गोरखा–जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु

विसं १८७२ वैसाख ७ मा नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको स्मरणमा वैसाख ७ मा जितगढीमा विजयोत्सव दिवसको रुपमा मनाइने गरेको छ ।

चैत्र २७, २०८२

हरिराम उप्रेती

Trekking begins on Gorkha-Jitgadhi integration route

What you should know

गोरखा — नेपाली सेनाले गोरखा–जितगढी एकीकरण मार्गमा पदयाक्रा सुरु गरेको छ । शुत्रबार गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट सेनाको रुद्रध्वज गणले यात्रा प्रारभ्भ गरेको हो । 

ऐतिहासिक सैनिक पोशाक तथा हतियारसहित टोलीले यात्रा सुरु गरेको हो । पदयात्रा टोलीलाई पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकरलगायतले गोरखा दरबारमा नेपाली सेनाको स्थापनाकालका पाँच कम्पनीको झण्डा र विजय दीप हस्तान्तरण गरी बिदाई गरेका थिए । 

शुक्रबार सुरु भएको पदयात्रा वैसाख ७ गते रुपन्देहीस्थित जितगढी पुगेर टुंगिने रुद्रध्वज गणका प्रमुख विरोध रिजालले बताए । गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट तनहुँ सीमा क्षेत्रको सतिघाटसम्मको यात्रा रुद्रध्वज गणले पूरा गरेर शुक्रबार नै यात्रा तनहुालाई हस्तान्तरण गर्ने छ । गोरखा दरबारबाट सतिघाटसम्मको ३० किलोमिटर दुरी १ दिनमा पूरा हुने नेपाली सेनाले जनाएको छ  जिल्लागत हस्तान्तरण हुँदै यात्रा जितगढी पुग्ने छ । 

पदयात्रा टोली तनहुँ, पाल्पा र रुपन्देही हुँदै वैसाख ७ गते जितगढी पुग्ने छ । गोरखा दरबारबाट रुपन्देहीको जितगढीसम्मको ३०५ किलोमिटर दुरीमा ११ दिनको पैदलयात्रा हुने छ । टर्च, राष्ट्रिय झण्डा, नेपाली सेनाका प्रथम ५ कम्पनी (श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दबहादुर र कालीबक्स) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित यात्रा प्रारम्भ भएको हो । 

नेपाल–अंग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइँमाा विजय प्राप्त गरेको दिनलाई स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्षको वैसाख ७ गते विजय उत्सवको रुपमा मनाउँदै आएको छ । 

यात्राले गढी, किल्ला, दरबार तथा एकीकरण दौरानमा प्रयोग भएका मार्गहरु पहिचान गरी, संरक्षण, सम्बर्द्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । जितगढी किल्लामा विसं १८७२ वैसाख ७ मा नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको ईतिहास छ । यसकै स्मरणमा वैसाख ७ मो जितगढीमा विजयोत्सव दिवसको रुपमा मनाइने गरेको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully