लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियारले असार २०८२ मै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोमबार फेरि छुट्टै २ करोड ५८ लाख ६४ हजार बिगो दाबी गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा परेको हो ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Case filed against accounting officer Poudel for money laundering

What you should know

काठमाडौँ — सार्वजनिक ओहोदाको दुरुपयोग गरी आर्जित सम्पत्ति आर्जन गरेको आरोपमा गण्डकी प्रदेश सरकारका निलम्बित लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सोमबार २ करोड ५८ लाख ६४ हजार ३ सय २४ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी  गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तहगत रुपमा विभिन्न माध्यमबाट शुद्धीकरण गरेको आरोपमा मतियार बनाएर अख्तियारले पत्नी हुमाकुमारी उपाध्याय तथा आफन्तहरू जमुनाकुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले हुमाकुमारीलाई २ करोड २३ लाख, जमुनाकुमारीलाई १ करोड ६३ लाख ६ हजार तथा हरिप्रसाद र शान्ति दराईविरुद्बिध एकमुष्ट १ करोड ३८ लाख बिगो कायम गरी मुख्य प्रतिवादीलाई हुने सजायको आधा मागदाबी गरी मुद्दा दायर गरेको हो । 

गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय,  पोखरा, कास्कीका लेखा अधिकृत पौडेलविरुद्ध अख्तियारले २५ असार २०८२ मै ६ करोड २६ लाख ९३ हजार १ सय २९ रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मुद्दापछि पौडेल हाल निलम्बनमा छन् । उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । भ्रष्टाचार मुद्दा दायरलगत्तै अख्तियारले गैरकानुनी रुपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको कसुरमा अख्तियारले छुट्टै अनुसन्धान गरेको थियो । सोही अनुसन्धानलाई टुंग्याउँदै सोमबार ५ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।

‘झलक शर्मा पौडेलले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिमध्ये निज र निजको श्रीमती हुमाकुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा मुद्दती निक्षेप तथा निक्षेप खातामा रहेको रकम २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको देखिएको, पौडेलले आफूले गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने, छल्ने उद्देश्यले सम्पत्तिको स्रोत पुष्टि गर्ने प्रयोजनका लागि कुनै पनि ऋण सापटी नलिई ऋण सापटी लिएको र सोही बमोजिम कागजात तयार गरी विभिन्न व्यक्तिहरूलाई ऋण सापटी फिर्ता गरेको भनी बैंक तथा वित्तीय संस्थाबाट कारोबार गरेको देखिए पनि निजले फिर्ता गरेको भनी दाबी गरेको विभिन्न तहको कारोबारहरूको जालोमार्फत सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोवार लुकाउने, छल्ने, बदल्ने समेतका कार्य गरे/गराएको हुँदा पुष्टि हुन आयो,’ अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ ।

स्रोत नखुलेको आर्जनको रकममा ब्याज बापत बढे/बढाएको ७ लाख ३२ हजार ८६२ रुपैयाँलाई पनि अख्तियारले गैरकानुनी सम्पत्तिमै जोडेको छ । स्रोत लुकाउने कलुषित मनसाय राखि कसुरजन्य कार्यको सजाय छल्ने बदनियतपूर्ण मनसायका साथ पौडेलले त्यसरी प्राप्त गरेको सम्पत्तिको अधिकार बदल्ने र स्वामित्व परिवर्तन गरेको देखिएको आरोपपत्रमा उल्लेख छ । आरोपित पौडेलको बैंक खातामा रहेको १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ जफत गर्न पनि मागदाबी लिएको छ ।

कान्तिपुर

Link copied successfully