ढोरपाटनका थप ५ बालबालिकामा दादुरा पुष्टि

सन् २०२६ भित्र देशबाटै दादुरा रुबेला रोग निर्मुल पार्ने अभियान संचालन भैरहेको बेला ढोरपाटन नगरपालिका–७, ८ र ९ का बालबालिकामा दादुरा रोग देखिएको हो ।

फाल्गुन २२, २०८२

प्रकाश बराल

Measles confirmed in 5 more children in Dhorpatan

बागलुङ — ढोरपाटन नगरपालिकाको बोबाङ गाउँमा थप ५ बालबालिकामा दादुरा संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट शुक्रबार थप ५ जनामा दादुराको संक्रमण पुष्टि भएको जानकारी आएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।

सन् २०२६ भित्र देशबाटै दादुरा रुबेला रोग निर्मुल पार्ने अभियान संचालन भैरहेको बेला ढोरपाटन नगरपालिका–७, ८ र ९ का बालबालिकामा दादुरा रोग देखिएको हो । अहिले गाउँभरी नै बालबालिकामा संक्रमणको दर बढिरहेको भेटिएको छ । 

गत साता छिटफुट समस्या देखिएपछि ८ जनाको परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ जनामा पुष्टि गरेको थियो । शुक्रबार थपिएका ५ सहित ६ बालबालिकामा दादुरा पुष्टि भएको छ । ‘गाउँभरी धेरै बालबालिका यो समस्यामा परिसकेको पाइयो, त्यसैले सघन रुपमा उपचार सेवा प्रवाह गर्दैछौं’ शर्माले भने, ‘तत्कालकालागि बुर्तिवाङ अस्पतालमा ५० बेड  थप गरेर सघन उपचारको काम गरिनेछ ।’ त्यसकालागि गण्डकी प्रदेश सरकारबाट ५० बेड माग गरिएको उनले बताए । शुक्रबार शर्मासहित धौलागिरि प्रादेशिक अस्पतालका बाल रोग बिशेषज्ञ डा. सन्दिप केसीलगायतका चिकित्सक पुगेर पहिलो चरणको उपचार गराएका छन् ।

शनिबार चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले २० वटा बेड लिएर बुर्तिवाङ पुग्दैछन् । ‘गाउँभरी बिरामी भएका बालबालिकामा ज्वरो, रुघाखोकी र शरीरमा बिबिरा देखिएका छन्’ शर्माले भने, ‘यो कसरी समस्याको रुपमा आयो भन्ने पनि अनुसन्धान भैरहेको छ ।’ यो घटनापछि विश्व स्वास्थ्य संगठनको विज्ञ टोली समेत यहाँ आउने तयारी गरेको छ । तर निर्वाचन आचारसंहिताले उक्त टोलीलाई रोकेकोले आइतबार मात्रै ढोरपाटन आइपुग्ने उनले बताए ।

यो जनस्वास्थ्य समस्याको रुपमा देखिएको कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । हाल विद्यालय बन्द भएकोले बालबालिकाहरु घरघरमा छन् । विद्यालय खुल्नुअघिनै संक्रमण रोक्न सकेमा समस्या कम हुने उनले बताए । ‘आवश्यक औषधि, मास्क र सूईलगायतको सामग्री संकलन भैरहेको छ, उपचारमा पनि स्वास्थ्यकर्मी परिचालन भएका छन्,’ घिमिरेले भने, ‘अस्पताल र स्वास्थ्य चौकीमा आइसोलेसन बनाएर बालबालिकाको उपचार गरिनेछ ।’ नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्मासहित स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि अहिले नियमित उपचारमा खटिएका छन् ।

गत पुसमा निसीखोलाका एक बालक आफन्त भेट्न ढोरपाटनको बोबाङ गाउँ जाँदा ऊक्त रोगको संत्रमण फैलिएको प्रारम्भिक अनुसन्धानले भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए । ‘ती बालक भारतबाट आएको र आफन्त भेट्न बोबाङ गएको पाइएको छ,’ उनले भने, ‘अहिले ती बालक भारत फर्किसकेका छन् ।’ उनले भेटेका निसीखोला गाउँपालिकाका पनि बालबालिकामा यो समस्या हुन सक्ने भएकोले खोजी अभियान थालिने उनले बताए । 

पहिलो चरणमै बोबाङमा ४७ बालबालिकामा दादुराको संक्रमण भएको भेटिएको थियो । अहिले त्यो संख्या अझै बढेको छ । कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले आइसोलेसनको व्यवस्थापन नगरेमा गाउँभरी फैलने खतरा भएको बताए ।

जन्मेको १५ महिनाभित्र दादुरा रुबेला खोप लगाइसक्नुपर्ने विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको प्रावधान छ । तर यहाँको बस्ती घुम्ती भएकोले अभिभावकले खोप नलगाएको हो वा अन्य कारण भएको अनुसन्धानबाट मात्र खुल्ने खत्रीको भनाइ छ । संक्रमण भएकाहरु अधिकांश १० देखि २० वर्षभित्रका छन् । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully