बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’ हुने

मेलाबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पर्यटनका गतिविधिलाई पोखरामा मात्र सीमित नगरी विकेन्द्रीकरण गर्ने नीतिअनुरूप बन्दीपुरमा मेला आयोजना गर्न लागिएको बताए ।

वैशाख ६, २०८३

दीपक परियार

'Village Tourism Fair' to be held in Bandipur

What you should know

पोखरा — तनहुँको ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरमा १८ र १९ वैशाखमा ‘गाउँ पर्यटन मेला’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीको सह–आयोजनामा मेला हुन लागेको हो ।

विगतका वर्षमा पोखरा केन्द्रित हुँदै आएको यस कार्यक्रमलाई यसपल्ट विकेन्द्रीकरण गर्दै पहिलोपल्ट पोखराबाहिर लैजान लागिएको आयोजकले जनाएका छन् । ‘पहाडकी रानी’ को उपनामले परिचित बन्दीपुरलाई गाउँ पर्यटनको हबका रूपमा विकास गर्ने उद्देश्यले मेलाको स्थल छनोट गरिएको हो ।

नेपाल सरकारको १६औं योजनाले वार्षिक २५ लाख पर्यटक भित्र्याउने र कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको सन्दर्भमा यो मेलाले ग्रामीण पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

मेलाबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पर्यटनका गतिविधिलाई पोखरामा मात्र सीमित नगरी विकेन्द्रीकरण गर्ने नीतिअनुरूप बन्दीपुरमा मेला आयोजना गर्न लागिएको बताए । ‘बन्दीपुर आफैंमा गाउँ पर्यटनको उत्कृष्ट उदाहरण हो,’ उनले भने, ‘यस मार्टले गाउँका साना पर्यटन व्यवसायी र सामुदायिक होमस्टेहरूलाई सिधै सहरी बजार र ठूला एजेन्सीहरूसँग जोड्ने ‘बी–टू–बी’ प्लेटफर्मको काम गर्नेछ ।’

मेलामा सामुदायिक घरबास (होमस्टे) तथा पर्यटन व्यवसायीका ३० भन्दा बढी स्टल रहनेछन् । कार्यक्रममा ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दीपुर पर्यटन : हिजो, आज र भोलि’ विषयमा सम्वादसमेत हुनेछ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्षको सन्दर्भ जोड्दै मेलाले थप ऊर्जा प्रदान गर्ने बताए । ‘बन्दीपुरले भर्खरै भ्रमण वर्ष २०२५ सम्पन्न गरी पुनः बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष घोषणा गरेको अवस्था छ,’ उनले भने, ‘यस्तो महत्त्वपूर्ण समयमा हुन लागेको यो मेलाले बन्दीपुरको पर्यटनलाई थप उचाइमा पुर्‍याउनेछ । स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनका लागि हामी पूर्ण रूपमा तयार छौं ।’

मेलामा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिसमेत रहनेछन् । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीकी अध्यक्ष शोभा सापकोटाले ग्रामीण पर्यटनको बजारीकरणमा जोड दिनुपर्ने बताइन् । ‘गाउँ पर्यटन केवल होमस्टेमा मात्र सीमित छैन, यसले बहुआयामिक सांस्कृतिक र प्राकृतिक पक्षलाई समेट्छ,’ उनले भनिन्, ‘धेरै नयाँ गन्तव्यहरू ओझेलमा परिरहेका छन्, यो मार्टले ती क्षेत्रका व्यवसायीलाई बजार पहुँच दिलाउन र सेवाको गुणस्तर सुधार्न कोशेढुंगा साबित हुनेछ ।’

मेलामा पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ गण्डकी र बन्दीपुरका स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायीले सहकार्य गर्नेछन् । दुईदिने मेलामा पर्यटन व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा स्वदेशी एवं विदेशी पर्यटकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully