स्वरोजगार बन्दै लमजुङका दृष्टिविहीन

लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेका अनुसार दृष्टिविहीन र शारीरिक अपांगता भएका नागरिकलाई स्वरोजगार तथा आय आर्जनका लागि सीपमूलक तालिम प्रदान गरिएको हो ।

चैत्र २९, २०८२

आश गुरुङ

Blind people of Lamjung become self-employed

What you should know

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका–७ का सोमबहादुर गुरुङ सानैदेखि दृष्टिविहीन हुन् । सेतो छडीको सहाराले हिँड्दै आएका उनले हारपिक, फिनाइल र झोल साबुन बनाउने तीन दिने तालिम लिएका छन् ।

उनले मात्रै होइन, दोर्दी गाउँपालिका–३, श्रीमञ्ज्याङकी पार्वती गुरुङले पनि यही तालिम लिएकी छन् । आँखाले हेरेर धेरै कुरा थाहा हुने भए पनि दुवै जनाले यी सामान बनाउने कच्चा पदार्थबाट हारपिक, झोल फिनाइल र झोल साबुन बनाउन सक्ने भएका छन् । उनीहरूलाई कुन सामग्री बनाउन कुन कच्चा पदार्थ कति मात्रामा आवश्यक पर्छ भन्ने ज्ञान भइसकेको छ ।

‘घरमा यतिकै बसिरहनुभन्दा केही न केही सिक्नु र गर्नु ठिक हो,’ सोमबहादुरले भने, ‘यो तीन दिनको तालिमले हामीलाई आफैं काम गर्न सक्ने र केही कमाइ गर्न सक्ने बताएको छ ।’ पार्वतीका अनुसार दृष्टिविहीन सबैलाई यी काम गर्न एक्लै गाह्रो छ । तर, परिवारको साथ पाएमा यी कामहरू सहजै गर्न सक्छन् । सुरुमा कच्चा पदार्थ ल्याउने र आवश्यक मात्रामा मिलाएर भाँडामा राख्दै र घोल्दै गएपछि हारपिक, फिनाइल र झोल साबुन बन्ने उनले बताइन् । ‘अब केही रकमको जोहो गर्न सकिए घरमै बसेर बनाउन सकिन्छ,’ उनले भनिन् ।

सोमबहादुर र पार्वतीजस्तै दृष्टिविहीन र शारीरिक अपांगता भएका १६ जना हारपिक, फिनाइल र झोल साबुन बनाउन सक्ने भएका छन् । उनीहरूलाई नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य परियोजनाले बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन तालिम दिएको हो । सुन्दरबजार नगरपालिका– ९, सिउँडीबारमा दिइएको तालिममा लमजुङका आठवटै पालिकाका २/२ जनालाई बोलाइएकामा केही स्थानीय तहबाट सहभागी नभएपछि नजिकैका पालिकाका दृष्टिविहीन र शारीरिक अपांगता भएकाले सुविधा लिएको लमजुङ नेत्रहीन संघका सचिव विष्णु पोख्रेलले बताए ।

प्रशिक्षक गोपाल अधिकारीका अनुसार हारपिक बनाउन हाइड्रोक्लोरिक एसिड, हार्पिक जेल वा पेस्ट र नीलो रंग चाहिन्छ । झोल साबुन बनाउनका लागि एसिड सेलरी, कास्टिक सोडा, युरिया मल, नुन, रंग र वासनादार वस्तु चाहिन्छ । फिनाइलका लागि कन्सन्टेन्ट फिनेल चाहिन्छ । आवश्यक मात्रामा पानी राखेर घोलेर बनाइन्छ । ‘आवश्यक सामानहरू जुट्न सकेको अवस्थामा दृष्टिविहीनले यी सामग्री बनाउन सक्छन्,’ उनले भने ।  

लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेका अनुसार दृष्टिविहीन र शारीरिक अपांगता भएका नागरिकलाई स्वरोजगार तथा आय आर्जनका लागि सीपमूलक तालिम प्रदान गरिएको हो । ‘हामी आँखा हेर्न सक्दैनौं । त्यसो भनेर केही गर्न नसक्ने होइन । धेरै कुरा हामी आफैं गर्न सक्छौं, केही सहयोगीको भरमा गर्न सक्छौं,’ उनले भने । उनका अनुसार दृष्टिविहीनसँग हेर्न सक्ने क्षमता नभए पनि सबै क्षमता हुने उनले बताए ।

नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्यपरियोजना पुनर्स्थापना अधिकृत प्रेम महर्जनका अनुसार दृष्टिहीन तथा अन्य अपांगता भएका नागरिकको समावेशी विकासका लागि वकालत, सशक्तीकरण र पहुँचयुक्तताका लागि सक्रिय रूपमा काम गर्दै आएको छ । यसले प्रजनन स्वास्थ्य, समावेशी शिक्षा, प्रविधिमा दृष्टिविहीन युवाको पहुँच बढाउन विभिन्न परियोजना र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

एकीकृत सेवा कार्यालय प्रमुख मिताकुमारी थापाले आत्मनिर्भर र स्वरोजगारमात्रै बन्न सकिए भने पनि परिवारमा आर्थिक भार कम पर्ने बताइन् । व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने भन्दै उनले आवश्यक कागजपत्रको उपलब्धताका आधारमा सहजै व्यवसाय दर्ता हुने उनले बताइन् । ‘दर्ता गर्दा समस्या छैन । व्यवसाय भने निरन्तर चलाउनुपर्छ । दर्ता र नवीकरण भएमा अनुदानहरू लिन पनि सहज हुन्छ,’ उनले भनिन् ।

गण्डकी प्रदेश वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले परनिर्भर नभइ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । ‘अपांगता भएका साथीहरूले मनोबल उच्च बनाउनु पर्छ । अपांगता हाम्रो कमजोरी होइन,’ उनले भने, ‘हामीले संघर्ष गर्नुपर्छ, प्रयास गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ, लाग्नु पर्छ । हामीसँग भएको क्षमता प्रस्तुत गर्ने हो । जुन सुरक्षित र सहज हुन्छ, त्यसमा दक्षता प्राप्त गरेर जीवनमा प्रयोग गर्नुपर्छ ।’

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully