आयोगमा बुझाइएको विवरणअनुसार सादगी चुनाव प्रचारशैली अपनाएको भनी प्रशंसा गरिएका पुनले चुनावमा २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च गरे ।
म्याग्दी — म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका १२ मध्ये ८ जनाले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । ती विवरणमध्ये स्वतन्त्र उम्मेदवार महावीर पुनको खर्च शैली र उनले प्राप्त गरेको सहयोग सबैभन्दा फरक देखिएको छ ।
पुनका निर्वाचन प्रतिनिधि चित्रबहादुर तिलिजाका अनुसार देशविदेशबाट शुभचिन्तकहरुले न्युनतम एक सय रुपैयाँदेखि माथि स्वेच्छिक सहयोग रकम पुनको राष्ट्रिय वाणिज्य बैंक टेकु शाखामा रहेको चुनावी खातामा कुल ५४ लाख ३४ हजार ९ सय रुपैयाँ सहयोग जम्मा गरिदिएका थिए ।
आयोगमा बुझाइएको विवरणअनुसार सादगी चुनाव प्रचारशैली अपनाएको भनी प्रशंसा गरिएका पुनले चुनावमा २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च गरे । चुनावमा खर्च गरेर पनि महावीरको खातामा अहिले २७ लाख ६९ हजार रुपैयाँ बचेको छ ।
चुनावमा खर्च प्रयोजनका लागि उठेको सहयोग रकम बचत भएको भनी सार्वजनिक गरिएको संभवत: नेपाली निर्वाचन इतिहासमा विरलै सुनिने घटना हो ।
पुनका चुनावी संयोजकसमेत रहेका तिलिजाका अनुसार चुनाव प्रचारक्रममा धेरै स्थानमा स्थानीयले नै खाना खुवाएको, कतिपय स्थानमा खाना, बासको खर्च प्रवासीहरुले सोझै भुक्तानी गरिदिएकोले चुनावी सहयोग बचेको हो ।
‘चुनावमा बचत भएको यो रकम जिल्लामा सांसद पुनको सम्पर्क सचिवालय स्थापना गर्ने र सचिवालयको कर्मचारी व्यवस्थापन र पानीबिजुलीमा तथा मसलन्दमा खर्च गर्ने योजना छ ।’
स्वतन्त्र उम्मेदवार बनेका पुनलाई चुनाव प्रचारप्रसार क्रममा गाउँबस्ती पुग्दा स्थानीयले पनि ठूलो रकम नगदै सहयोग गरेका भिडियोहरु महावीर पुनकै पेज र उनको सचिवालयका सदस्यहरुले सामाजिक सञ्जालमा लाईभसमेत हालेका थिए । सो रकम यस आम्दानीमा जोडिएको छ कि छैन ? प्रस्ट पारिएको छैन ।
सार्वजनिक गरिएका उम्मेदवारहरुका चुनावी खर्च विवरणमा भौगोलिक विकटताको कारण ठूलो हिस्सा सवारी साधन र इन्धनमा खर्च भएको देखाएका छन् । त्यसपछि खाना तथा आवासमा ठूलो खर्च भएको देखिएको छ । सामाजिक सञ्जालमा चुनाव प्रचार गर्न महावीर पुन एक्लै हिँडेका दृश्यहरु देखाइएको भए पनि उनको दैनिक ३५–४० जनाको जम्बो टिम संलग्न थियो ।
महावीरले आयोगमा बुझाएको चुनावी खर्च विवरणमा सबैभन्दा बढी १३ लाख ६ हजार ५ सय ९४ रुपैयाँ होटल बास तथा खानामा भएको देखाइएको छ । त्यस्तै, गाडीमर्मत र इन्धनमा ६ लाख ७० हजार तथा प्रचारप्रसारमा ३ लाख ७० हजार खर्च भएको देखाइएको छ ।
पुनको यो खाना, आवासमा भएको ठूलो खर्च विवरणले उनको टोलीमा बाहिरबाट आएका ठूलो संख्याका स्वयंसेवकहरु व्यवस्थित परिचालन गरिएको संकेत गरेको छ ।
खर्च विवरणमा चर्को आलोचना भएपछि पुनका निर्वाचन प्रतिनिधि चित्र तिलिजाले सामाजिक सञ्जाल फेसबुक वालमा स्टाट्स लेखेरै निर्वाचन आयोगमा बुझाइएको खर्चविवरण तथ्यपरक रहेको दाबी गरेका छन् ।
त्यसैगरी एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३० लाख ३२ हजार खर्च भएको विवरण पेस गरेका छन् । श्रेष्ठको चुनावी खर्चको ठूलो हिस्सा वडास्तरीय चुनाव परिचालनमा ६ लाख ५० हजार, यातायात तथा इन्धनमा ९ लाख र खानाखाजामा ३ लाख ७० खर्च भएको उल्लेख गरिएको छ ।
१८ लाख ३० हजार खर्च विवरण बुझाएका कांग्रेसका कर्णबहादुर भण्डारीले गाडी तथा डिजेलमा ५ लाख ८० हजार खर्च गरेका छन् भने खानाखाजामा ४ लाख ७० हजार खर्च गरेको उल्लेख गरेका छन् ।
प्राविधिक रुपमा उम्मेदवारी कायम रहे पनि उम्मेदवारी फिर्ता लिएर पुनलाई सर्मथन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले पनि चुनावमा आफ्नो २ लाख ६२ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
नेकपाका अर्जुन थापा, माओवादीका क्षेत्रबहादुर घिमिरे, जनमोर्चाका छेमबहादुर विक र राप्रपाका डम्बर सुवेदीले भने हालसम्म खर्च विरण बुझाएका छैनन् । आयोगका अनुसार निर्वाचन समाप्त भएको ३५ दिनभित्र चुनावी खर्च विवरण बुझाउनु पर्छ ।
*अद्यावधिक गरिएको छ । -सम्पादक
