नदी दोहन गर्नेलाई कारबाही सिफारिस

आईईई प्रतिवेदनमा १ दशमलव २० मिटरसम्म ढुंगा र बालुवा उत्खनन गर्ने उल्लेख छ । तर ठेकेदारहरूले कालीगण्डकी नदीमा एस्काभेटर लगाएर ५ मिटरसम्मका खाडल बनाएका छन् ।

चैत्र ११, २०८२

प्रकाश बराल

Action recommended against those exploiting the river

What you should know

बागलुङ — कालीगण्डकी नदीमा तोकेभन्दा बढी दोहन भएको जिल्लास्तरीय अनुगमन समितिले ठहर गरेको छ । आईईई प्रतिवेदनले तोकेभन्दा बढी नदीजन्य बस्तु दोहन गरेर नदी कुरूप बनाएको उक्त समितिले ठहर गरी दोहन गर्नेलाई कारबाही सिफारिससमेत गरेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । 

उक्त समितिले अनुगमन गरेको स्थानमा थप सामग्री निकाल्न रोक लगाउन बागलुङ नगरपालिकालाई पत्राचारसमेत गरेको छ । दश दिनअघि जिल्ला समन्वय समिति, प्रशासन, प्रहरी, नगरपालिकासहितका सरोकारवाला निकायले छड्के अनुगमन गर्दा बागलुङ नगरपालिका–१३ को कालाखोलामा कालीगण्डकीको चरम दोहन भएको भेट्टाएको थियो । प्राविधिक सहितको टोलीले अध्ययन गर्दा नदीभित्रै ५ मिटरसम्मका खाडल बनाएर नदी कुरूप बनाएको भेट्टाएको हो ।

आईईई प्रतिवेदनमा १ दशमलव २० मिटरसम्म ढुंगा र बालुवा उत्खनन गर्ने उल्लेख छ । तर ठेकेदारहरूले कालीगण्डकी नदीमा एस्काभेटर लगाएर ५ मिटरसम्मका खाडल बनाएका छन् । कालाखोलामा प्रतीक निर्माण सेवाले अत्यधिक दोहन गरेकाले तत्काल रोक्न पत्राचार गरिएको छ भने उक्त कम्पनीले थुपारेको बालुवा घाटगादी गरेर लिलाम गर्न भनिएको छ ।

कालीगण्डकीमा अत्यधिक दोहन भएको उजुरी परेपछि गृह मन्त्रालयले पनि तत्काल रोकेर अनुसन्धान गर्न प्रशासनलाई आग्रह गरेको थियो । उक्त पत्रसमेत आएकाले केही दिनमै दोहन गर्ने अन्य कम्पनीहरूलाई समेत खोजी गरेर कारबाही गरिने समितिका पदाधिकारीले बताए ।

ठेकेदारहरूले नदीभित्रै एस्काभेटर लगाएर प्राकृतिक सौन्दर्यलाई कुरूप बनाएका छन् । प्रशासनको आँखा छलेर नियमित दोहन भएको भेटिएको हो । ‘हामीले अन्य स्थानको पनि अध्ययन गरिरहेका छौं, दोहन गर्नेलाई कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने, ‘अत्यावश्यक निर्माण सामग्री बजारमा अभाव हुन पनि नदिने गरी व्यवस्थापन भइरहेको छ ।’ 

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माले अनुगमन समितिको पत्र आएको बताए । उक्त पत्रअनुसार प्रतीक निर्माण सेवासहित नदी किनारमा जथाभावी गरेकाहरूलाई उत्खनन रोक्न खबर गरिएको बताए । उनले अनुगमन समितिको प्रतिवेदनका आधारमा घाटगादी गरेको बालुवा बिक्रीबाट राजस्वमा जम्मा गरिनेसमेत बताए । कालाखोलामा नगरपालिकाले ३४ लाख रुपैयाँमा ठेक्का लगाएकामा तोकेभन्दा चार–पाँच गुणा बढी उत्खनन गरेको, नदीको बहाव बिगारेको आरोपसमेत लागेको छ । 

यस्ता प्रकारका नदी दोहनले प्राकृतिक प्रकोप निम्तिने खतरा बढेकाले तत्काल अनुगमन गरेर दोहन रोक्न लगाइएको आचार्यको भनाइ छ । नदी दोहन गरेर धार परिवर्तन गर्दा वर्षातमा नदीले अर्कोतर्फको जमिन कटान गरेर बाढीपहिरो निम्तिने खतरा हुने इन्जिनियर सोबिन घर्तीले बताए । बागलुङ नगरपालिका–१३ को कालाखोलामा प्रतीक निर्माण सेवाले अत्यधिक दोहन गरेको भेटिएको हो भने बानपा–१ को मालढुंगामा विधि निर्माण सेवाले पनि दोहन गरेको भेटिएको छ । अन्य स्थानमा पनि अनुगमन भैरहेको र सबैको प्रतिवेदन आएपछि सामूहिक रूपमा कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए । धार्मिक महत्त्वको भएकाले कालीगण्डकी दोहन रोक्न पटक–पटक संरक्षणकर्मीले समेत आवाज उठाउने गरेका छन् । ठेक्का लागेको स्थानमा ठेकेदारले मापदण्डविपरीत जथाभावी नदी दोहन गर्दै सामग्री निकालेका छन् भने ठेक्का नलागेका स्थानमा पनि रातारात सामग्री चोरी हुने गरेको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully