विशेषज्ञ सेवा थप्दै धौलागिरि अस्पताल

धौलागिरि अस्पतालमा मानसिक, मृगौला, पिसाव र अन्य रोगका विशेषज्ञ सेवाहको सहज पहुँच उपलब्ध भएपछि बिरामीलाई पोखरा वा काठमाडौं धाउन नपर्ने भएको छ।

वैशाख १, २०८३

प्रकाश बराल

Dhaulagiri Hospital adding specialist services

What you should know

बागलुङ — जिल्लाबाट अञ्चल हुँदै प्रादेशिक अस्पताल बनेको धौलागिरि अस्पतालले दर्जन बढी विशेषज्ञ सेवा दिन थालेको छ । शल्यक्रियासहितको सेवाबाहेक यहाँ मानसिक रोग र मृगौला तथा पिसाव सम्बन्धी उपचार सेवा पनि दिन थालिएको हो ।

प्रादेशिक अस्पताल बनेपछि यहाँ दर्जन बढी विशेषज्ञ सेवा दिन थालिएको हो । सेवा थप्दै गएको अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पिसाव सम्बन्धी सेवा दिन थालेको हो । मृगौला रोग विशेषज्ञ डा. विकास खत्री नेतृत्वमा आएको टोलीले शनिबारदेखि सेवा संचालन गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण घिमिरेले बताए । सेवा सुरु भएको पहिलो दिनमै २५ जना बिरामीले लाभ लिएका थिए ।

दक्ष जनशक्तिको व्यवस्थापन नभएसम्म प्रतिष्ठानका चिकित्सकको उपस्थितिमा सेवा प्रवाह गर्न थालिएको अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले बताए । त्यसपछि भने आवश्यक दरबन्दी ल्याएर नियमित सेवा संचालन गर्ने लक्ष्य राखिएको उनले बताए ।

मृगौला र पिसाव सम्बन्धी उपचार सुविधा नभएकोले यहाँका धेरै बिरामी पोखरा र काठमाडौं जान बाध्य थिए । ‘सुरुवातको रुपमा साझेदारीमा सेवा संचालन गरिएको हो, चिकित्सकको दरबन्दी आएपछि नियमित सेवा संचालन हुनेछ,’ मेडिकल सुपरिटेन्डेनट डा. किरण तिवारीले भने, ‘हामीले दैनिक र मासिक रुपमा मानसिक समस्याको उपचार सेवा पनि थालेका छौं ।’ अब यहाँबाट  कुनै पनि सेवा अबरुद्द छैन भन्ने बनाइसकेका छौं । अस्पतालमा दुई वर्षदेखि ट्रमा उपचार कक्ष पनि संचालन छ ।

‘हरि खड्का ट्रमा सेन्टर’ बनाउने सरकारी योजना भने पूरा भएको छैन । तर ट्रमाको सेवा गरेको रेकर्ड राख्ने र आवश्यक उपचार अन्य चिकित्सकबाट पनि दिने गरिएको हो । सेन्टरकैलागि अस्पतालले सिटि स्यानसहितका मेसिन भित्र्याइसकेको छ ।

मृगौला रोग, पिसावमा प्रोटिन देखिने, उच्च रक्तचाप नियन्त्रणमा समस्या, शरीर सुन्निने, मधुमेहलगायतका धेरै सेवा पनि संचालनमा आउन थालेका छन् । अस्पतालले नर्सिङ पढाइको तयारी पनि थालेको छ । विशेषज्ञ चिकित्सक थप गर्न सकेमा नर्सको दरबन्दी नभए पनि सेवा संचालन गर्न सकिने अवस्था बनेको तिवारीले बताए । चालु वर्ष गण्डकी प्रदेश सरकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेर काम थालिसकेको हो ।

अस्पतालमा मुटु रोगको उपचार गराउने कक्ष बनाउन पनि दबाब बढेको छ । ‘हामीले धेरै पटक पहल गरिरहेका छौं, अब मुटु रोगको प्रारम्भिक उपचार कक्ष चाहिन्छ,’ गण्डकी प्रदेशका पूर्वस्वास्थ्य निर्देशक डा. रामबहादुर केसीले भने, ‘अब कार्डियोलोजिष्टको दरबन्दी र उपचारकक्ष आवश्यक छ ।’ बिरामीको मृत्युदर घटाउन यो काम आवश्यक भएको उनले बताए । 

अस्पताल व्यवस्थापन समितिले अत्यावश्यक र पछिल्लो समय देखिएका रोगको उपचार कक्षसहितको बनाउने लक्ष्य राखिएको शर्माले बताए । अस्पतालमा हाल २४ विशेषज्ञ चिकित्सकसहित १२ मेडिकल अधिकृतको दरबन्दी छ । प्रसूति, हाडजोर्नी, बालरोग, फिजियो थेरापी जस्ता विशेषज्ञ उपचार सेवा पनि नियमित संचालनमा आएको छ ।

अस्पताल प्रशासनका अनुसार यहाँ वर्षमा १ लाख ५० हजार जना बढीले उपचार सेवा पाएका छन् । तीमध्ये स्वास्थ्य बिमा अन्तरगत वर्षमा ६८ हजार बढीले सेवा लिएको तथ्यांक छ ।

धौलागिरि अस्पतालबाट बिमा तर्फ आर्थिक वर्ष २०७७/७८ मा १९ हजार ५ सय ३५ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा ३२ हजार  ७ सय ५४ जनाले सेवा लिएको तथ्यांक छ । त्यसपछि क्रमश ४८ हजार ४ सय ४२ ले सेवा लिएका थिए । आर्थिक वर्ष २०८०/०८१मा त्यो संख्या ६८ हजार ६ सय ७८ पुगेको तथ्यांक अधिकृत नवराज शर्माले बताए । अस्पतालबाट गत आर्थिक वर्ष पनि ६९ हजार ६ सय ८ जनाले सेवा लिएका छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully