यस वर्ष लमजुङमा २ हजार ८ सय १७ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिवाकर शर्माले बताए ।
लमजुङ — लमजुङमा यस वर्ष १३ परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष १६ वटा रहेकामा यस वर्ष सहरबजारका ४ केन्द्र कटौती गरेर क्व्होलासोथारमा एउटा थप गरिएको हो । यस वर्ष लमजुङमा २ हजार ८ सय १७ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिवाकर शर्माले बताए ।
नियमितअन्तर्गत साधारणतर्फ २ हजार १ सय ५४ र प्राविधिकतर्फ १ सय २५ जनाका साथै ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ ४ सय ९६ र प्राविधिकतर्फ ४२ जना एसईईमा सहभागी हुँदैछन् ।
यस वर्ष बेंसीसहरस्थित भूपू सैनिक आवासीय मावि, बेंसीसहर उदिपुरस्थित जनकल्याण मावि, राइनासस्थित बीरभक्ति मावि र मध्यनेपालको कुश्माकर मावि परीक्षा केन्द्र हटाइएको छ । क्होलासाोथार गाउँपालिकाको मालिङस्थित शारदा मावि थप गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बेंसीसहरमा तीन, सुन्दरबजारमा तीन, मध्यनेपाल र राइनासमा दुई/दुईवटा, दोर्दी, मर्स्याङ्दी र क्व्होलासोथार गाउँपालिकामा एक/एक परीक्षा केन्द्र तोकिएका छन् । दूधपोखरी गाउँपालिकामा भने यस वर्ष पनि परीक्षा केन्द्र कायम गरिएको छैन ।
