दादुरा संक्रमित क्षेत्रमा सचेतना अपनाउँदै विद्यालय सञ्चालन

विश्व स्वास्थ्य संगठनको टोलीले गाउँमा बसेर समुदायमा खोप लगाउन छुटेका बालबालिकाको खोजी गरिरहेको छ ।

चैत्र २, २०८२

प्रकाश बराल

Schools operate with awareness in measles-infected areas

What you should know

बागलुङ — तीन सातासम्म फैलिएको दादुराको प्रकोप कम हुँदै गएपछि ढोरपाटन नगरपालिकाको बोबाङ गाउँका विद्यालयमा सचेतना अपनाएर कक्षा संचालन गर्न थालिएको छ । ढोरपाटनका तीनवटा वडाका दर्जन बढी विद्यालय दुई सातादेखि बन्द थिए ।

निर्वाचनअघिको एक साता र निर्वाचनपछिको एक सातासम्म विद्यालय बन्द गरेर दादुराका बिरामीको उपचार गरेपछि सोमबारदेखि सचेतना अपनाएर विद्यालयमा पढाइ संचालन गर्न अनुमति दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले बताए ।

ढोरपाटन नगरपालिका– ७, ८ र ९ का १ सय २० बढी बालबालिका गम्भीर बिरामी भएका थिए । उनीहरूमध्ये धेरै उपचारपछि घर फर्केका छन् । तर, केही भने अहिले पनि अस्पताल भर्ना छन् । बुर्तिवाङ अस्पतालमा १२ जना, बोबाङ स्वास्थ्यचौकीमा ६ जना, पोखरामा चार जना र धौलागिरि अस्पतालमा एक जनाको उपचार भइरहेकाे छ । 

बालबालिका मात्र नभइ अभिभावकलाई समेत यो समस्याले सताएको थियो । विशेष गरी अत्याधिक ज्वरो, शरीरमा बिबिरा आउने जस्तो समस्या बालबालिकामा भए पनि अभिभावकमा समेत रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो । 

प्रदेश जनस्वास्थ्य कार्यालयमार्फत प्रदेश र संघीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनको टोलीसमेत गाउँ पुगेर बालबालिकाको उपचारमा साथ दिएको थियो । 

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार अहिलेसम्म ढोरपाटन नगरपालिकाभित्रका ५ हजार ६ सय ५६ जना बालबालिकालाई दादुराको खोप लगाइएको छ । विश्व स्वास्थ्य संगठनको टोलीले गाउँमा बसेर समुदायमा खोप लगाउन छुटेका बालबालिकाको खोजी गरिरहेको छ । बिरामी पर्नेमा गर्भवती महिला र सुत्केरीसमेत छन् । उनीहरूलाई समेत खोप लगाइएको खत्रीले जानकारी दिए ।

दादुराको प्रकोप ढोरपाटनमा परे पनि जिल्लाका अन्य स्थानमा पनि सोही प्रकृतिका लक्षणसहितका बिरामी छिटफुट देखिएको स्वास्थ्यकर्मीहरूले बताए । ‘मेरो नाति र नातिनीलाई पनि ज्वरो र बिबिरा आयो, धौलागिरि अस्पतालमा उपचार गराएँ,’ काठेखोला गाउँपालिका–२ का खिमानन्द पौडेलले भने, ‘यो समस्या जिल्लाभर खोजी गरेर उपचारको दायरामा ल्याउनुपर्छ ।’ संक्रमितलाई उपचारमा ल्याउँदा उचित सतर्कता अपनाउनुपर्ने, शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने जस्ता प्रावधान स्वास्थ्यकर्मीले अपनाएका छन् । परीक्षण नभइ शंकास्पद भएका बिरामी भने ती प्रावधानमा छैनन् । तसर्थ अझै संक्रमण बढ्न सक्ने चिन्तासमेत छ । 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सोमबार बागलुङका सबै पालिकाका जनप्रतिनिधिसमेतले प्रकोप व्यवस्थापनका लागि आवश्यक पहल गर्ने, शंकास्पद बिरामी देखिएमा उपचारको दायरामा ल्याउने निर्णय गरेको छ । ‘संक्रामक रोग भएकाले सबै जना सचेत बन्ने, समयमा उपचारको दायरामा ल्याउने काम गरौं,’ प्रजिअ कृष्णप्रसाद आचार्यले भने, ‘सबैलाई खोप लगाउने सम्भावना छैन, तर बिरामी र शंकास्पद लागेमा खोप लगाउन छुटाउनु भएन ।’ हाल जिल्लामा ७ हजार बढी खोप आएका र झण्डै १ हजार बढी खोप बाँकी रहेकाले संक्रमितका अभिभावक र शंकास्पद व्यक्तिलाई लगाउन पहल गरिने उनले बताए ।

कतिपयले त १० देखि १९ वर्षसम्मका सबै बालबालिकालाई यो खोप लगाउन सुझाव दिएका छन् । जन्मेको १५ महिनाभित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने हालको प्रावधान छ । खोप लगाइसकेकाहरूलाई संक्रमण भए पनि खतरा नहुने भएकाले दोहोर्‍याउन नपर्ने कार्यालयका प्रमुख प्रवीण शर्माले बताए । नेपाल सरकारले चालु वर्ष सन् २०२६ मा दादुरा र रुबेला रोग निर्मूल पार्ने लक्ष्य राखेको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully