२०६५ सालमा ट्रयाक खुलेको सडकमा १५ वर्षपछि बल्ल कालोपत्रको काम सुरु गरिएको थियो ।
What you should know
गोरखा — लमजुङ र गोरखा जोड्ने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । दुई वर्षअघिबाट कालोपत्रको काम सुरु भएको सडकको भौतिक प्रगति ८७.६३ र वित्तिय प्रगति ८४.७७ प्रतिशत रहेको गोरखा सडक योजनाका इन्जियिनर आशिक रिजालले बताए ।
२०७९ चैतबाट सुरु भएको सडकको काम गएको भदौसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आगामी असार ७ सम्म म्याद थप भएको छ । ‘सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । २० मध्ये १५ किलोमिटर कालोपत्र भइसक्यो, बाँकी क्षेत्रमा पनि बेस राखेर कालोपत्र गर्ने काम भइरहेको छ,’ उनले भने,‘यो म्याद अवधिमा सडकको काम सकिन्छ ।’ १ अर्ब ५ करोड ४७ लाख लागतमा सडक निर्माणको जिम्मा वुड हिल/लामा जेभीले लिएको थियो । योजनाको विकासमा साझेदारी भारत सरकारको एक्जिम बैंकले गरेको छ ।
लमजुङ र गोरखालाई जोड्ने गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङस्थित पन्थडिहिबाट लमजुङको साहिलिटारसम्मको २० किलोमिटर सडक कालोपत्रको काम थालिएको थियो । सडक स्तरोन्नति कार्य अन्तरगत सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल तथा डबल लेन कालोपत्र सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ । डिविएसटी प्रविधिबाट उक्त सडक कालोपत्र गरिएको हो ।
सडक निर्माणले पालुङटार नगरपालिकाको खोप्लाङ, आँपपिपल र सिरानचोक गाउँपालिकाको हर्मी, थालाजुङ र छोप्राक, अजिरकोट गाउँपालिकाको हंसपुर, खरिबोट तथा लमजुङको राइनास नगरपालिकाको चक्रतीर्थ, दुधपोखरी गाउँपालिकाको इलम पोखरी र दुधपोखरीका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् ।
२०६५ सालमा ट्रयाक खुलेको सडकमा १५ वर्षपछि बल्ल कालोपत्रको काम सुरु गरिएको थियो । आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा दुई पटक ठेक्का आहृवान गर्दा पनि सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिए । पछिल्लो दुई वर्षयता भने उक्त सडक निर्माणले तिव्रता पाएको हो ।
सडकले दुवै जिल्लाको सामाजिक आर्थिक रुपमान्तरण सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त सडक स्तरोन्नति नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीयले सास्ती भोग्दै आएका थिए । सडक स्तरोन्नतिसँगै नियमित सवारी चल्न थालेपछि आउजाउमा सहज बनेको स्थानीय बताउँछन् ।
