ग्यास र खानेतेलको कृत्रिम अभाव हटाउन व्यापारीका गोदाममा अनुगमन

केही समयदेखि ग्यास र खानेतेलको अभाव हुने हल्लाले उपभोक्ताले धेरै किन्न खोज्दा सहजै नपाइने र मूल्य बढी लिने गरेको गुनासो आएको थियो ।

फाल्गुन २८, २०८२

प्रकाश बराल

Monitoring of traders' warehouses to eliminate artificial shortages of gas and cooking oil

What you should know

बागलुङ — एक महिनादेखि बजारमा खाना पकाउने ग्यास र खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले व्यापारीका गोदाममा खोजी अभियान थालेको छ ।

कृत्रिम अभाव देखाएर मूल्य बढाउन सक्ने र उपभोक्तामा पर्ने असर घटाउन यो काम गरिएको प्रशासकीय अधिकृत नारायण कार्कीले बताए ।

बागलुङमा मासिक १ हजार ५ सय कार्टुन खानेतेल खपत हुने गरेको छ । केही समयदेखि ग्यास र खानेतेल अभाव भइरहेको हल्लाले उपभोक्ताले धेरै किन्न खोज्दा सहजै नपाइने र मूल्य बढी लिने गरेको गुनासो आएको थियो । कतिपयले आवश्यकताभन्दा बढी किनेर राख्दा अभाव भएको उनले बताए । 

प्रशासनले ग्यास र खानेतेलको अनुगमन गरेर यथार्थ विवरण पत्ता लगाउने तयारी गरेको हो । ‘हामीले खोजी गरिरहेका छौं । अभाव भएको होइन, धेरै किनेर स्टक राखिएको पाइएको छ,’ उनले भने, ‘यो मौकामा मूल्यवृद्धि पनि भएको भेटियो ।’ मूल्य अस्वभाविक देखिएमा कारवाही गर्ने कार्कीले बताए । 

कतिपय घरमा १० वटासम्म सिलिण्डर राखेको भेटिँदा जफत गरेर अत्यावश्यक पर्नेलाई दिने काम समेत गरिएको उनले बताए । उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले अत्यावश्यक सामग्री अभाव भएमा मञ्चकै अगुवाईमा वितरण गरिँदै आएको बताए । ‘केही स्टक सामग्री पत्ता लगाएर राखिएको छ, चुलो बाल्न नसकेकालाई वितरण गरिन्छ,’ श्रेष्ठले भने, ‘आयातमा समस्या होइन, अनावश्यक हल्लाले बजारमा समस्या आएको हो ।’ बजारमा खानेतेल पर्याप्त रहे पनि मूल्यमा केही घटीबढी भएको पाइएको उनले बताए । 

बजार मूल्यलाई समेत एकरुपता कायम गर्न प्रशासन, स्थानीय तह र मञ्चले अगुवाई गरेका छन् । फरक–फरक समयमा आइपुग्ने सामानमा मूल्यमा केही फरक देखिएको बागलुङ उद्योग वाणिज्य संघका सदस्य राजु गौतमले बताए ।

‘केही मूल्यमा तलमाथि होला, अस्वभाविक देखिएमा संघले पनि कारवाही सिफारिस गर्छ,’ उनले भने, ‘खाद्यवस्तु र दैनिक उपभोग्य सामग्री अभाव हुन नदिन समानुपातिक वितरण प्रणाली र मूल्यमा एकरुपता काम गर्न खोजिएको छ ।’

संघले पनि विषयगत संघमार्फत तथ्यांक संकलन गरेर उपभोक्तालाई सहज बनाउने काम गरेको बताए । सातादेखि नै प्रशासन, स्थानीय तह, संघ र मञ्चले संयुक्त बजार अनुगमन गरेर अत्यावश्यक सामग्रीको पर्याप्त भण्डारण राख्न पहल गरेको कार्कीले जानकारी दिए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully