पञ्चकोटमा १ सय ५१ फिट अग्लो कलश बन्दै

पञ्चकोटबाट धौलागिरि हिमालसहितका शृंखला देख्न सकिने धार्मिक क्षेत्रसमेत भएकाले अहिले दैनिक सयौं पर्यटक यहाँ पुग्न थालेका छन् ।

वैशाख ६, २०८३

प्रकाश बराल

A 151-foot tall urn is being built in Panchakot

What you should know

बागलुङ — धार्मिक महत्त्वको कालीगण्डकी नदी सुक्दै गएको छ । ढुंगा, गिटी र बालुवा उत्खनन गर्ने नाममा दोहन गर्दा नदी सभ्यता लोप भइरहेको हो । नदी दोहनले संसारभर प्रसिद्ध शालीग्राम अहिले गिटीका रूपमा उपयोग भइरहेको छ । नदीमाथिको मानवीय अतिक्रमणले पानीका मुहान सुकेका छन् ।

यस्तै समास्या समाधानार्थ र जल सम्पदा संरक्षणको सन्देश दिन बागलुङको पञ्चकोटमा ‘विश्व शान्ति कलश’ निर्माणको काम सुरु भएको छ । एक दशकअघि नै अभियान सुरु भएको हो । तर, आर्थिक अभाव हुँदा निर्माणले गति लिन सकेको थिएन । पञ्चकोटमा कलशको जग र आसनसमेत गरी १ सय ५१ फिट अग्लो कलश निर्माण थालिएको हो । 

बागलुङ–६ मा जन्मिएर भारतका विभिन्न स्थानमा प्रसिद्दि कमाएका कमलनयनाचार्यको अगुवाइमा कलश निर्माणमा दाता जोडिने क्रम बढिरहेको छ । ‘धार्मिक र पर्यटकीय रूपमा कलश आकर्षण बन्ने नै छ, हामीले यो कलशबाट जल सम्पदा र जल सभ्यता जोगाउने सन्देश दिने हो,’ कमलनयनाचार्यले भने, ‘विश्वशान्ति कलशबाट संसारलाई शान्ति र जलसभ्यता संरक्षण गरेको सन्देश दिने लक्ष्य छ ।’ अहिले पहिलो तल्लाको काम भइरहेको छ । A 151-foot tall urn is being built in Panchakot

२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको पञ्चकोटमा अहिलेसम्म २ अर्ब बढीका संरचना निर्माण भइरहेका छन् । दक्षिण भारतीय शैलीमा गणेश, गण्डकीमा तार महालक्ष्मी मन्दिर, हनुमानको मूर्ति, ५ हजार ५ सय ५५ केजीको महाघण्टा, गौशाला, गरुण शिला, सिस महल, पदमार्ग, कार्यक्रम गर्ने सभाहल बनाइसकिएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा संघीय समानिकरण कार्यक्रममार्फत ४० लाख र आर्थिक वर्ष २०८१/०८२ मा ५० लाख रुपैयाँको लगानीमा मन्च र भान्छासहितको कार्यक्रम स्थलसमेत बनाइसकेको छ । 

बागलुङ–३ का आनन्द राजभण्डारीले ३५ लाख खर्चेर आकर्षक गेटसमेत निर्माण गरिदिएका छन् । यो स्थलको अधिकांश काममा दाता, व्यक्तिहरूले साथ दिएका छन् । हरेक वर्ष महायज्ञ लगाएर स्थानीयले दिने दान–चन्दाबाटै अधिकांश संरचना बनाइएको छ । यहाँको ‘ताराजालकोट’, ‘कारिकोट’, ‘माझकोट’, ‘रायरायकोट’ र संसारकोटलाई एकीकृत योजनामा जोडेर पञ्चकोट नामकरण गरिएको हो । 

संसारकोट २ हजार ५ सय मिटरको उचाइमा छ । यहाँबाट बागलुङ, पर्वत र म्याग्दीका अधिकांश भूगोल देख्न सकिन्छ । पञ्चकोटबाट धौलागिरि हिमालसहितका शृंखला देख्न सकिने धार्मिक क्षेत्रसमेत भएकाले अहिले दैनिक सयौं पर्यटक यहाँ पुग्न थालेका छन् । पञ्चकोट विकास परिषदले राखेको लक्ष्यअनुसारको योजना पूरा गर्दा दैनिक हजारौं पर्यटक पुग्ने र जल सम्पदा संरक्षणको सन्देश संसारभर फैलाउन सकिने अध्यक्ष जगन्नाथ आचार्यले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully