सहरबजारदेखि ग्रामीण भेगसम्म खाना पकाउने ग्यासको अभाव भएका बेला आधा भरिएका सिलिन्डर उपलब्ध हुन थालेपछि केही राहत मिल्ने आशा गरिएको छ ।
What you should know
लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहर बजारको बैंक चोकमा शनिबार बिहानैदेखि खाना पकाउने ग्यास लिन आउने उपभोक्ताको भीड लाग्यो । शुक्रबार राति ग्यास आएको जानकारी पाएपछि बिहानैदेखि उपभोक्ता ग्यास पसलमा पुगे ।
घनपोखरा घर भइ हाल बेंसीसहर बस्दै आएकी कल्पना गुरुङले १ हजार रुपैयाँ तिरेर आधा भरिएको ग्यास सिलिन्डर लिएर आफ्नो खाली सिलिन्डर पसलमा छोडिन् । ‘आधा भए पनि ग्यास पाइयो, यहाँ त नपाइने डर थियो,’ उनले भनिन् ।
गैरीधाराका महेन्द्र शर्मा पौडेलले पनि आधा भरिएको सिलिन्डर पाएको बताए । ‘पूरै भरिएको सिलिन्डर आएको छैन भन्यो । नपाउनु भन्दा आधा भए पनि चित्त बुझाउनु पर्यो,’ उनले भने ।
मर्स्याङ्दी गाउँपालिका–३ खुदी बजारका व्यवसायी लेखमान कतिलाका अनुसार उत्तरी भेगमा ग्यास पुर्याउन अझै कठिन भएको छ । ‘बल्लतल्ल १५ वटा सिलिन्डर पाइयो, त्यही पनि आधा भरिएको । खाली सिलिन्डर ल्याएर पसलमा थुपारेका छन्, ग्यास नपाउँदा धेरै गाह्रो भएको छ,’ उनले भने ।
पश्चिम एसियामा जारी युद्धका कारण पछिल्लो एक सातादेखि लमजुङमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको व्यवसायीले बताएका छन् । बेंसीसहरमा तीन कम्पनीका ग्यास विक्रेता प्रभुराम प्रधानका अनुसार शुक्रबार राति मात्रै ५ सय ७५ वटा आधा भरिएका सिलिन्डर भित्रिएका थिए । ती सिलिन्डर पनि केही समयमै सकिएका छन् । ‘ड्राइभरहरुले ३–४ दिन कुरेर ग्यास ल्याउँछन् । आधा भरिएको ल्याए पनि पूरा भरिएको ल्याए पनि ट्रक भाडा उही लाग्छ । मुख्य राजमार्गबाट टाढा हुँदा ल्याउन पनि गाह्रो छ,’ उनले भने ।
मनाङ मर्स्याङ्दी ग्रुपका कोषाध्यक्ष केशवप्रसाद द्वाका अनुसार बेंसीसहरमा थप ५ सय २५ वटा आधा भरिएका सिलिन्डर ल्याइएको छ । ती सिलिन्डर आइतबार दिउँसो ३ बजेदेखि ग्रुपको कार्यालय, बेंसीसहर शेरास्थित दनाईंफाँटबाट वितरण गरिने उनले बताए । ‘पूरा भरिएको सिलिन्डर पाइएन । अहिले आधा भरिएको ग्यास ल्याएका छौं,’ उनले भने, ‘उपभोक्ताले घरमा धेरै सिलिन्डर थुपारेर नराखे स्थिति केही सहज हुन सक्छ ।’
मनाङ मर्स्याङ्दी ग्रुपका अध्यक्ष ईश्वरप्रसाद श्रेष्ठका अनुसार थप ग्यास आउने क्रममा रहेको छ । केही दिनमै आपूर्ति नियमित हुने अपेक्षा गरिएको उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले पनि जिल्लामा आधा भरिएका ग्यास सिलिन्डर भित्रिन थालेको जानकारी दिए । ‘ग्यास व्यवसायीलाई पहिले आउनेलाई नाम–ठेगाना टिपेर ग्यास दिन निर्देशन दिएका छौं,’ उनले भने, ‘कसैले धेरै लग्ने र कसैले नपाउने अवस्था हुन दिँदैनौं ।’
उनका अनुसार जिल्लाका सहरबजारदेखि ग्रामीण भेगसम्म खाना पकाउने ग्यासको अभाव छ । आधा भरिएका सिलिन्डर उपलब्ध हुन थालेपछि केही राहत मिल्ने आशा गरिएको छ । साथै ग्यास आपूर्ति सहज बनाउन व्यवसायीसँग थप छलफल गर्ने तयारी प्रशासनले गरेको छ ।
