भवन अलपत्र पर्दा स्वास्थ्य चौकीको सेवा प्रभावित

नयाँ भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य चौकीको सेवा प्रवाहमा समस्या भएको छ ।

वैशाख ५, २०८३

प्रकाश बराल

Health post services affected as building falls into disrepair

What you should know

बागलुङ — चार वर्षअघि नारायणस्थान स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा ८० अंक पाएर पहिलो भयो । त्यतिबेला सबै पालिका र स्वास्थ्य संस्थामा मापदण्ड लागू भइसकेको थिएन । अहिले सबैमा यो मापदण्ड लागू गर्दा यो चौकीले ९२ अंक पाए पनि प्रथम बन्न सकेन । त्यसको कारण एउटै छ, भवन अभाव । 

पुरानो भवनमा काम गर्नुपर्दा सहज रुपमा सेवा दिन कठिन भएको स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले बताए । ‘हामीले निरन्तर काम गरिरहेका छौं, तर भवन अभावले पाउनुपर्ने नम्बर पाउन सकेनौं,’ शर्माले भने, ‘नयाँ भवन नबनेसम्म कामको उचित मूल्यांकन पाउन नसक्ने भयौं ।’ यहाँ निर्माण सुरु भएको तीन वर्षमा पनि नयाँ भवन नबनेपछि सूचक पूरा नभएको हो । 

यहाँ ल्याबसेवा, ओपिडी, सुरक्षित सुत्केरी, गर्भजाँचसहित उष्ण प्रदेशीय रोगको उपचार समेत हुने गरेको छ । तर तीन दशकअघि तत्कालीन उपस्वास्थ्य चौकीकालागि बनाएको भवनमा अहिलेसम्म सेवा दिनुपर्दा सेवा प्रभावकारी बन्न नसकेको हो । अहिले तत्कालीन उपस्वास्थ्य चौकीको स्तरोन्नति भएको छ । दरबन्दी र सेवाग्राहीको चाप पनि बढेको छ । तर भवन बनाउन नगरपालिकाले ताकेता गर्न नसक्दा  कर्मचारी र स्वास्थ्यकर्मीको मनोबल बढाउन नसकेको शर्माले गुनासो गरे ।

डिएनजीप्रसाद संयुक्त निर्माण कम्पनीले २०८० वैसाखमा ११ महिनाभित्रै भवन सक्ने गरी सम्झौता गरेकोमा दुई वर्ष थप्दा पनि काम अलपत्र छाडेको हो । इन्जिनियर सोविन घर्तीका अनुसार यो भवनको अहिलेसम्म ६५ प्रतिशत मात्र काम भएको छ । बाहिरी संरचनाको काम  भए पनि भित्री काम धेरै बाँकी छ । राष्ट्रिय योजना आयोगको १ करोड ७८ लाख रुपैयाँको लागतमा निर्माणाधीन यो भवन समयमा पूरा नभएपछि आयोगले ९० लाख मात्रै भुक्तानी दिएको थियो । बाँकी रकम फ्रिज भयो । भवन सक्नकालागि स्वास्थ्य मन्त्रालयले बिनियोजन गरेको ३८ लाख रुपैयाँ समेत भुक्तानी भइसकेको छ । अब बाँकी ५८ लाख रुपैयाँ नगरपालिकाको जिम्मामा आएको छ ।

ठेकेदारले भने बजेट अभावमा काम पूरा गर्न नसकेको दाबी गरिरहेका छन् । वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार भवनको कुनै पनि खण्ड पूरा भएको छैन ।  नेपाल लोककल्याण संघ (स्वान)ले आफ्नै लगानीमा बनाइदिएको भवनको भरमा अहिलेसम्म सेवा संचालनमा छ ।

उक्त संस्थाले दिएका प्रयोगशाला सामग्रीदेखि कम्प्यूटर पनि एउटै कोठामा राख्दा सेवा प्रभाहमा समस्या भएको छ । त्यसबाहेक डेंगी, हात्तीपाइलेलगायतका रोगका बिरामीलाई छुट्टै कोठामा राखेर उपचार सेवा दिन नसकेपछि न्यूनतम सेवा मापदण्डको अंक पाउन नसकेको हो । अहिले यो स्वास्थ्य चौकीले ९२ अंक पाएको छ । कोठा थप भएमा ९६ देखि ९८ सम्म अंक पाएर जिल्लाको प्रथम बन्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् । 

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले ठेकेदारलाई ल्याएर काम पूरा गर्न लगाउने प्रयास सम्भव नभएको बताए । ‘चाडपर्व आयो भने केही कामदार पठाएर भुक्तानी खोज्ने प्रवृत्ति बढी छ,’ खड्काले भने, ‘ठेकेदारलाई काम लगाउन धेरै समस्या रहेछ ।’ अप्ठ्यारो भए पनि यो स्वास्थ्य संस्थामा गतवर्ष ४ हजार ३ सय जना बिरामीले सेवा पाएका थिए भने बर्सेनि एक सय हाराहारीमा डेंगीका बिरामीको उपचार समेत गर्नु परेको छ । 

वडाध्यक्ष खत्रीले एक जना मेडिकल अफिसर राखेर सेवा प्रवाह बढाउन नगरपालिकामा प्रस्ताव गरे पनि भवन नभएपछि काम रोकिएको बताए । भवन बनिसकेपछि वडाकै सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने योजना समेत उनले सुनाए । 

नगरपालिकामार्फत ठेकेदारलाई ध्यानाकर्षण गर्दै भवनको काम छिटो पूरा गरिदिन स्वास्थ्यचौकी व्यवस्थापन समितिले १३ वटा बैठक बसेर पटक पटक पत्राचार गरेको छ । ठेकेदार गौरीशंकर प्रधानले काम गरेको बजेट भुक्तानीमा समस्या आएकोले काम गर्न नसकेको बताए । उनले नगरपालिकाले आवश्यक बजेट भुक्तानी गरेमा काम पनि छिट्टै सकिने दाबी गरेका छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully