बागलुङमा क्षयरोग मुक्त पालिका अभियान संचालन

सम्भावित संक्रमित पत्ता नलाग्दा संक्रमणदर बढ्दो ।

चैत्र १०, २०८२

प्रकाश बराल

Tuberculosis-free municipality campaign launched in Baglung

What you should know

बागलुङ — अत्यधिक संक्रमित देखिएका बागलुङका चार स्थानीय तहलाई क्षयरोग मुक्त पालिका बनाउने अभियान संचालन गरिएको छ । 

बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडीगाड गाउँपालिका र गलकोट नगरपालिकामा क्षयरोग मुक्त अभियान चलाइएको हो । 

ती पालिकामा धेरै संक्रमित भेटिने गरेका छन् भने जिल्लाभरि नै संक्रमण दर उच्च छ । खोजी अभियान, औषधि उपचार र रोकथामका अभियानमार्फत क्षयरोग नियन्त्रण प्रयास भए पनि अझै सोचेझैं सफलता भने नमिलेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । 

संक्रमणको दर पत्ता लगाएर उनीहरूलाई उपचारको दायरामा ल्याउने प्रयास भए पनि अझै कतिपय सम्भावित संक्रमित उपचारको दायरामा ल्याउन नसकिँदा संक्रमण बढिरहेको उनले बताए । ‘हामीले प्रति १ लाख जनसंख्यामा अहिलेसम्म १ सय ११ जनामात्रै पत्ता लगाउन सकेका छौं,’ घिमिरेले भने, ‘संक्रमण भने प्रति १ लाखमा २ सय ३८ जनामा भएको अनुमान छ ।’ उक्त अनुमान अनुसार सूक्ष्म अध्ययन गरेर सबैलाई उपचारको दायरामा ल्याउन सकियो भने मात्र रोग नियन्त्रणमा ल्याउन सकिने उनले बताए । 

बागलुङका सबै पालिकाका स्वास्थ्य संस्थामा क्षयरोगको औषधि दिने व्यवस्था गरिएको छ भने बुर्तिवाङ अस्पताल र धौलागिरि अस्पतालमा जिन एस्क्पोट मेसिन राखेर क्षयरोगको परीक्षण गरिन्छ । क्षयरोगले बर्सेनि सयौं मानिसको ज्यान जाने गरेको छ । अन्य रोग भएकाहरूमा क्षयरोग देखियो भने मृत्युदर बढ्छ । तसर्थ, स्वास्थ्यकर्मीहरूले हरेक बिरामीलाई क्षयरोग परीक्षण गर्न लगाउने गरेका छन् । 

श्वास प्रश्वासबाट सर्ने क्षयरोग फोक्सो र शरीरका सबै अंगमा पनि लाग्न सक्ने जनस्वास्थ्य प्रशासक प्रवीण शर्माले जानकारी दिए । ‘कोरोना फैलिएको समयमा हामी बढी सचेत भयौं, तर क्षयरोग पनि श्वासप्रश्वासबाटै सर्छ भन्ने आमनागरिकले नबुझ्दा संक्रमण बढिरहेको छ,’ उनले भने, ‘संक्रामक रोगहरू फैलन नदिनका लागि आइसोलेसनहरू बढाउने र नियमित उपचारको दायरामा पुग्नुपर्छ ।’ खोजी अभियानलाई तीव्र बनाइएका पालिकामा घरघरमा पुगेर संक्रमितलाई उपचारको दायरामा ल्याइएको छ । संक्रमित भेटिएका घरका बालबालिकालाई समेत तीन महिनासम्म औषधि सेवन गराइएको उनले बताए । 

कार्यालयको तथ्यांक अनुसार बागलुङमा मात्रै गत आर्थिक वर्ष २०८१/०८२ मा १ सय ३ जना महिला र १ सय ६१ पुरुष गरी २ सय ६४ जनामा क्षयरोग पुष्टि भएको थियो । तीमध्ये १९ जनाको मृत्यु भएको थियो । चालु वर्षको पहिलो ८ महिनामा भने यो संख्या १ सय ४४ जना छ । ८६ जना पुरुष र ५८ जना महिलामा संक्रमण हुँदा आठ महिनामा १८ जनाको मृत्यु भइसकेको हो । चालु वर्षमा सघन रूपमा खोजी गरिएका पालिकाहरूमै बढी संक्रमित भेटिएका हुन् । 

क्षयरोगबारे आमनागरिकमा सचेतना फैलाएर समयमा उपचारको दायरामा ल्याउन सकेमा निको हुने घिमिरेले बताए । तर क्षयरोग भएकाहरूलाई अन्य संक्रमण बढी हुने भएकाले मृत्युदर बढ्ने गरेको हो । एचआईभी संक्रमितलाई समेत क्षयरोग संक्रमण भएमा मृत्युको सम्भावना बढी हुने गरेको छ भने फोस्सो वा शरीरका अन्य संवेदनशील अंगका रोगीलाई पनि क्षयरोगबाट बचाउनुपर्ने उनले बताए । 

माइक्रोव्याक्टेरियम ट्युवर क्लोसिस नामक व्याक्टेरियाबाट मानिसमा क्षयरोग सर्ने गरेको पाइन्छ । यो संक्रमण नेपालका ५० प्रतिशत बढी नागरिकमा रहेको अध्ययनले देखाएको घिमिरेले जानकारी दिए । स्वस्थ मानिसमा त्यो संक्रमण सुशुप्त रहने र कमजोर वा अन्य रोग लाग्दा सक्रिय बनेर मृत्युसमेत हुने गरेको हो । विश्वमा झण्डै ८ दशमलव २ मिलियन नागरिकमा क्षयरोगका व्याक्टेरिया भएको पत्ता लागेको छ भने झण्डै २ दशमलव ६ मिलियनमा संक्रमण भए पनि पत्ता लागिनसकेकाले उनीहरूबाट पनि संक्रमण फैलने खतरा रहेको तथ्यांक छ । संक्रमण पत्ता लागेर औषधि सेवन गर्नेबाट भने रोग सर्दैन । संक्रमित व्यक्तिले गाउँघरमा भए १० देखि १५ जना र सहरी क्षेत्रमा २५ जनासम्मलाई क्षयरोग सार्न सक्ने अध्ययनले देखाएको छ । नेपाल सरकारले हरेक वर्ष मार्च २४ लाई विश्व क्षयरोग दिवसका रूपमा मनाउने गरेको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully