इरानको ड्रोन आक्रमणमा ज्यान गुमाएका दिवसको पशुपतिमा अन्तिम संस्कार

शनिबार एयर अरेबियाको उडानमार्फत शव ल्याएर काठमाडौंको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

फाल्गुन २४, २०८२

हरिराम उप्रेती

गोरखा — इरानको ड्रोन आक्रमणमा परी यूएईको अबुधाबीमा ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँठीका दिवस श्रेष्ठको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिएको छ ।

शनिबार एयर अरेबियाको उडानमार्फत शव ल्याएर काठमाडौंको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । ‘अन्तिम संस्कारको काम पशुपति आर्यघाटमा भयो, हिजो अन्तिम संस्कारको काम सकेर आज (आइतबार) परिवारका सबै सदस्य गोरखा घर आइपुग्नुएको छ,’ भीमसेन थापा–७ का वडाध्यक्ष नारायण श्रेष्ठले भने, ‘१३ दिने काजकिरियामा दिवसका बुबा चामबहादुर बस्नुभएको छ, घटना भएको दिनबाट गन्ती हुँदा ८ दिन हुँदो रहेछ, यहीँ बोर्लाङको घरमा काजकिरियाको काम सुरु भएको छ ।’

श्रेष्ठको शव शनिबार दिउँसो ३.१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कारको काम सकेर परिवारका सदस्य गोरखा आएका छन् । दिवस परिवारका एक्ला छोरा हुन् ।

ड्रोन आक्रमणमा परेका दिवसको टाउको पछाडिको भागमा बढी चोट लागेको वडाध्यक्ष श्रेष्ठले बताए । दिवस दसैं मनाएर डेढ वर्षअघि मात्र रोजगारीका लागि मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डको रुपमा काम गर्न यूएई पुगेका थिए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully