ढोरपाटनका बालबालिकालाई दादुराबिरुद्धको खोप दिइँदै

गत फागुन ८ मा ढोरपाटनका एक बालकलाई दादुरा संक्रमण भएको पाइएको थियो । अहिलेसम्म ५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

फाल्गुन २९, २०८२

प्रदीप पन्त

Children in Dhorpatan are being vaccinated against measles.

बागलुङ — दादुराका बिरामी बढ्न थालेपछि बागलुङको ढोरपाटन नगरपालिकाभित्रका बालबालिकामा खोप लगाउन सुरु गरिएको छ ।

एक महिनादेखि ढोरपाटन नगरपालिकाका–७, ८ र ९ वडाका ८३ जना बालबालिकामा दादुराका लक्षण देखिपछि शुक्रबारदेखि दादुराबिरुद्धको खोप दिन थालिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूमीश्वर शर्माले बताए । ‘विद्यालयमा अध्ययन गर्ने र बाहिर रहेका १० देखि १९ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको छ,’ उनले भने,‘यहाँका ६ हजार ७ सय ६३ जना बालबालिका र किशोर किशोरीलाई लगाइने छ ।’ 

गत फागुन ८ मा ढोरपाटनमा एक बालकलाई दादुरा संक्रमण भएको पाइएको थियो । अहिलेसम्म ५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ । अन्य बालबालिकामा पनि लक्षण देखिएको बुर्तिवाङ अस्पतालका डा.विपिन थापाले बताए । दादुराका बिरामी बढ्न नदिन नगरपालिकाभित्रका बालबालिका, किशोरकिशोरीलाई खोप लगाउन थालिएको उनले बताए । 

दादुराका लक्षणसहित बिरामी भएका ४३ जना अझै उपचारको क्रममा रहेको उनले बताए । उपचारमा संलग्न २ सय ३७ स्वास्थ्यकर्मीलाई समेत दादुराबिरुद्धको खोप लगाउने तयारी गरिएको छ । खोप आइतबारसम्म सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ । 

प्रदीप

Link copied successfully