पसगाउँ महोत्सवमा रैथाने बालीदेखि परम्परागत सामग्री प्रदर्शन

१६ औं पसगाउँ महोत्सवमा जंगली उत्पादन, गुरुङ जातिले पौराणिक कालदेखि प्रयोग गर्दै आएका घरेलु तथा हस्तकला सामग्री मुख्य आकर्षण थिए ।

चैत्र २७, २०८२

आश गुरुङ

Traditional materials from indigenous crops on display at Pasgaon Festival

What you should know

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका ६ पसगाउँमा आयोजित १६ औं पसगाउँ महोत्सवमा यसपटक रैथाने बालीका उत्पादनदेखि परम्परागत सामग्री प्रदर्शन गरिएको छ ।

महोत्सवमा जंगली उत्पादन, गुरुङ जातिले पौराणिक कालदेखि प्रयोग गर्दै आएको घरेलु र हस्तकला सामग्रीलगायत मुख्य आकर्षणको रुपमा रहेका थिए। महोत्सवमा स्थानीय संस्कृति मुख्य आकर्षण थियो ।

पसगाउँबासीले २०६० वैसाख १६ र १७ गते पहिलो पसगाउँ महोत्सव आयोजना गरेका थिए । बीचमा केही वर्ष महोत्सव रोकिए पनि पछिल्लो वर्षमा बर्सेनि महोत्सव हुने गरेकाे छ । गत बुधबार र बिहीबार २ दिन आयोजना गरिएको १६ औं पसगाउँ महोत्सवमा परम्परागत सारंगी नाच, घाँटु, कृष्णचरित्रलगायत प्रस्तुत गरिएको थियो ।

महोत्सवमा हस्तकला सामग्री डोको, नाम्लो, थुन्से, पुन्द्रो, पेरुङ्गो, पेराँडा, ठेकी, मदनी, तोंब्यो, चकटी, गुन्द्री, राडी, बख्खु राखिएको थियो । यस्तै, उन, चर्खा, प्रदर्शन गरिएको थियो । यस्तै, तामा र पित्तलका भाँडाकुँडा, ठूलो गाग्री, चर्खा, राडीबख्खु बुन्ने परम्परागत यन्त्र (कोइँडो साजा) प्रदर्शन गरिएको थियो । तरुल, पिँडालु, टिमुर, सिलटिमुर, नारमु च्याउ, तिते करेला, कर्कलो, गुन्द्रुक, भट्टमास, दाल, झिनुवा, आँगा धान र कागुनोको चामल, पिठो लगायत पनि महोत्सवमा प्रदर्शनमा राखिएको थियो ।

पसगाउँ सामूहिक होमस्टेको आयोजनामा भएको महोत्सवमा आयोजित वडास्तरीय सामूहिक नृत्य प्रतियोगितामा वडा ६ भुजुङ प्रथम भएर नगद ५० हजार रुपैयाँ पाएको छ । दोस्रो वडा ८ र तेस्रो वडा ७ भए । दुवै टीमले क्रमशः नगद ३० हजार र २० हजार पाए । उनीहरुलाई शताब्दी महिला र पुरुष दुमच्यों गुरुङ र कृष्णप्रसाद गुरुङ साथै होमस्टे अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङलगायतले पुरस्कार वितरण गरे ।

महोत्सवमा राजबहादुर गुरुङ, टसबहादुर गुरुङ, केशबहादुर गुरुङ, नेत्र गुरुङ, अनुज अधिकारी, सावित्री शाही ठकुरी, बत्ती थापा मगर, ममता गुरुङलगायत कलाकारले आफ्ना प्रस्तुति दिएको कलाकार संयोजक गोरे गुरुङले बताए ।

होमस्टे अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँकौ मौलिक तथा परम्परागत संस्कृति संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धन गर्न यस्ता खाले महोत्सव प्रभावकारी माध्ययम भएको बताए । ‘गाउँलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिएमा पर्यटन प्रवर्द्धन हुन सक्छन् । हामीले गाउँ चिनाउन र पर्यटकलाई बोलाउन महोत्सव आयोजना गर्दै आएका छौं,’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले महोत्सवले आर्थिक गतिविधि चलायमान हुने र महिला स्वरोजगार बन्ने बताइन् । ‘महिलाको सहभागीताले स्थानीय उत्पादनमा जोड दिँदै आएका छौं । यस्ता खाले महोत्सव ग्रामीण विकासमा टेवा पुग्ने एउटा माध्ययम बनेको छ,’ उनले भनिन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले गाउँपालिकाले कृषि र पर्यटन प्रवर्द्धन साथै पूर्वाधार विकासलाई जोड दिँदै आएको बताए।

समुद्री सतहबाट १ हजार ६ सय ५० मिटरको उचाइमा रहेको पसगाउँमा १ सय ७५ बढी घरधुरी छन् । २१ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टेको प्याकेज १ हजार २ सय रुपैयाँ राखिएको छ । होमस्टेमा जंगली उत्पादनका स्वाददेखि गाउँघरमा फल्ने सागसब्जी, तरकारी, फलफूल साथै खाद्यान्नको स्वाद लिन सकिन्छ । दक्षिणी मोहोडामा बनेका ढुंगाले छाएका घरहरु, घुमाउने घर, गुरुङ संग्रहालय, ऐतिहासिक तथा धार्मिकस्थलहरु पसगाउँका हेर्नलायक सम्पदाहरु रहेको होमस्टे सचिव रतनसिंह गुरुङले बताए ।

यस्तै, गाउँ माथिको क्होम्रे डाँडा र ङ्योजेडाँडा पुगेपछि पोखरा आसपासका क्षेत्रमात्रै नभइ मनाङ, गोरखा, कास्कीका ग्रामीण भेगदेखि सहरहरु देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूअस्तमात्रै नभएर दर्जन हिमश्रृंखलाहरु लहरै देख्न सकिने होमस्टे सहसचिव भक्तबहादुर गुरुङले बताए ।

पसगाउँ पुग्ने धेरै बाटाहरु छन् । लमजुङ सदरमुकाम बेंसीसहरबाट मालिङ, साल्मेभञ्ज्याङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । साल्मेभञ्ज्याङबाट चरागाउँ, बगैंचा हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । बेंसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ ।

यस्तै, बेंसीसहरबाट भोर्लेटार रामबजार अथवा पोखराबाट रामबजार भएर करापु, छापा, गिलुङ हुँदै साल्मेभञ्ज्याङ निस्किएर चरागाउँ वा घाम्राङको बाटो पसगाउँ पुगिन्छ । पोखराबाट भैंसे, थुम्सीकोट, मुंग्रीवेसी, बालुवावेसी, वगैंचा हुँदै पसगाउँ पुगिन्छ । काठमाडौंबाट तनहुँको दमौली हहुँदै लमजुङको दुइपिप्ले, भोर्लेटार, रामबजार हुँदै गिलुङको बाटो भएर पसगाउँ पुगिन्छ । पहिले हिँडेरमात्रै पुग्न सकिने पसगाउँमा अहिले बस, जिप, मोटरसाइकलको माध्ययबाट सजिलै पुग्न सकिन्छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully