होलीमा उम्मेदवार–दलको चिह्न अंकित कपडा लगाउन प्रतिबन्ध

निमित्त प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जारी गरेको सूचनामा ‘होली पर्व प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा परेको र निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले उम्मेदवार र राजनीतिक दलको चुनाव अंकित सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको’ जनाइएको छ ।

फाल्गुन १६, २०८२

आश गुरुङ

Wearing clothes with candidate and party symbols banned on Holi

What you should know

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १८ गते मनाइने होली पर्व (फागू) को अवसरमा उम्मेदवार र राजनीतिक दलको चिह्न अंकित कपडा र कपडाजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

कार्यालयले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत रहन र पर्वलाई सभ्य, मर्यादित तथा मनोरञ्जनपूर्वक मनाउन अनुरोध गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जारी गरेको सूचनामा ‘होली पर्व प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा परेको र निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले उम्मेदवार र राजनीतिक दलको चुनाव अंकित सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको’ जनाइएको छ ।

‘राजनीतिक दल र उम्मेदवारको चिह्न अंकित टोपी, व्याच, भेस्ट, टि–सर्ट, कमिज, गम्छालगायत कपडा तथा अन्य सामग्रीको उत्पादन, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा रोक लगाएका छौं,’ उनले भने, ‘यो रोक उल्लंघन भएमा निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित कानुन अनुसार कारबाही हुन्छ ।’

सूचनामा कुनै पनि व्यक्तिको इच्छाविपरीत जबरजस्ती रंग हान्ने, लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रुलाई दुःख र हैरानी दिने, यातायात अवरोध गरी रकम असुल्ने, मादक पदार्थ तथा नशालु पदार्थ खाने र खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने, चर्को स्वरमा गीत, बाजा (डिजे) बजाउने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने र सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पर्ने गतिविधि नगर्न अनुरोध गरिएको छ ।

यस्तै, घरको छत, छिँडी र बरण्डामा खेल्दा हुन सक्ने दुर्घटनाप्रति सजग रहँदै स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाइ व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक होली मनाउन र समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully