हिमपातले ढोरपाटन सेताम्मे, मध्यपहाडी लोकमार्ग अवरुद्ध

जाडो मौसममा बेंसी झरेका स्थानीय र गाईभैंसीसहित उपत्यका पुगेका गोठालाहरु हिमपातले प्रभावित भएका छन् ।

चैत्र ७, २०८२

प्रकाश बराल

Snowfall blocks Dhorpatan-Setamme, Mid-Hill Highway

What you should know

बागलुङ — शुक्रबारदेखि परेको झरीपछि ढोरपाटन क्षेत्रमा हिमपात भएको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । 

जाडो मौसममा बेंसी झरेका स्थानीय र गाईभैंसीसहित उपत्यका पुगेका गोठालाहरु हिमपातले प्रभावित भएका छन् । अहिले अधिकांश मानिस घरभित्रै रोकिएका छन् भने गाईबस्तुलाई समेत घाँसअभाव भएको छ । 

अधिकांशले यसअघि गोठभित्र राखेको सुक्खा घाँस (बातो) खुवाइरहेको स्थानीय नरमती पुनले बताइन् । जाडोको कारण मानिस घरभित्रै आगो तापेर बसेका छन् । ढोरपटनका स्यालपाखे, नवी, छेन्तुङ, निसेलढोर, देउरालीलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेको छ भने उपत्यका पनि सेताम्मे देखिएको छ । 

यतिबेला उपत्यकामा आलु लगाउने समय हो । ‘मैले त एक साता लगाएर आलु रोपिसकेकी छु, काम गरिरहेकालाई समस्या भयो,’ पुनले भनिन्, ‘झरी र हिउँले केही दिनदेखि काम गर्न अप्ठ्यारो भएको छ ।’ मौसम सफा भए दुई/चार दिनमा आलु लगाउन सकिने उनले बताइन् । किसानहरुले चैत पहिलो साता लगाएको आलु साउनमा खनेर निकाल्छन् । 

हिमपातका कारण यहाँको सेनाको व्यारेकमा पनि संचार समस्या भएको एक अधिकारीले बताए । उनले स्थानीयलाई समस्या परेको भए सहयोग गर्ने गरी परिचालन समेत भएको तर संचारको नेटवर्क गएकोले जानकारी गराउन समस्या परेको बताए । 

झरी र हिमपातका कारण मध्यपहाडी लोकमार्गको पातीहाल्ने खण्ड पनि अवरुद्ध भएको छ । रुकुम र बागलुङ तर्फको झण्डै १० किमी खण्डमा हिमपातले यातायातका साधन चल्न नसक्ने अवस्था आएको हो ।

हिमपात हटाएर सडक खुलाउने प्रयास भने स्थानीय र प्रहरीले गरिरहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए । निरन्तर झरी र हिमपातले काम गर्न अप्ठ्यारो भएको उनले बताए । झरी रोकिएपछि मात्र सुरक्षित रुपमा सवारी छुटाउने गरी प्रहरीले तयारी गरेको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully