मुक्तिनाथ क्षेत्रमा शुक्रबार दिउँसो ४ बजेदेखि हिमपात भएको हो ।
काठमाडौँ — मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ क्षेत्रमा शुक्रबार हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा शुक्रबार दिउँसो ४ बजेदेखि हिमपात भएको हो ।
यस्तै, मनाङमा पनि हिमपात सुरु भएको छ । सदरमुकाम चामेको वरिपरिदेखि माथिल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले सदरमुकाम चामेमुनि पानी परेको र माथिल्लो क्षेत्रमा हिउँ परेको बताए । ‘चामे वरिपरि भित्तातिर हिउँ परेको छ । चामेमै चाहिँ हिउँ परेको छैन, पानी परेको छ,’ उनले भने । उनका अनुसार वरपर हिउँ पर्नुका साथै पानी पर्न थालेपछि तापक्रम घटेको उनले बताए । उनका अनुसार शुक्रबार साँझ पौने ६ बजेतिर सदरमुकाम चामेको तापक्रम मनाइस २ डिग्री देखाएको छ ।
जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो ।
शुक्रबार राति र शनिबारसम्म मधेश प्रदेशलगायत कोशी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।
