कालिका कप महिला भलिबल उपाधि इलाइट एकेडेमी पोखरालाई

आइतबार भएको फाइनल खेलमा इलाइटले शान्ता मावि पोखरालाई सोझो ३–० सेटमा पराजित गरेको हो ।

चैत्र १५, २०८२

प्रकाश बराल

Elite Academy Pokhara wins Kalika Cup women's volleyball title

बागलुङ — चैत्राष्टमी मेलाको अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको खुला महिला भलिबल प्रतियोगिताको उपाधि इलाइट भलिबल एकेडेमी पोखराले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा इलाइटले शान्ता मावि पोखरालाई सोझो ३–० सेटमा पराजित गरेको हो ।

बागलुङ कालिका उद्यानमा भएको खेलमा इलाइटले २५–२३, २५–२२, २५–२३ को सेटमा खेल हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा शान्ता माविले परिणाम भने निकाल्न नसकेको हो । प्रथम भएर इलाइटले १ लाख रुपैयाँ नगद पाएको छ । खेल जित्न नसकेर शान्ता माबिले दोस्रो भएर ५० हजार रुपैयाँमा चित्त बुझायो । 

फाइनल प्रवेशकालागि शान्ता माविले सृष्टि फर्निचर धौलागिरि वीरेन्द्र माविलाई २५–१५, २६–२४, ११–२५, २२–२५ र १५–१० ले जित निकालेको थियो । इलाइट भलिबल एकेडेमीले भने जैमिनी नगरपालिकालाई ३–० सेटले जितेर फाइनल प्रवेश पाएको थियो । उसले २५–१६, २५–११ र २५–२१ को अंकमा जित निकालेर फाइनल यात्रा तय गरेको थियो । गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार खेलमा उत्कृष्ठ खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार समेत पाउनेछन् ।

खुला पुरुष भलिबलकालागि पनि आइतबार खेल हुँदैछ । फाइनलकालागि घले हार्भेस्टिङ अष्ट्रेलिया र सिद्धार्थ चस्माघर बीच खेल हुने छ । पुरुषतर्फ भने प्रथम हुनेले ३ लाख नगद पुरस्कार पाउनेछन् ।

आइतबार बिहान भएको सेमिफाइनलमा सिद्धार्थ चस्माघरले तित्याङ खेलकुद विकास समितिलाई २५–१९, २५–२३ र २५–१७ अंकले पराजित गरेर फाइनलमा यात्रा तय गरेको हो । मौषमले साथ दिएमा आइतबार अबेर पुरुष भलिबलको फाइनल खेल हुने आयोजकले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully