दर्जनौं सेवा थपिएको बुर्तिवाङ अस्पतालमा रक्तसञ्चार अभाव

ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकासहित बडीगाड गाउँपालिका, गुल्मी, रोल्पा र रुकुमसम्मका बिरामी यहाँ उपचारमा आउँछन् ।

फाल्गुन १४, २०८२

प्रकाश बराल

Blood transfusion shortage at Burtiwang Hospital, where dozens of services have been added

What you should know

बागलुङ — गत वर्ष उद्घाटन भएर संचालनमा आएको बुर्तिवाङ अस्पतालमा भएको जनशक्तिले सामान्य अपरेसन सेवा दिन सक्छ । तर यहाँ विद्युतको दिगो सेवा र रक्तसञ्चार सेवा छैन । 

पश्चिम बागलुङका तीन गाउँपालिका र एक नगरपालिकाको केन्द्र तथा रुकुम र पश्चिम क्षेत्रका अन्य जिल्लाले समेत सेवा लिने यो अस्पताल रक्तसंचार सेवा नहुँदा प्रभावकारी बन्न सकेको छैन । विशेष गरी सडक दुर्घटनाका बिरामी धेरै आउने, धेरै जनसंख्याले उपचार लिने स्थान भएर पनि जनशक्ति पर्याप्त नभएको र अपरेसनका लागि चाहिने अन्य पाटो कमजोर हुँदा भएको जनशक्तिले पनि सेवा दिन नसकेको हो । 

अस्पतालका प्रमुख डा. अविनाश पोखरेलका अनुसार अस्पतालमा तीन डाक्टर छन् । बढी आवश्यक पर्ने स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी लगायतको सेवामा जनशक्ति अभाव छ । अस्पतालले आन्तरिक व्यवस्थापन गरेर वार्ड भने आफैं बनाएको छ । स्वास्थ्यकर्मीको आवास हटाएर वार्ड बनाइएको हो । यहाँ २ वटा भेन्टिलेटर, क्याबिन र बालवार्डसमेत बनाउन लागिएको सिनियर नर्स पार्वती अर्यालले बताइन् ।

‘वार्ड अभावमा धेरै बिरामी भर्ना गर्न सकिएको थिएन, अहिले निवास हटाएर वार्ड बनायौं,’ उनले भनिन्, ‘अझै जटिल प्रसूति अपरेसनपछिका लागि आईसीयू छैन ।’ अस्पताल घोषणा र उद्घाटन भए पनि उपकरण, जनशक्ति र व्यवस्थापन ढिलाइ भएको उनले बताइन् । बागलुङ सदरमुकामको धौलागिरि अस्पताल प्रादेशिक भएपछि बुर्तिवाङको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइएको हो ।

अस्पतालले शिशुलाई जन्डिसबाट बचाउन फोटो थेरापी सेवा पनि संचालनमा ल्याएको छ । अस्पतालमा फेयरमेड फाउन्डेसन र गण्डकी प्रदेश सरकारको सहयोगमा सुविधासम्पन्न ल्याब भने बनेको छ । जसका कारण गत वर्ष मात्रै ३० हजार बिरामीले सेवा लिएको तथ्यांक छ । गत वर्ष २ सय ६० जना सुत्केरी भएकामा १९ वटा अपरेसन बुर्तिवाङमै सफल भएको थियो । तर अझै पनि यहाँ विद्युत् अभाव छ । जेनेरेटर सानो भएकाले क्षमता अभावले अपरेसनमा जोखिम मोल्नुपर्ने बाध्यता छ । विद्युत् गयो भने ल्याब, एक्सरे जस्ता सेवा तत्काल अबरुद्ध हुने गरेको छ । 

गत वर्ष गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र स्वास्थ्यमन्त्री कृष्ण पाठक पुगेर अस्पतालको उद्घाटन गरेका थिए । तर आवश्यक सामग्री, उपकरण र जनशक्ति व्यवस्थापनमा चासो देखाएका छैनन् । ‘अस्पताललाई चाहिने सबै व्यवस्थापन गर्न सकिएन भने भवन मात्र भएर सेवा चल्दैन,’ भवन निर्माण समितिका तत्कालीन अध्यक्ष चन्द्र अर्यालले भने, ‘सबैको चासो र चिन्तन व्यवस्थापन चुस्त बनाउनु पर्छ भन्ने नै छ ।’

मध्यपहाडी लोकमार्गको छेवैमा भएकाले हरेक दिनजसो सडक दुर्घटनाका बिरामी यहाँ पुग्छन् । उनीहरूलाई टाउको तथा हाडजोर्नीसम्बन्धी विज्ञ सेवा चाहिन्छ । त्यो अभाव छ । ट्रमा सेन्टर स्थापना गरेर सेवा संचालन गरेमा मात्र त्यस्तो जोखिमका बिरामीको उपचार गर्न सकिने अस्पतालका प्रमुख पोखरेलले बताए । 

ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका सहित बडीगाड गाउँपालिका, गुल्मी, रोल्पा र रुकुमसम्मका बिरामी यहाँ उपचारमा आउँछन् । तर पर्याप्त सेवा छैन । जसका कारण पाल्पा वा बुटवल रिफर हुने गरेका छन् ।

जिल्ला अस्पताल घोषणा भएर पनि आवश्यक सेवा सुविधा तथा उपकरण उपलब्ध नभएपछि चाहेर पनि कतिपय सेवा विस्तार गर्न नसकेको पोखरेलको भनाइ छ । तर पनि यहाँ जिन एक्सपोर्ट मेसिन राखेकाले क्षयरोगको परीक्षण र उपचार सेवा भने सहज बन्दै गएको छ । त्यसबाहेक अन्य सरुवा रोगहरूको पहिचान र उपचार, उष्णप्रदेशीय रोगका बिरामीलाई गोपनीयता कायम गरेर सेवा दिने काम पनि यहाँबाट हुने गरेको छ । सेवा प्रवाह बढ्दै गएपछि पश्चिम बागलुङमा घरघरमा हुने सुत्केरी घटेका छन् भने निजी क्लिनिकमा गएर असुरक्षित गर्भपतन गर्नेहरू पनि कम देखिएका छन् ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully