संस्थागत विद्यालयको जस्तै शैक्षिक वातावरणमा छोराछोरीलाई अध्ययन गराउन पाउँदा यहाँका अभिभावक खुसी छन् ।
What you should know
नवलपुर — चिटिक्क परेका कक्षाकोठाका भित्ताभरि बालबालिकालाई आकर्षित गर्ने चित्र छन्। भित्तामै अध्ययनका लागि अक्षर र रमाइलोका लागि कार्टुन कला कोरिएका छन् ।
कक्षाकोठाको यस्तो वातावरणमा मग्न भएर रमाइरहेका बालबालिका छन् । यो कुनै निजी विद्यालयको ‘मन्टेश्वरी’ कक्षाको दृश्य भने होइन ।
पूर्वी नवलपरासीको हुप्सेकोट–१ स्थित सूर्य ज्योति माध्यमिक विद्यालयको पूर्व प्राथमिक तहको कक्षाकोठा हो । संस्थागत विद्यालयको जस्तै शैक्षिक वातावरणमा छोराछोरी अध्ययन गराउन पाउँदा यहाँका अभिभावक खुसी छन् ।
तल्लो तहका कक्षाको शैक्षिक वातावरण सुधार भएमात्र माथिल्लोमा शैक्षिक गुणस्तर वृद्धि हुने योजनाका साथ हुप्सेकोट र बौदीकाली गाउँपालिकामा सञ्चालन भइरहेको सिकाइ परियोजनाले प्राथमिक तहका विद्यार्थीको संख्याका साथै सिकाइ उपलब्धि वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।
विद्यार्थीको न्यून उपस्थिति र कमजोर भौतिक पूर्वाधारका कारण पढाइमा कमजोर यहाँका बालबालिका ‘सिकाइ परियोजना’ लागू भएपछि खुसी छन् । पहाडी भेगबाट बालबालिका पढाउन भनेर बसाइँसराइ सरेर सहर आउनेक्रम बढ्दो छ । गाउँमै बसिरहेकाहरू सरकारी विद्यालयको नाजुक भौतिक अवस्थाका कारण चिन्तित थिए ।
सिकाइ परियोजना लागू भएपछि बालबालिकाको चौतर्फी विकासमा टेवा पुगेको सूर्य ज्योति माविका प्रधानाध्यापक वीरबहादुर कुमालले बताए । ‘तालिमप्राप्त शिक्षक, सिकाइ मैत्री कक्षाकोठा र आईसीटी कक्षाले विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढेको छ,' उनले भने,‘निजी विद्यालयको भन्दा पनि राम्रो वातावरणमा बालबालिकाले अध्ययन गर्न पाएका छन् । कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा थप प्रभावकारी भएको छ।’
विद्यालय सुधार योजना, कमजोर विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरेर उपचारात्मक कक्षा, व्यवस्थित शौचालय, छात्राका लागि सेनेटरी प्याड बनाउने तालिम र मेसिनबाट नै सेनेटरी प्याड लिन सकिने व्यवस्था गरेपछि कक्षा ५ सम्म भर्ना हुने विद्यार्थीको संख्या बढेको छ ।
गत शैक्षिक सत्रमा उक्त विद्यालयमा १ देखि ५ कक्षासम्म १ सय ५९ विद्यार्थी रहेकामा चालु शैक्षिक सत्रमा २ सय ३५ जना पुगेका छन् । बाल कल्याण आधारभूत विद्यालय बौदीकाली–२ मा पनि १ सय ५८ बाट १ सय ६८ जना पुगेको बौदीकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले बताए । राइट फर चिल्ड्रेनको सहकार्यमा सिकाइ परियोजना लागू भएपछि यी विद्यालयमा सुधार आएको हो ।
