‘नयाँ सरकारले शिक्षा ऐन ल्याओस्’

जिल्ला सभाले शिक्षकका हकहित स्थापित गर्ने, शिक्षा ऐन ल्याउनुपर्ने र नेपालको शिक्षामा भएको विसंगति हटाउने काममा अब बन्ने सरकारले ध्यान दिनुपर्ने जस्ता विषयलाई पारित गरेको छ ।

फाल्गुन ३०, २०८२

प्रकाश बराल

'The new government should bring in an education act'

What you should know

बागलुङ — नेपाल शिक्षक संघ बागलुङको २५ औं जिल्ला सभाले शिक्षा ऐन ल्याउन नयाँ बन्ने सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको छ । उनीहरूले शिक्षकलाई निजामती कर्मचारीसरहको सम्मान दिनुपर्ने समेत बताए । 

राजनीतीकरण भयो भन्ने सरकारी आरोपविरुद्ध शिक्षकले सम्मानित पेसाका रूपमा काम गर्न पाए गुणस्तरीय शिक्षामा समेत योगदान गर्न सकिने अध्यक्ष उमाकान्त पौडेलले बताए । राज्यबाट सम्मान नपाएकाले शिक्षकहरू पटक–पटक आन्दोलनमा उत्रिनु परेको उनले बताए । साथै शिक्षकलाई १७ थरीबाट एकैथरी बनाउन पनि उनीहरूले माग गरेका हुन् ।

फागुन पहिलो सातादेखि संचालन भएको स्थानीय तह स्तरीय प्रतिनिधि भेला हुँदै शुक्रबार जिल्ला सभा सम्पन्न भएको हो । सभाले शिक्षकका हकहित स्थापित गर्ने, शिक्षा ऐन ल्याउनुपर्ने र नेपालको शिक्षामा भएको विसंगति हटाउने काममा सरकारले ध्यान दिनुपर्ने जस्ता विषयलाई पारित गरेको छ । 

गत वर्ष भएको शिक्षक महासंघको आन्दोलन अझै निष्कर्षमा नपुगेको भन्दै त्यसका लागि नयाँ बन्ने सरकारले पनि ख्याल गर्नुपर्ने शिक्षकहरूको माग छ । ‘हाम्रो आन्दोलन स्थगित भएको हो, सकिएको होइन,’ पौडेलले भने, ‘ऐन ल्याउने र मागको उचित सम्बोधन गरिनुपर्छ ।’ २०२८ सालको ऐनले परिवर्तित अवस्थामा सम्मान र सम्बोधन गर्न नसकेको उनको भनाइ थियो । 

जिल्ला सभाले यस वर्ष निवृत्त भएका दुई दर्जन शिक्षकलाई सम्मान गरेको थियो । साथै नयाँ सदस्यलाई स्वागत, वर्षभरि उत्कृष्ट कार्य गरेको नेपाल शिक्षक संघ, बागलुङ नगर समिति लगायतलाई सम्मानसमेत गरेको थियो । पछिल्लो २५ वर्षदेखि नै संघले नियमित जिल्ला सभा गर्दै आएको छ । जिल्लामा कार्यरत १ हजार ५ सय बढी शिक्षक संघमा आबद्ध छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully