेको छ । आठ वर्षअघि नै संचालनमा आएर नागरिकले सेवा पाउनुपर्ने पुलहरू अलपत्र परेपछि स्थानीयले गुनासो गर्न थालेका हुन् ।

बागलुङको गलकोट नगरपालिका वडा नं ८ र ९ जोड्ने दरमखोला र ढोरपाटन नगरपालिकाको वडा नं ५ को भुजीखोला पुल बनिनसक्दै जीर्ण हुन थालेका छन् । आठ वर्षअघि काम थालेर अलपत्र परेको ३ करोड ३४ लाख लागतको भुजीखोला पुलमा उठाएका फलामे पिलरमा खिया लागिसकेको छ । अझै कहिले बन्छ– यकिन छैन । यहाँ झण्डै २ करोड खर्च भैसकेको छ । नियमित बनेको भए २०७४ को माघमा बनिसक्नुपर्ने यो पुलका दुईवटा पिलर मात्र ठडिएका छन् । अब कहिले बन्छ भन्ने यकिन छैन । 

ढोरपाटन नगरपालिका वडा नं ५ को भुजीखोलाको पुलको पनि उस्तै हविगत छ । २०७७ मा बोबाङमा आएको बाढीपछि यो पुलको पश्चिमतर्फको पिलर नजिकैको जमिन खोलिएको छ । जसको कारण थप अर्को पिलर चाहिने अवस्था बनेको छ । त्यसका लागि डिजाइन पनि फेर्नुपर्ने अवस्था छ । सडक डिभिजन कार्यालयले नयाँ ठेक्का, डिजाइन परिवर्तन लगायतको काम गरेर विभागमा पठाए पनि बजेट अभावले काम थाल्न नसकेको बताउने गरेको छ ।

वाईपी रफिना संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको यो पुल २०७३ असोज ४ गतेको ठेक्का सम्झौता अनुसार काम गरेको भए २०७४ को माघ ४ गते सकिनुपर्ने थियो । लामो समय अलपत्र पारेर अन्तिम पटक २०७७ मंसिर १४ मा थपिएको म्यादमा पनि कुनै प्रगति नभएपछि कार्यालयले तीन वर्षअघि यो पुलको ठेक्का रद्द गरेको थियो ।

ठेक्का रद्द भए पनि स्थानीयले भने हरेक वर्ष यात्रामा सास्ती खेपेका छन् । वर्षातमा जोखिम भएकाले बुढाथर पुगेर घुमाउरो बाटो हिँड्न बाध्य छन् । ‘न पुल बन्यो, न यहाँ फड्के हाल्ने ठाउँ रह्यो,’ स्थानीय शिक्षक चूडामणी पौडेलले भने, ‘विद्यालय  आउजाउ गर्न सधैंको सास्ती खेपेका छौं ।’ यहाँको भुजी माविका विद्यार्थीले नजिकको बाटो हिँड्न नपाएर हिउँद र वर्षातमा सास्ती खेपेका छन् । स्थानीयले सामान ढुवानी गर्न पाएका छैनन् ।

सडक डिभिजनका प्राविधिकले आफ्नो तर्फको काम सकेर मन्त्रालयमा फाइल पठाएको पनि तीन वर्ष भैसकेको छ । पछिल्लो समय खोलाको बहाव फेरिइरहेकाले इन्जिनियरहरू नियमित पुगेर फेरिएको संरचनाबारे नक्सांकन गर्ने र आवश्यक रकमसहितको प्रतिवेदन लेख्ने काम गरिरहेका छन् । तर आर्थिक संकट भन्दै अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा ठेक्का लगाउन नसकेको डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले बताए ।

गलकोट नगरपालिका वडा नं ८ देखि ९ जोड्ने दरमखोला पक्की पुल ८ वर्षदेखि नै अलपत्र परेको हो । पटक–पटक म्याद थप्दा पनि काम नगरेपछि सडक डिभिजन कार्यालय बागलुङले सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेको भन्दै ‘वाईपी कन्स्ट्रक्सन प्रालि’को ठेक्का रद्द गरेको थियो ।  डिभिजनकै सिफारिसमा संघीय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सबै प्रक्रिया पुर्‍याएर कम्पनीलाई कालो सूचीमा समेत राखेको छ । ठेक्का रद्द भएपछि बाँकी रकमको पुनः सुनिश्चिता नभएसम्म ठेक्का अगाडि नबढेको हो ।

दरमखोला पुल पनि निर्धारित समयमा काम गरेको भए २०७५ माघ ९ गते सकिनुपर्ने सम्झौतामा उल्लेख छ । काम अलपत्र छाडेपछि डिभिजन कार्यालयले यो पुलको पनि ठेक्का रद्द गराएको हो । ६ करोड १७ लाख रुपैयाँको ठेक्का सम्झौताको यो पुलमा पनि एकातर्फको पिलर मात्रै ठड्याइएको छ । इन्जिनियरका अनुसार यो पुलको ४० प्रतिशत काम भएको बताए । मध्यपहाडी लोकमार्गदेखि काँडेबास र पचुवा जोड्ने दरमखोला पुल बनेमा यहाँको शिव माविका विद्यार्थीले सहज यात्रा गर्न पाउने छन् । राजमार्गमा झारेको सामान बोकेरै काँडेबास, चालिसा, ज्यामिरे र थालेपोखरासम्म लैजानुपर्ने बाध्यता छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully