भवन बनाउन धितो राखेको प्रअको लालपूर्जा फिर्ता, सहयोगीले तिरिदिए विद्यालयको ऋण

जलजला गाउँपालिका–१ बाँसखर्कस्थित ज्योति मण्डल माध्यमिक विद्यालयका प्रधानाध्यापक मेखबहादुर खत्रीले विद्यालय भवन निर्माणका लागि १० वर्षअघि आफ्नो निजी जग्गाको लालपूर्जा धितो राखेर सहकारीबाट ऋण झिकेका थिए ।

फाल्गुन १२, २०८२

सुमनजंग थापा

Principal's mortgage for building returned, assistant pays off school loan

What you should know

पर्वत — विद्यालयको भवन निर्माणका लागि एक प्रधानाध्यापकले धितो राखेको लालपूर्जा एक दाताले ऋण तिरेर फिर्ता ल्याइदिएका छन् ।

जलजला गाउँपालिका–१ बाँसखर्कस्थित ज्योति मण्डल माध्यमिक विद्यालयका प्रधानाध्यापक मेखबहादुर खत्रीले विद्यालय भवन निर्माणका लागि १० वर्षअघि आफ्नो निजी जग्गाको लालपूर्जा धितो राखेर सहकारीबाट ऋण झिकेका थिए । 

विद्यालयमा आर्थिक अभाव रहेकाले लामो समयसम्म उक्त ऋण चुक्ता गर्न नसक्दा खत्रीको लालपूर्जा सहकारीमै थन्किएको थियो । ऋण नतिरेकै कारण प्रधानाध्यापकको निजी जग्गा सहकारीमै रहेको खबर थाहा पाएपछि समाजसेवी कमलबहादुर पूर्जाले गत शुक्रबार सहकारीमा पुगेर आफैले ऋण तिरिदिएका छन् । उनले ९ लाख २८ हजार ४६६ रुपैयाँ सहकारीमा बुझाएर लालपूर्जा फिर्ता ल्याएका हुन् ।  

विद्यालयमाथि लागेको ऋण पूर्णरूपमा चुक्ता भई आफ्नै जग्गाको लालपूर्जा पुन: हात परेपछि प्रधानाध्यापक खत्री हर्षित छन् । स्थानीयस्तरमा सहयोगी पुर्जाले गरेको यस कार्यको प्रशंसा भइरहेको छ । ‘स्वर्गीय लालबहादुर पुन यस विद्यालयको शिक्षक र अध्यक्ष भएर काम गर्नुभएको थियो,’ प्रअ खत्रीले भने,‘उहाँका नातिनी ज्वाइँले हजुरबुवाको सम्झनामा विद्यालयको ऋण तिरिदिनु भएको हो । लालबहादुर बुवाले पनि विद्यालयलाई धेरै गुन लगाउनु भएको छ ।’ 

पूर्वप्रधानपञ्चसमेत रहेका लालबहादुरका नातिनी ज्वाइँ कमलबहादुर तथा नातिनीहरू पर्वती, राधा, सिता, शान्ति र पनाती पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको प्रअ खत्रीले बताए । विद्यालयले सहयोगीदाताहरूलाई सम्मानसमेत गरेको थियो । विद्यालयलाई धेरै दाताहरूले सघाउने गरे पनि ठूलो रकमको सहयोग पहिलो पटक प्राप्त भएको उनले बताए । विद्यालयले सहकारीमा १० वर्षसम्म करिब १२ लाख रुपैयाँजति ब्याज तिरिसकेको छ । 

विद्यालयका लागि नयाँ जग्गा खरिद र त्यसमा पक्की भवन निर्माण गर्ने क्रममा रकम अपुग भएपछि सहकारीमा लालपूर्जा राखेर ऋण झिक्नुपरेको उनले बताए । ‘पुरानो विद्यालय रहेको ठाउँ अपायक, भिरालो र पहिरोको उच्च जोखिममा थियो,’ उनले भने, ‘समुदायस्तरबाट नै रकम संकलन गरेर खरिद गरिएको जग्गामा पक्की भवन निर्माण गर्‍यौं । निजी स्रोतबाट तलब खुवाउने गरी माध्यमिक शिक्षक राखेका थियौं । सबै खर्च धान्नका लागि ऋणमै विद्यालय चलाउनुपर्ने अवस्था आयो ।’

कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा हाल ९४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय नयाँ स्थानमा बनेसँगै विद्यार्थीलाई पायक पर्ने भएकाले विद्यार्थी संख्या क्रमश: बढ्दै गएको प्रअ खत्रीले बताए । विद्यालयलाई तत्काल तारबार र खेलमैदान निर्माण गर्न सके अझ राम्रो हुने उनले बताए ।  

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully