निसीखोला गाउँपालिकाले पनि चार वर्षअघि फुजी र गोल्डेन जातका स्याउका बिरुवा वितरण गरेपछि व्यवसायिक उत्पादन थालिएको हो । तीन वर्षअघि रोपेका बिरुवाले फल दिन थालेपछि किसान खुसी छन् ।
What you should know
बागलुङ — ढोरपाटन उपत्यकाको दक्षिण भेगमा पर्ने निसेलढोरमा स्याउको व्यवसायिक उत्पादन बढाउने योजना बनाइएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र र कृषि क्षेत्रका अन्य निकायले यहाँ आवश्यक लगानी गरेका छन् ।
निसीखोला गाउँपालिका–५ को निसेलढोर कृषि उत्पादनकालागि उर्बर भूमि हो । झण्डै ४ सय घरपरिवार बस्ने निसेलढोरमा स्याउको बगैंचा निर्माण सुरु भएको स्थानीय सुमन घर्तीमगरले बताए । ‘हामी सबैले कृषि र पशुपालन नै गरेर बसेका छौं,’ उनले भने, पछिल्लो तीन/चार वर्षदेखि स्याउ लगाएर व्यवसायिक उत्पादन लिन थालेका छौं ।’ सुरुवातमा केही किसानले मात्रै रोपेको स्याउ अब भने घरघरमा रोपेर उत्पादन लिने योजना बनेको उनले बताए ।
यहाँ परम्परागत रुपमा रोपिएका समेत सयौं स्याउका बोट छन् । निसीखोला गाउँपालिकाले पनि चार वर्षअघि फुजी र गोल्डेन जातका स्याउको बिरुवा वितरण गरेपछि व्यवसायिक उत्पादनको अवस्थामा पुग्नै लागेको उनले बताए । तीन वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेपछि किसान खुसी छन् । गाउँपालिका कृषि प्राविधिक ताराबहादुर परियारले स्वादपनि यहाँको स्याउको स्वाद मिठो भएको बताए।
उत्पादन बढाउँदै गरेका किसानले बिक्रीकालागि बजारको खोजी गरिरहेका छन् । थोरै उत्पादन त नजिकको बजारमा सहजै बिक्री भइरहेको छ । गत वर्ष पनि रोपिएका बिरुवा हुर्केपछि भने बजार बिस्तार गर्नुपर्ने स्थानीय गोमान नेपालीले बताए । घर्तीको बारीमा मात्रै ४ सय ठूला र १ सय नयाँ स्याउका बोट छन् । स्थानीय मित्रबहादुर घर्ती, गोमान नेपालीलगायतले पनि स्याउ फलाउन थालेको बताए । किसानले ग्रेडिङ गरेर सिजनमा प्रतिकेजी १ सय रुपैयाँसम्ममा स्याउ बेच्ने गरेको बताए । सुमनले मात्रै गत वर्ष २४ क्विन्टल स्याउ बेचेको र अब बढ्ने बताए ।
उनकै बारीबाट गत वर्ष ५ ट्रयाक्टर अर्थात १ सय ५० क्विन्टल आलु समेत बिक्री भएको थियो । ती सामान बेच्न उनीहरुलाई सडक भने अभाव छ । सिधैं निसीखोला पुग्न नसकिने भएपछि ढोरपाटन, बोबाङ हुँदै बुर्तिवाङ पठाउँदा धेरै खर्च लागेको नेपालीले गुनासो गरे । तर पनि निसेलढोरमा अझै सयौं क्विन्टल स्याउ र आलु फलाउने गरी खेती बढाउन सकिने नेपालीले बताए । त्यसकालािग बेलाबेला प्राविधिक सहयोग, रोग किरा लाग्दा उपचारमा र बजारीकरणमा साथ चाहिएको स्थानीय किसानले बताएका छन् ।
निसीखोला गाउँपालिकाले इटालीबाट ल्याएको १ हजार ५० वटा बिरुवा वडा २ को अर्नाकोट र वडा ५ को निसेलढोरमा रोपेको थियो । पालिकाले ५० प्रतिशत अनुदानमा ती बिरुवा उपलब्ध गराए पछि किसानले लगानी गरेको बताए । यहाँ ‘गोल्डेन’ र ‘गाला’ जातको स्याउ राम्रो फल्ने गरेको छ । फुजीले राम्रो उत्पादन दियो भने पुराना बोट हटाएर फुजीमय बनाउने लक्ष्य पालिकाको छ,’ अध्यक्ष सूर्यबहादुर घर्तीले भने, ‘कृषि क्षेत्रको लगानीले वर्षौ उत्पादन र आयआर्जनमा साथ दिनेछ ।’ समुन्द्री सतहदेखि २ हजार ६ सय मीटर देखि ३ हजार ५ सय मिटरसम्मको भूगोलमा यी बिरुवा रोपिएको हो । बिरुवा हुर्कंदै गएपछि किसानले बारबन्जेद समेत लगाउन थालेका छन् ।
गाउँपालिकाले कृषि ज्ञान केन्द्र बागलुङको सहकार्यमा स्याउ उत्पादनकालागि माटो र बिरुवा परीक्षण शिविर पनि संचालन गरेको छ । त्यसबाहेक किसानलाई तालिम तथा बजारीकरणको काममा साथ दिने केन्द्रका प्रमुख कुमार पुनले बताए । पालिकाले निसेलढोरलाई स्याउको जोन बनाउन सकिने गरी समन्वय थालेको समेत घर्तीले बताए ।
यहाँको उत्पादन बुर्तिवाङ र बुटवलमा बिक्री गर्न सहज हुनेछ । निसेलढोरमा सयौं हेक्टर जमिन अझै खाली छ । परम्परागत स्याउ बिस्थापित गर्दै गोल्डेन जातको बढाउने योजना उनले सुनाए । गोल्डेन स्याउले राम्रो उत्पादन दिने लक्षण देखिएको किसानको भनाइ छ ।
