आइतबार दोस्रो सेमिफाइनल खेलका विजेतासँग घले हार्भेस्टिङले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
बागलुङ — नेपाल पुलिस क्लबका खेलाडीको बाहुल्यता रहेको घले हार्भेस्टिङ अष्ट्रेलिया बागलुङमा आयोजित चैतेदसैं मेलाको खुला पुरुष भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनल खेलमा गौंडाकोट युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै घले हार्भेस्टिङ फाइनलमा पुगेको हो । हार्बेस्टिङको कप्तान राष्ट्रिय खेलाडी रेशम छन्त्याल छन् ।
घले हार्भेस्टिङले फाइनल प्रवेशकालागि शनिबार २५–११, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले जित्दै फाइनल यात्रा तय गरेको हो । आइतबार दोस्रो सेमिफाइनल खेलका विजेतासँग घले हार्भेस्टिङले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलमा सिद्धार्थ चश्मा घर बागलुङ र आदित्य होल्डिङ तित्याङबीच प्रतिस्पर्धा हुनेछ । सिद्धार्थ चश्मा घरले गण्डकी प्रदेशको सेट टोली उतारेको छ भने आदित्य होल्डिङ तित्याङमा एपीएफका खेलाडी सहभागी छन् । सेमिफाइनलमा पराजित टोलीले गौंडाकोट भलिबलसँग तेस्रो स्थानका लागि खेल्नेछ ।
लिककम नकआउट प्रतियोगितामा खेलाइएको खेल जित्नेले ३ लाख नगद पुरस्कार पाउने आयोजक कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । खेलमा ८ टिम सहभागी थिए ।
आइतबारै महिलातर्फ शान्ता मावि र इलाइट भलिबलबीच उपाधि भिडन्त हुने भएको छ । महिला भलिबलतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।
