वर्खामा भन्दा चैते धानको उत्पादन राम्रो हुने भएकाले सिँचाइ सुविधा भएका किसान यो खेतीमा जोड दिँदै आएका छन् ।
नवलपुर — पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । सरकारले चैते धान खेती प्रवर्द्धन कार्यक्रम लागू गरेपछि ५ वर्षयता चैते धान रोप्ने किसान बढ्दो क्रममा छन् ।
असारमा लगाइने धानको तुलनामा चैते धानको उत्पादन बढी हुने र अनुदान पनि पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । वर्खामा लगाउने धान भन्दा चैते धानमा बढी उत्पादन हुने हुँदा सिँचाइ सुविधा भएका किसानले यो खेतीमा जोड दिँदै आएका छन् ।
जिल्लाको देवचुली, गैंडाकोट, कावासोती, मध्यबिन्दु नगरपालिका, विनयीत्रिवेणी गाउँपालिकाका विभिन्न क्षेत्रमा धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले बताए । ज्ञान केन्द्रले तोकेको पकेट क्षेत्रमा बीऊ, कृषि उपकरण र सिँचाइको लागि ७५ प्रतिशतसम्म अनुदान वितरण हुँदै आएको छ ।
ज्ञान केन्द्रका अनुसार यस वर्ष ५० हेक्टर क्षेत्रफल बढ्ने अनुमान गरिएको छ । गत वर्ष १ हजार २ सय हेक्टर क्षेत्रफलमा चैते धान रोपिएकोमा ७ हजार ८ सय ५३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
