१५ शय्याको अस्पतालसहितका सेवा संचालन गर्ने लक्ष्यको यो भवन अहिले खाली जस्तै छ ।
What you should know
बागलुङ — बडिगाड गाउँपालिकाले झण्डै १५ रोपनी जमिनमा १८ करोड लागतमा बनाएको भवनमा ग्वालीचौर स्वास्थ्य चौकी संचालनमा ल्याएको छ ।
आधारभूत अस्पतालको रुपमा संचालन गर्ने लक्ष्य राखिएको यो भवनमा तत्काल दरबन्दी र सेवा प्रवाह गर्न नसकेपछि भवनको सदुपयोगकालागि स्वास्थ्य चौकी संचालनमा ल्याइएको हो । १५ शय्याको अस्पतालसहितका सेवा संचालन गर्ने लक्ष्यको यो भवन अहिले खाली जस्तै छ ।
चार वर्ष लगाएर निर्माण सकिएको पनि वर्ष दिन बितिसक्यो । उक्त भवनमा पुग्ने सडक पनि जोडियो । विद्युत, खानेपानी समेत जडान भैसकेको छ । अहिले विद्युतको महशुुल उठ्न पनि थालिसक्यो । तर यो भवनको उद्देश्य अनुसार संचालन गर्ने तयारी छैन ।
बडिगाड गाउँपालिका–५ स्थित ग्वालीचौरको फाँटमा बनेको यो १५ शय्याको अस्पताल हो । एक पालिका एक अस्पतालकालागि बडिगाडलाई १५ शय्याको अस्पतालको कोटा परेको थियो । सोही अनुसार गत वर्ष नै यो भवन बनिसकेको हो । तर यहाँ अस्पताल संचालन गर्ने कुरा निकै चुनौतीको भएको छ ।
यहाँ अहिले दैनिक २० देखि ३० जना बिरामीको उपचार हुने गरेको छ भने १७ देदिख २० जनासम्मको ल्याब परीक्षण हुने गरेको छ । उक्त ल्याब पनि फेयरमेड फाउण्डेसनको सहयोगमा दिइएका सामग्रीले संचालित छ । सामान्य सेवाकालागि बुर्तिवाङ वा पाल्पा पुग्नुपर्ने बाध्यता भने ल्याब स्थापनाले हटेको हेल्थ असिस्टेन्ट शुसिला रेश्मीले बताइन् । यहाँ सक्सन मेसिन, डब्लर र डेलिभरी बेड तथा ल्याबका सामग्री र उपकरण दाताबाट सहयोग भएको थियो । त्यसबाहेक माइक्रोस्कोप, सेन्ट्रिफ्युज जस्ता सामग्री पनि यहाँ दिइएको हो ।
आधारभूत अस्पताल बनाउने गरी यहाँ ५ वटा मृगौला रोगीकालागि डायलाइसिस गराउने मेसिन समेत लगिएको छ । तर दक्ष जनशक्ति अभावमा संचालनमा आउन सकेको छैन । उक्त मेसिन संचालनमा आएमा पश्चिम बागलुङबासीले सेवा लिन सकेमा धौलागिरि प्रादेशिक अस्पतालको चाप घट्ने छ ।
धौलागिरी अस्पतालमा अहिले दैनिक ६० देखि ८० जनासम्मले डायलायसिस गराइरहेका छन् । तर पालो नपाएर सातामा तीनचार दिनदेखि पर्खन बाध्य समेत छन् । ‘हामीले सके यहाँ डायलाइसिस मेसिन थपेर सेवा दिने, नसके अन्यत्र भएका स्थानमा पनि संचालन गर्ने वातावरण बनाउन पहल गर्छौं,’ अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले भने, ‘ग्रामीण क्षेत्रमा भएका उपकरण पनि संचालनमा ल्याउन सकेमा अस्पतालको चाप कम हुने थियो ।’ आधारभूत अस्पतालहरु संचालनमा आएमा यहााका अन्य समस्या समाधान हुने उनले बताए ।
यो अस्पताल संचालनकालागि गाउँपालिका अध्यक्ष गण्डकी थापा र उपाध्यक्ष भीमसेन वन र प्रमुख प्रशासकीय अधिकृतसहितका जनप्रतिनिधि मिलेर पटकपटक संघीय र प्रदेशको स्वास्थ्य मन्त्रालय धाएका छन् । प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीलाई पटक पटक भेटेका छन् । तर ठोस जवाफ केही नआएको गुनासो गर्छन् । ओएनएम गरेर जनशक्ति पठाउन सकेमा उपकरणहरु सदुपयोग गरेर स्थानीयको मात्र नभइ आसपासका क्षेत्रका बासिन्दालाई पनि सेवा दिन सकिने थापाले बताइन् ।
स्थानीयले धानखेत मासेर अस्पताल बन्ने भयो भन्दै जग्गा जान दिएका थिए । करोडौं खर्चेर बिसाल भवन मात्रै बने पनि संचालनमा नआएपछि स्थानीय समेत निरास छन् । ‘भवनकालागि सबै मिलेर जग्गा दान गरेका हौं, अहिलेसम्म संचालनको पत्तो छैन,’ स्थानीय राजीव घिमिरे भन्छन्, ‘जनताले सेवा नपाए घरमात्रै बनेर के फाइदा ?’ जग्गादाता समेत अस्पताल नचलेको देखेर निरास भएको उनले बताए ।
यो मध्यपहाडी लोकमार्गको छेवैमा छ । सडक दुर्घटनाका बिरामीको उपचारमा पनि यो अस्पताल उपयोगी हुने उपाध्यक्ष भीमसेन वनले बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि राज्यको ध्यानाकर्षण नहुँदा स्थानीयले सास्ती खेपेको उनले बताए ।
