लमजुङ क्याम्पसका विद्यार्थी रिले अनशनमा

निर्वाचनअघि छुटेका परीक्षाहरु फागुन २६ गतेपछि नियमित तालिकाअनुसार सञ्चालन गर्ने भनी फागुन ११ गते क्याम्पस प्रमुखसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

चैत्र ७, २०८२

आश गुरुङ

लमजुङ — लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)मा अध्ययनरत बीएससी एजी चौथो सत्रान्तका विद्यार्थीहरु निधारमा कालोपट्टी बाँधेर रिले अनशन बसेका छन् । निर्वाचनअघि छुटेका परीक्षाहरु फागुन २६ गतेपछि नियमित तालिकाअनुसार सञ्चालन गर्ने भनी फागुन ११ गते क्याम्पस प्रमुखसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

क्याम्पस प्रमुखले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठको कार्यकक्षमा रिले अनशन बसिरहेका छन् । विद्यार्थीहरुका अनुसार डिनको कार्यालयले चौथो सत्रान्तका लागि फागुन १० देखि परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तालिकाअनुसार बीएससी एजी चौथो सात्रान्तको परीक्षा चुनाव अगाडि ५ वटा र चुनावपछि ३ वटा हुनुपर्ने थियो । यस्तै, छैटौं सत्रान्तको चुनाव अगाडि ३ वटा र चुनाव पछाडि ५ वटा विषयको परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

विद्यार्थी अवसर अधिकारीका अनुसार गत पुसबाट चौथो सत्रान्तको पढाई सुरु भए पनि २ सातामात्रै नियमित भयो । माघ ५ गतेसम्म हिउँदे बिदा, तेस्रो सत्रान्तका विद्यार्थीको ‘व्याक’ परीक्षा माघ २७ गते सकिएको, शिक्षकहरुको आन्तरिक आन्दोलन, क्याम्पस परिसरमै सुन्दरबजार महोत्सव, सुन्दरबजार कपलगायतले कोर्ष राम्रोसँग अघि बढ्न सकेन । नियमित कक्षासँगै आन्तरिक मूल्यांकनका परीक्षासमेत हुन नपाउँदै डिनको कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेपछि परीक्षा सार्नुपर्ने माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनका कार्यबाहक सभापति आशिष पौडेलका अनुसार परीक्षा सार्नुपर्ने विद्यार्थीको माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीले माघ २६ गते क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । फागुन ११ गते क्याम्पस प्रमुख र चौथो सत्रान्तका विद्यार्थीबीच चुनाव अगाडिका परीक्षाहरुलाई चुनाव पछाडि नियमित हुने परीक्षापछाडि नियमितसरह गर्ने सहमति भएपछि ताला खोलिएको थियो । सहमतिअनुसार अघि बढ्नुपर्नेमा चुनाव अगाडि हुन नसकेका परीक्षालाई नियमित रुपमा अगाडि नबढाई ‘व्याक’ मा राख्न खोजिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियनका कार्यबाहक सभापति आशिष पौडेलले चुनाव अगाडि नभएका परीक्षाहरु रेगुलर (नियमित) हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले बिहीबारदेखि रिले अनशन थालेको बताए । ‘पहिला क्याम्पस प्रमुखले छुटेका परीक्षालाई नियमित बनाउँछु भनेर सहमित गर्नुभयो । अहिले सहमति कार्यान्वयन गर्ने विषयमा उहाँ देखिनुभएन । त्यसैले हामी आन्दोलनमा उत्रिएका हौं,’ उनले भने ।

क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठका अनुसार क्याम्पसको ताला खुलाउने विषयमा पछाडि सार्ने परीक्षालाई निर्वाचनपछि नियमित गराउन डिन कार्यालयमा समन्वय गर्ने सहमति गरिएको थियो । यसका लागि डिन कार्यालयमा आग्रह पनि गरिएको थियो । तर, डिन कार्यालयले यस विषयमा औपचारिक जानकारी दिएको छैन ।

उनका अनुसार कृषि र पशु विज्ञान संस्थानका अन्य क्याम्पसहरुमा परीक्षाहरु नियमित भइरहेका छन् । चौथो सेमिस्टरको परीक्षा सकेर चैत पहिलो साताबाट पाँचौ सेमिस्टरको परीक्षा पनि सुरु भइसकेका छन् । तर, लमजुङ क्याम्पसमा भने परीक्षाकै विषयमा विद्यार्थी आन्दोलन गरिरहेका छन् ।

उनले अहिले लमजुङ क्याम्पस डिन कार्यालय र विद्यार्थीको चेपुवामा परेको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully