गीतसंगीतको संरक्षण गरिरहेको बागलुङको लक्ष्मीनारायण मन्दिर

मन्दिर स्थापनाको १ सय वर्ष पूरा भएको छ । मन्दिर व्यवस्थापन समितिले शताब्दी वर्षलाई विशेष वर्षका रूपमा मनाउने तयारी गरेको छ ।

वैशाख ६, २०८३

प्रकाश बराल

Lakshminarayan Temple in Baglung is preserving music

What you should know

बागलुङ — विसं १९८३ वैशाख ७ गते अक्षय तृतीयाको दिन थियो । बागलुङ नगरपालिका वडा नं ३ निवासी टेकनारायण भारीले टोल भेला राखेर लक्ष्मीनारायण मन्दिर स्थापना गर्ने योजना सुनाए । यो अभियानका लागि १ हजार बढी रकम आवश्यक थियो । 

यो अभियानमा उनको परिवारले सबैभन्दा धेरै १ सय ४३ रुपैयाँ दिने घोषणा गरेपछि सबै जनाले पाँच/दस रुपैयाँ गरी १ हजार ३ सय ६२ रुपैयाँ संकलन भयो । यो रकमले मन्दिर निर्माण गरी गौंडाकोट नजिकै १६ रोपनी जग्गासमेत किनियो । उक्त जग्गामा उत्पादन हुने धानले मन्दिरमा आउने सन्त–महन्तलाई खाने अन्नको जोहो गरियो । रात्माटा भन्ने स्थानमा १ रोपनी ५ आना जग्गा किनेर पण्डित पीताम्बर शर्मालाई पुजारी खर्च दिइयो ।

उक्त मन्दिर स्थापनाको १ सय वर्ष पूरा भएको छ । मन्दिर व्यवस्थापन समितिले शताब्दी वर्षलाई विशेष वर्षका रूपमा मनाउने तयारी गरेको छ । यो अवधिमा लक्ष्यवर्ती दीप प्रज्ज्वलन, रथ यात्रा, भजनकीर्तन लगायतको कार्यक्रम तय भएको हो । 

बागलुङ बजारको नारायण चोकमा रहेको यो मन्दिरको यतिधेरै महत्त्व बढ्नुमा टेकनारायण भारीले स्थापना गरेको कारण मात्र होइन, यहाँ भारतबाट आएका एक सन्तले विसं २००० देखि नै स्थानीयलाई संगीत सिकाउने काम गरे । ती सन्तको नाम बताउन सक्ने अहिले कोही छैनन् । ८९ वर्षीय हरेराम भारीले बागलुङमा आधुनिक गीत–संगीतको सुरुवात गरेको मन्दिर भएकाले अहिले पनि यसको विशेष महत्त्वको भएको बताए । ‘नेवारी परम्पराका दर्जन बढी जात्रा यही मन्दिरको पूजा गरेपछि निकालिन्छ,’ उनले भने, ‘संगीतका सबै विद्यार्थीले लक्ष्मीनारायण मन्दिरमा आएर सिकेका हुन् ।’ पछिल्लो समय विभिन्न कलाकेन्द्रमार्फत संगीत सिक्ने चलन बसे पनि पुराना गीतकार, संगीतकार सबैको सिकाइ केन्द्र यही मन्दिर भएको स्थानीय जानकारहरू बताउँछन् ।

नेवार समुदायको प्रसिद्ध हनुमान नाच यो मन्दिरमा पुजा गरेर मात्र सुरु गरिन्छ । त्यस बाहेक गाईजात्राको दिन तायमचा निकाल्दा लक्ष्मीनारायणको पूजा गरेपछि मात्र निकाल्न पाइने चलन छ । बाद्यवादनसहित निकालिने लाखे जात्रा, रोपाईजात्रा, बास्सा नाच सबैका कलाकारले लक्ष्मीनारायणकै पूजा गर्ने चलन बसेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले बताए । यो मन्दिर व्यवस्थापन समितिले एक सय वर्षअघिको सम्पत्ति हिनामिना गरेको छैन । बरु बढाएको छ । ‘हामीले मन्दिरको जग्गा बढाएर २२ रोपनी पुर्‍याएका छौं,’ उनले भने, ‘अहिले पनि यो जग्गाबाट वर्षको ९० हजार बढी कमाएर पूजा व्यवस्थापन गर्दै आएका छौं ।’ 

यो मन्दिरकै प्रभाव स्वरूप यहाँका मुकुन्द शाक्य, रमेश राजभण्डारी, शुभराम भारी लगायतका गायक, संगीतकार अहिले पनि परिचित छन् । 

बागलुङका नेवारमा प्रचलित दर्जन संस्कृतिलाई संस्थागत गर्न लक्ष्मीनारायण मन्दिर सहयोगी भएको संस्कृतिविद् प्रेम छोटा बताउँछन् । यहाँ भारतसहित विभिन्न स्थानबाट दर्जनौं सन्त–महन्त आएर बस्ने गरेको उनले बताए ।

यो मन्दिरको ऐतिहासिक महत्त्व बढाउन मन्दिरसँगै रहेको नारायण चौतारोलाई बागलुङ नगरपालिकाले संरक्षण गरी विशिष्ट मूल्य, संस्कृति, इतिहास र पहिचानको सम्पत्ति बनाउने अभियान चलाएको छ । नगर पर्यटन विकास समितिमार्फत यहाँ परम्परागत सोरठी, झाम्रे र ठाडो भाखा लगायतका गीत गाउने चौतारीका रूपमा विकास गरेको छ । 

हरेक वर्ष हरिबोधिनी एकादशी र कृष्ण जन्माष्टमीमा लक्ष्मीनारायण मन्दिरबाट रथयात्रा पनि निकालिन्छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully