बागलुङको द क्लिफमा दुईजनाले संयुक्त बञ्जी गर्न पाउने सुविधा थपिएपछि पर्यटकको आकर्षण बढेको छ ।
What you should know
बागलुङ — धरानबाट आएका मनिष श्रेष्ठले आफ्ना साथीहरुसँग मिलेर जोडी बञ्जी गरेर मज्जा लिए । एक एक जनाले मात्रै गर्न मिल्ने बञ्जीलाई ‘द क्लिफ’ले दुई जनाले संयुक्त गर्न मिल्ने बनाएपछि श्रेष्ठले साथीसँगै बञ्जी गरेका हुन् ।यसअघि पनि बञ्जी गरेका श्रेष्ठले यो पटक मुस्ताङको कोरला घुमेर फर्केपछि जोडी बञ्जी गरेको सुनाए ।
अनलाइन मार्फट टिकट काटेर आएका श्रेष्ठले क्लिफको वेबसाइट हेरेर थप जानकारी पाएको बताए । द क्लिफले घुम्न आएका युगल जोडीको चाहना अनुसार नै कपल बन्जीको व्यवस्थापन गरेको प्रमुख कार्यकारी अधिकृत ईश्वरध्वज कार्कीले जानकारी दिए ।
दर्जन बढी साहसिक खेल राखेको ‘द क्लिफ’ले कालीगण्डकी नदीमाथि संचालन गरेको बञ्जीमा दम्पती वा दुई जना साथीले सँगै खेल्न पाउने बनाएको हो । कपल बञ्जीले धेरै युवामा आर्कषण थपेको छ । ‘हनिमुन मनाउन आएका जोडीदेखि मिल्ने साथीहरुको रोजाइमा कपल बञ्जी परेको छ,’ कार्कीले भने, ‘विवाहको मौषम, समूहमा घुम्न आउनेकालागि यो बढी उपयोगी देखिएको छ ।’ यो खेलले पर्यटन प्रवर्द्धनमा सुधार ल्याएको उनले बताए ।
गत दसैंतिहारको अवसरमा सुरु भएको यो सुविधाले आर्कषण बढाएको छ । यहाँ आएका पर्यटकले सँगै बञ्जी गर्न रुचाउने गरेका छन् । द क्लिफ र बञ्जीबारे अनलाइन, समाचार र टेलिभिजनबाट देखेकाहरुले जोडी मिलेर बञ्जी गर्न पहिलेनै बुकिङ गर्दै आएको कार्कीले बताए ।
द क्लिफले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा बञ्जीसँगै स्विङ, स्काइ साइकल, स्काइ चियर, रक क्लाइम्बिङ जस्ता धेरै साहसिक खेल संचालन गरेको छ । ती खेलले पर्यटकलाई आर्कर्षित गरेको छ । पर्यटकको चाप बढेकोले दैनिक खेलमा भ्याइनभ्याइ हुने गर्छ । निर्वाचनताका सुनसान जस्तै भएकोमा फेरि पर्यटक बढेका छन् ।
कार्कीका अनुसार यहाँ दैनिक १ सयदेखि १ सय ५० जनाले बञ्जी गर्दै आएका छन् । सोही संख्यामा अन्य साहसिक खेलमा सहभागी बन्छन् भने सहायक खेल अर्थात झट्का हान्ने पिङ, रक क्लाइमिङ, स्काई चियर जस्ता खेलमा बञ्जीकालागि आएकाहरुको परिवारका अन्य सदस्य पनि रमाउने गर्छन् । यहाँ दैनिक दुई हजारसम्म पर्यटक भित्रिने गरेका छन् ।
दैनिक खेलबाहेक घुमेर बास बस्ने पर्यटक पनि उत्तिकै आउने गरेका छन् । दैनिक एक सयबढी पाहुना क्लिफको आफ्नै होटलमा बास बस्ने गरेको द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए । पछिल्लो समय यहाँ पारिवारिक घुमफिरकालागि आउनेहरु पनि बढेका छन् । द क्लिफले हालै सुरु गरेको ‘मेगाट्रेल’ ले पारिवारिक घुमाइलाई थप साथ दिएको छ । काठमाडौंबाट आएका नाशिस शाहीले द क्लिफले पारिवारिक सुख दिएको बताए ।
मुक्तिनाथ हिँडेका भारतीय पर्यटक र मुस्ताङ घुम्ने तेस्रो मुलुकमा पर्यटकलाई पनि द क्लिफ आर्कषक गन्तव्य बनेको छ । भारतको विहारबाट आएका हेमन्त शाहीले पहाडमा पनि यति रमाइलो स्थल बनेको देख्दा अनौठो लागेको बताए । द क्लिफका अध्यक्ष राजु कार्कीका अनुसार ४ वटा स्विट रुममा दैनिक १० जनासम्म बस्न सक्छन् । निजी स्विमिङ पुलसहितको लजले धेरैको आर्कषण थपेको छ । एकल बञ्जीकालागि ९ हजार तिर्ने ग्राहकले कपल बञ्जी १५ हजारमा पाउने गर्छन् । यहाँ सामूहिक स्विमिङ पुल पनि निर्माणाधीन छ ।
