ताराखोलाका उत्पादकलाई बजारकै चिन्ता

कृषिमा आत्मनिर्भर बन्ने सपना बोकेका ताराखोलाका किसानले किवीदेखि आलुसम्म दर्जनौं बस्तु उत्पादन गरे पनि बजार नपाउँदा निराश भइरहेका छन् ।

चैत्र ९, २०८२

प्रकाश बराल

Tarakhola producers worried about the market

What you should know

बागलुङ — ताराखोला गाउँपालिका–३ हिलस्थित पधेँराखोला अस्तुरी कृषि समूहमा आबद्ध भएका किसानले चालु आर्थिक वर्षमा १ हजार लिटर बढी किवीको जुस उत्पादन गरेर बिक्री गरे । बजार पाएमा आगामी वर्ष दोब्बर उत्पादन गर्न सक्ने समूहकी सदस्य देउकुमारी रोकाले बताइन् । ‘गाउँमा उत्पादन बढाउन सकिन्छ, बजार पाउन गाह्रो छ,’ रोकाले भनिन्, ‘हामीलाई बजारको व्यवस्था गरिदिए घरघरमै उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्थ्यो ।’

किवीको व्यवसायिकीकरण गर्न सके युवालाई गाउँमै रोजगारी दिन सक्ने सम्भावना देखेर गाउँपालिकाले लगानी बढाएको अध्यक्ष धनबहादुर विक बताउँछन् । आधा लिटर र एक चौथाई लिटरका बोतलमा जुस बनाएर किसानले बजार खोजिरहेका छन् । कृषि उत्पादन बठाउर घरघरमा रोजगारी बनाउन सकिने सम्भावना रहेको ताराखोलामा दर्जनौं उत्पादन भइरहेका छन् । तर यहाँका सामग्रीले बजार पाउन सकेको छैन । 

ताराखोला गाउँपालिका–४ की गंगा रोका अल्लोको डोरीबाट आर्कषक सामग्री बनाउँछिन् । उनी अल्लोका सामग्रीबारे युवा पुस्तालाई तालिम पनि दिन्छिन् । २६ वर्षदेखिको उनको दैनिकी अल्लो बुनेर बितेको छ । उनले जंगलमा पाइने अल्लो ल्याएर प्रशोधन गरेपछि धागो बनाउने गर्छिन् । उनको यो अभियानमा वडा ५ करिमेलाकी विष्णु रोका पनि छन् ।

उनीहरुले वर्सेनि अल्लोका सामग्री बनाएर लाखौंको कारोबार गरिरहेका छन् । धसमर भन्ने स्थानमा उनीहरुको संकलन केन्द्र छ । त्यहाँ संकलन गरेको अल्लोलाई धागो कात्ने, कपडा बुन्ने काममा धेरै महिलाहरु सहभागी हुने गरेका छन् । कसैले केन्द्रमा आएर काम गर्छन् भने कतिपयले घरघरमै कपडा बुनिरहेको भेटिन्छन्। विभिन्न स्थानमा तालिमकालागि प्रशिक्षकको रुपमा पनि उनीहरुलाई निम्तो आउँछ । जैमिनी नगरपालिका, बडिगाड गाउँपालिकालगायतका स्थानमा पुगेर अल्लो उद्यमी तयार गरेको गंगाले बताइन् । ताराखोलामा अल्लोको कपडा बुन्ने मात्रै ५० जना बढी छन् । 

वडा २ को अर्गलमा ढाकाको सामान बनाउनेहरु छन् । चार वर्षअघि बागलुङ नगरपालिका–१० की यामकुमारी थापाले ताराखोला पुगेर समूहलाई तालिम दिएपछि यहाँका २० महिलाले नियमित ढाकाको सामग्री बनाइरहेका हुन् । ढाकाको कपडाको प्रयोग सहरी क्षेत्रमा पनि बढ्दै गएको छ । आमा समूह, सहकारी संस्था र विभिन्न संघसंस्थाका प्रतिनिधिले ढाकाको साडी र सललाई ड्रेस बनाएर लगाउने गरेका छन् । तर पनि उनीहरुलाई बजारको भने समस्या छ ।

आधुनिक र मेसिनका सामानले बजार ओगट्दा हातले बुनेका सामग्रीले बजारमा सहजै प्रतिस्पर्धा गर्न सक्दैनन्। त्यसैले आफ्ना सामग्री सहजै बिक्री गर्न नसकेर उनीहरु निरास छन् । वडा ५ का १० युवा नेपाली हाते कागज बनाउन व्यस्त छन् । उनीहरुले आफ्नो उत्पादलन सहर लैजान खोजेका छन् । वडा १ को जनप्रेम माविमा त विद्यार्थीलाई पनि धागो कात्ने, धागोबाट सामग्री बनाउने, हलोजुवा र बाँसका सामग्री बनाउन पनि सिकाइन्छ । विद्यालय पढेर सकिँदा उनीहरुले सीप सिकेर निस्केकोले बेरोजगार बस्न नपर्ने प्रधानाध्यापक नइन्द्र गुरुङले बताए । 

गाउँपालिका आलु र अलैंची जोनमा सूचीकृत छ । त्यसैले अधिकांश किसान आलु उत्पादनमा जोडिएका छन् । ‘यहाँका हरेक घरघरमा १ सय देखि २ सय क्विन्टलसम्म आलु फलाउने किसान छन्,’ स्थानीय अमृत घर्तीमगरले भने, ‘घरमा खानकालागि मात्र लगाउनेहरु पनि व्यवसायिक बन्दैछन् ।’

ताराखोलाको आलु बागलुङसहित पोखरा, बुटवल र गुल्मीसम्म प्रख्यात छ । गाउँपालिकाको कृषि शाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ताराखोलाभित्र ३ हजार २ सय ९७ मेट्रिकटन आलु फलेको थियो । यहाँको ३ सय हेक्टरमा व्यवसायिक अलैंची उत्पादन भइरहेको छ । ५० जना बढी अलैंची उत्पादनमा पूर्ण रोजगार बनेका छन् । अन्यले घरको अन्य कामसँगै अलैंची उत्पादन गरिरहेका छन् । यी उत्पादनको बजारीकरणकालागि भने यहाँका किसानलाई स्तरीय सडक र खरिदको ग्यारेन्टी गरिदिने विश्वासिलो व्यवसायीको खाँचो छ ।

रिजालचोकदेखि ताराखोला जाने सडक वर्षौंदेखि जीर्ण छ । यो सडक स्तरीय बनाउने चुनौतीसँगै किसानको सामानलाई बजारीकरण गर्ने चुनौती छ । ‘निर्वाचनमा भोट माग्न धेरै आएका छन्, तर हाम्रा उत्पादनको बजारीकरणमा कसले साथ दिन्छ त्यो हेर्न बाँकी छ,’ रोकाले भनिन्, ‘हामी मिहनेत गर्न तयार छौं, तर बजार खोजीदिने काम राजनीतिक नेतृत्वले गर्नुपर्छ ।’ यहाँका सयौं किसानले व्यवसायिक उत्पादन गरिरहेका छन् । बजारकालागि भने उनीहरुले नियमित बनाउन नसकेको बताए ।

ताराखोला–५ का किसानले कोदो र गहुँको पिठोबाट झिलिंगा बनाएर बेच्छन् । मगर समुदायको चाडपर्वमा चाहिने भांग्रो बुन्ने काममा पनि स्थानीय सक्रिय छन् । ताराखोला गाउँपालिकाभित्र २२ वटा ढुंगा उद्योग छन् । आफ्नै बारीमा ढुंगा काटेर टायलको रुपमा उपयोग गर्ने गरी सहर पठाउने गरिन्छ । ती उद्योगमा झण्डै ५ सय जना रोजगार भएका छन् ।

गाउँपालिकाले कम्तीमा ५ हजार युवा रोजगार बनाउने लक्ष्यले समूहमा गरिने सबै काममा स्थानीय उद्यमीलाई लगाएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए । रोजगार दिगो बन्न उत्पादनले भने बजार पाउनुपर्ने र त्यसकालागि जिल्ला र केन्द्रीय नेतृत्वले चासो दिनुपर्ने उनको भनाइ छ । विकका अनुसार अहिलेसम्म पालिकाभित्रै झण्डै १ हजार बढी युवा कुनै न कुनै उत्पादनमा जोडिएका छन् । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully