मोदीमा फोहोर व्यवस्थापन अस्तव्यस्त

स्थानीय राम केसीका अनुसार बजार क्षेत्रबाट संकलन गरिएको फोहोर डिमुवा र पातीचौर आसपासका विभिन्न स्थानमा छरपस्ट फाल्ने गरिएको छ ।

फाल्गुन ३०, २०८२

सुमनजंग थापा

Waste management is in disarray under Modi

पर्वत — पर्वतको मोदी गाउँपालिका अन्तर्गतको मुख्य व्यापारिक बजार डिमुवा र पातीचौरबाट निस्कने फोहोर जथाभावी फाल्ने र जलाउने गरिएको पाइएको छ । स्थानीय बासिन्दाले पटक–पटक समस्या समाधानका लागि पालिकालाई खबरदारी गरे पनि प्रभावकारी पहल नभएको गुनासो गरेका छन् ।

स्थानीय राम केसीका अनुसार बजार क्षेत्रबाट संकलन गरिएको फोहोर डिमुवा र पातीचौर आसपासका विभिन्न स्थानमा छरपस्ट फाल्ने गरिएको छ । बर्खाको समयमा फोहोर सिधै मोदी खोलामा फाल्ने र हिउँदमा भने खोला किनारमा थुपारेर जलाउने गरिएको उनले बताए ।

मोदी गाउँपालिकाका वडा नं. २, ५ र ६ बाट निस्कने फोहोर यसरी व्यवस्थापनबिनै फाल्ने र जलाउने गरिएको हो । बाजुङ–५ वारि पातीचौर क्षेत्रमा तल्लो मोदी खोला जलविद्युत् आयोजनाको ड्याम मुन्तिरको पुछारतर्फ फोहोर फालिँदै आएको छ । यस्तै, देउपुर–२ पारि पातीचौरतर्फ नेपाल विद्युत् प्राधिकरणको जग्गामा काँडे तार लगाएर फोहोर थुपार्ने गरिएको स्थानीयले बताएका छन् । यसबाहेक धेरै ठाउँमा छरपस्ट फोहोर फाल्ने गरिएको छ । 

‘बजारको बीचमै फोहोर जलाउँदा निस्किने धुवाँ र दुर्गन्धले बस्नै नसक्ने अवस्था हुन्छ,’ स्थानीय ललिता पुर्जाले भनिन् । उनका अनुसार बाजुङ र पातीचौरको सीमामा पर्ने मोटरेबल पुल नजिक शुक्रबार साँझदेखि फोहोर जलाइएको धुवाँ अझै वातावरणमा फैलिरहेको छ । नजिकै पार्वती खोला, मोदी खोला र घाटसमेत भएकाले फोहोर फाल्ने र जलाउने कार्य तत्काल रोक्न स्थानीयले माग गरेका छन् ।

यस विषयमा मोदी गाउँपालिका–५ का वडा अध्यक्ष मानबहादुर अधिकारीले भने उपयुक्त विकल्प नभेटिएकाले बाध्य भएर खोला किनारमै फोहोर व्यवस्थापन गर्नुपरेको स्वीकार गरे । उनले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट खोज्ने प्रस्ताव पटक–पटक कार्यपालिका बैठकमा राखे पनि त्यसबारे ठोस निर्णय हुन नसकेको बताए । उनका अनुसार फोहोर व्यवस्थापनको अग्रसरता गाउँपालिकाले नै लिनुपर्ने अवस्था रहेको छ ।

पोखरा–बागलुङ राजमार्ग हुँदै पोखरा, कुश्मा, बागलुङ जिल्ला, म्याग्दी जिल्ला हुँदै मुस्ताङ जिल्ला जाने पर्यटकहरूले पनि डिमुवा र पातीचौर भएर यात्रा गर्नुपर्ने भएकाले यस क्षेत्रको फोहोर व्यवस्थापन समस्या झन् संवेदनशील बनेको स्थानीयको भनाइ छ ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully