जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा ६१.३४ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक छ ।
पोखरा — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत कास्की जिल्लामा बिहीबार उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा ६१.३४ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे देशभरका अन्य जिल्लासँगै कास्कीका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा सकिएको हो ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभर कुल १ लाख ८९ हजार २ सय ६७ मत खसेको छ । जसमा महिला मतदाताको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । प्राप्त विवरण अनुसार १ लाख ३ सय ५ महिला र ८८ हजार ९ सय ५९ पुरुषले मतदान गरेका छन् भने ३ जना अन्य मतदाताले मताधिकार प्रयोग गरेका छन्।
कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका थिए, जसमा महिलाको संख्या १ लाख ६० हजार १ सय ५३ र पुरुषको संख्या १ लाख ४८ हजार ४ सय १५ रहेको छ । यस निर्वाचनमा कास्कीबाट १८ वटा राजनीतिक दल र ६ जना स्वतन्त्र गरी कुल ४९ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।
यी हुन् मतगणनास्थल
मतदान प्रक्रिया सम्पन्न भएसँगै तीनवटै क्षेत्रका मतपेटिकाहरू कडा सुरक्षाका साथ मतगणना स्थलमा ल्याइएको छ। तीनवटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार सर्वदलीय सहमति जुटाएर बिहीबार रातिबाटै मतगणना कार्य अघि बढाइने छ ।
क्षेत्र नम्बर १ को मतगणना पोखरा–१२ को वडा कार्यालय माटेपानीमा हुने छ । क्षेत्र नम्बर २ को मतगणना डयामसाइडस्थित जलस्रोत सिँचाइ कार्यालय र क्षेत्र नम्बर ३ को मतगणना प्रदेश कृषि मन्त्रालयको कार्यालय मालेपाटनमा हुनेछ । मतगणना स्थलमा तार जाली लगाइएको छ । सीसीटीभी क्यामरा जडान गरिएको छ ।
