बागलुङका १० स्थानमा स्मार्ट बत्ती जडान

‘उज्यालो बागलुङ’ कार्यक्रम अर्न्तगत बजारका चोकहरुमा सडक बत्ती जडान गरिएको हो ।

चैत्र २४, २०८२

प्रदीप पन्त

Smart lights installed at 10 locations in Baglung

What you should know

बागलुङ — बागलुङ सदरमुकामका मुख्य १० वटा स्थानमा ‘हाइमास्टड’ स्मार्ट सडक बत्ती जडान गरिएको छ । रातको समयमा उज्यालो प्रदान गर्ने गरी बागलुङ नगरपालिका र नेपाल विद्युत्त प्राधिकरणको संयुक्त साझेदारीमा स्मार्ट बत्ती जडान गरिएको हो । 

बागलुङ नगरपालिकाको २३ लाख ९३ हजार ५ सय २४ र प्राधिकरणको १२ लाख ८८ हजार ८ सय २१ गरी ३६ लाख ८२ हजार ३ सय ४५ रुपैयाँको लागतमा बजार क्षेत्रमा सडक बत्ती जडान गरिएका बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘उज्यालो बागलुङ’ कार्यक्रम अर्न्तगत बजारका चोकचोकमा सडक बत्ती जडान गरिएको उनले बताए । ‘चीनबाट पोल र यसमा प्रयोग हुने बत्ती भारतबाट ल्यायौं,’ उनले भने,‘अरु बत्ती भन्दा यसमा गुणस्तरीय र राम्रो छ ।’

पहिलो चरणमा बजार क्षेत्रका लोकतान्त्रिक चोक, अस्पताल चोक, क्याम्पस गेट, जिल्ला प्रशासन कार्यालय गेट, चिप्लेटी बसपार्क, उपल्लाचौरको एटीएम चोक, बागलुङ बसपार्क, जिल्लाको प्रवेशद्वार मालढुंगा, कालिका भगवती मन्दिर गेट, ट्राफिक चोकका क्षेत्रमा अहिले बत्ती जडान गरिएको छ । 

जडान गरिएका बत्ती १३ फिटसम्म अग्लो रहेको र एउटामा २ सय वाटका ६ वटासम्म बल्व जडान गरिएको प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासेनीले बताए । एक स्थानमा जडान गरिएको सडक बत्तीले २ सय मिटरसम्म उज्यालो हुने उनले बताए ।

बत्ती जडान पछि लाग्ने मासिक विद्युत्त महशुल भुक्तानी र यसको सुरक्षाको लागि स्थानीय टोल सुधार समितिसँग समन्वय गरिने नगरपालिकाले जनाएको छ । आगामी दिनमा बागलुङका अन्य स्थानमा पनि बत्ती जडान गर्ने नगरपालिकाले तयारी गरेको छ । 

प्रदीप

Link copied successfully