पत्रकारिता गर्दा न्यूनतम् मूल्य र मान्यता पालना गर्न नसके त्यो हिरासतमा राखेको अभियुक्तजस्तो हुने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको टिप्पणी ।
What you should know
बागलुङ — पत्रकारितामा कस्तो खालको भाषा प्रयोग गर्ने– शिष्ट कि आक्रामक ? पछिल्लो समय यो प्रश्न धेरै ठाउँमा उठेको छ । आक्रामक शैलीकै कारण अन्तर्वार्ता दिन आएका पाहुना सिधै उठेर हिँडेका समेत घटना धेरै छन् । के त्यो पत्रकारिताको धर्ममा पर्छ ?
यस्तै प्रश्न शनिबार ‘बागलुङ मिडिया मेला २०८२’ मा पत्रकारिता क्षेत्रका अगुवामाझ तेर्सियो । पत्रकार भाषा शर्माले यो प्रश्न राख्दा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आक्रामक शैली पत्रकारिताको धर्मभित्र नपर्ने बताए ।
झाले आक्रामक शैलीले प्रश्न सोध्ने र पाहुनालाई जवाफ दिन बाध्य बनाउने धर्म पत्रकारको नभएको सुनाए । त्यस्तो पत्रकारिता धेरै समय नटिक्नेसमेत उनको भनाइ थियो । कतिपय आक्रामक शैली अपनाएका पत्रकारले पेसा नै छाडेको उनको तर्क थियो । ‘आक्रामक रूपमा प्रस्तुत भएका धेरै साथीहरू छिट्टै पेसा छाडेर अन्यत्र जानुभयो,’ झाले भने, ‘आक्रामक कन्टेन्ट लेख्नेहरू जीवन्त भेटिन्छन् ।’ लेखन शैली भने तिखो बन्नुपर्ने उनले औंल्याए ।
पाको पुस्ताको पत्रकारदेखि युवासम्मले कन्टेन्टमा मिहिनेत गरेर तिखो प्रस्तुति दिन सकिने उनले बताए । पत्रकारिता गर्दा न्यूनतम् मूल्य र मान्यता पालना गर्न नसके त्यो हिरासतमा राखेको अभियुक्तजस्तो हुने समेत झाको टिप्पणी थियो । ‘लोकतन्त्रको आधार नै प्रेस स्वतन्त्रता हो, स्वतन्त्र प्रेस चाहने पत्रकार आक्रामक बन्न सक्दैन,’ झाले भने, ‘खोजी पत्रकारिता गरेर कमजोरी भने मज्जाले लेख्न सकिन्छ ।’ शालिन ढंग र बौद्धिक रूपमा लेख्ने पत्रकार बन्न उनले सुझाए ।
पत्रकार युवराज कँडेलले भने शैलीलाई लिएर भन्दा विषय के उठाएको हो भन्ने कुरा महत्त्वको रूपमा लिनुपर्ने बताए । ‘भ्रष्टाचार भएको छ, अनियमितता भएको छ भने उनीहरूलाई केही कडा प्रश्न सोध्नैपर्छ,’ कँडेलले भने, ‘सामान्य प्रश्न गर्दा उनीहरूले नै पत्रकारलाई पेल्ने अवस्था आउँछ ।’ सामान्य समाचारले देशमा सुशासन ल्याउन नसकिने, भ्रष्टाचार मौलाउनेसमेत उनको भनाइ थियो ।
कँडेलले आफैँले संचालन गरेको ‘सिधा कुरा’मा अपनाएको शैलीलाई आफ्नो मौलिकपन भएको दाबी गरे । ‘मेरो संचारमाध्यम नै सिधै सोध्ने हो, यो नै मेरो र आजका युवाको चाहनाको शैली हो,’ कँडेलले भने, ‘सवाल–जवाफहरू कडा नै चाहिन्छ ।’ कतिपय सवाल सिधा नसोधे वास्तविकतामा पुग्नै नसकिने आफ्नो अनुभव रहेको उनले सुनाए ।
अर्का पत्रकार शुभशंकर कँडेलले भने आक्रामक र नरमभन्दा पनि पत्रकारले वास्तविकता खोज्नुपर्ने बताए । सत्य खोज्दा भेटिएको कुरा जुनसुकै शैलीमा प्रस्तुत गरे पनि हुने उनको भनाइ छ । उनले पत्रकारिताका सिद्धान्त भने बिर्सन नहुने सम्झाए । कँडेलद्वय बागलुङबाट पत्रकारिता गरेर काठमाडौं पुगेका हुन् ।
मेलामा ‘गिद्दे प्रेसदेखि एआईसम्म’, ‘बागलुङको विकास कृषि उद्यम कि पर्यटन ?’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकार कि जिम्मेवारी ?’ ‘न्यू मिडिया, नाम पनि दाम पनि’, ‘मोफसलका मिडिया सवल कि संकटमा ?’ ‘जननी जन्मभूमिश्च’, ‘अन्योल कि अनुभूति ः कहाँ छ स्थानीय सरकार ?’, ‘मिडियामा सिमान्त आवाज’ र ‘पत्रकार महासंघ अब कस्तो बनाउने ? कसरी बनाउने ?’ जस्ता बिषयमा गहन छलफल भएको थियो ।
मेलामा लाइभ पेन्टिङ, फोटो प्रदर्शनी र परम्परागत मिडिया सामग्री प्रदर्शन गरिएको थियो । साथै विद्यालय स्तरीय भित्तेपत्रिका लेखन प्रतियोगिता गरेर विद्यार्थीलाई पुरस्कार दिइएको महासंघका अध्यक्ष राम थापाले बताए ।
