यातायातको सुविधा नहुँदा वर्षौंदेखि सास्ती खेपेका स्थानीयले एकै वर्षमा सडक कालोपत्र भएपछि यात्रा र कृषिजन्य सामग्री ढुवानीमा सहज भएको बताएका छन् ।
What you should know
बागलुङ — सहरी शासकीय क्षमता विकास कार्यक्रम मार्फत बागलुङ नगरपालिकाभित्रको साढे १२ किलोमिटर सडक एक वर्षमै कालोपत्र भएको छ । बागलुङ नगरपालिका–१, ४ र ७ का तीन वटा सडक सम्झौताको एक वर्षमै पूरा भएको हो ।
यातायातको सुविधा नहुँदा वर्षौंदेखि सास्ती खेपेका स्थानीयले एकै वर्षमा सडक कालोपत्र भएपछि यात्रा र कृषिजन्य सामग्री ढुवानीमा सहज भएको बताएका छन् ।
बागलुङ नगरपालिकाले विश्व बैंकको सहयोगमा छोटो सयमा कालोपत्र गरिएको सडकको अन्तिम मूल्यांकनकालागि सर्वपक्षीय टोलीले अनुगमन गरिसकेको छ । गतवर्ष निर्माण भएको मुलपानीदेखि तितौरे, ओडारचौरदेखि ढोडेनी र गणेशघुम्तीदेखि निरयघाट जोड्ने तीन वटा सडकको दातृ निकाय, सरकारी टोली र नगरपालिका समेतले अनुगमन गरी सुझाव समेत दिएको छ ।
अहिलेसम्म नगरभित्र बनेका सडक मध्ये यो सडक स्तरीय बनेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । अन्तिम भुक्तानीअघि अनुगमन टोलीले केही मर्मतका काम तत्काल पूरा गर्न सुझाव दिएको छ । यो सुझाव अनुसार काम पूरा भएपछि मात्र रकमको भुक्तानी दिइने छ ।
हाल बनेको सडकमा एक/दुई स्थानमा नालीको स्ल्याब पूरा गर्न सुझाव दिइएको छ । केही लिंक सडक सम्याउन बाँकी रहेको, केही स्थानमा पहिरोले सडकको खण्ड भत्केको र विभिन्न चिन्हहरु प्रयोग गर्न बाँकी रहेको भेटिएको हो । नगरप्र श्रेष्ठ तथा परियोजनाका निर्देशक लिला खतिवडालगायतले ठेकेदार पक्षलाई ती काम पूरा गरेपछि सबै भुक्तानी दिने सुझाव समेत दिएका छन् ।
बागलुङ नगरपालिकाले ‘सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम’ मार्फत वडा ७ को मुलपानीदेखि तितौरेसम्मको साढे ८ किमी, ओडारचौरदेखि ढोडेनीसम्मको सााढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी गरी साढे १२ दशमलव ५ किमी सडक निर्माण गरेको हो ।
यो सडक कालोपत्र गरेर चिकिक्क बनाइसकिएको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोडमा उक्त सडक निर्माण गरेको हो । यो सडकले ग्रामीण जनतालाई सहर आउन, उनीहरुको कृषि उत्पादनको बजारीकरण गर्नलगायतका काममा सहज भएको छ । ‘यो सडकले हामीलाई धेरै सहयोग मिलेको छ, नगरपालिकाले धेरै सहयोग गरेर गाउँमा बिकास आयो,’ बागलुङ नगरपालिका–७ की स्थानीय पूजा सुनारले भनिन्, ‘धुलो खानुपर्ने गाउँमा अहिले सरर ट्याम्पो समेत चढेर आउन सकिने भयो ।’
उनले काम राम्रो भएको र केही स्थानमा नालीमा स्ल्याब राखिदिन आग्रह गरिएको बताइन् । त्यस्तै मूल सडकबाट शाखा सडकमा जाने बाटोहरु स्तरीय बनाइदिनुपर्ने, खेतबारीमा जाने गोरेटा पुरिएकोले खोलीदिनुपर्ने जस्ता माग भने उनीहरुले राखेका छन् ।
सडक सहज बन्दा सदरमुकामदेखि वडा ७ को तितौरेसम्मको झण्डै ११ किमी खण्ड आधा घण्टामा पुग्न सकिने भएकोले क्याम्पस पढ्ने विद्यार्थीदेखि कर्मचारीले घरबाटै आउजाउ गर्न सकेको स्थानीयले बताए । यो सडकले ग्रामीण बस्तीका किसानले उत्पादन गर्ने दूध र तरकारीको बजारीकरणमा सबैभन्दा सहज बनेको समेत बताएका छन् ।
यी तीन वटै सडकहरु ६ देखि ८ मिटर चौडाइका छन् । विश्व बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार बिकास कार्यक्रममा सहयोग गरेकोमा बागलुङमा पनि काम भएको हो । हालसम्म वालिङ नगरपालिका र बागलुङको काम स्तरीय भएको पाइएको अनुगमन टोलीको निष्कर्ष समेत छ ।
बागलुङ नगरपालिकाले ओडारचौरदेखि ढोडेनी र गणेश घुम्तीदेखि निरयघाट जोड्ने सडक बनाउँदा कालीगण्डकीको झोलुंगे पुल तरेपछि बेनी जानेले पनि सहज महशुष गरेका छन् भने ढोडेनीका किसानले ट्याम्पो प्रयोग गरेर तरकारी बजारमा ल्याएर बेच्न सकेको स्थानीय सुदर्शन शर्माले बताए ।
पर्वतको फोर्से र लस्तीका किसानले दैनिक आउजाउ गर्दा छोटो बाटो प्रयोग गर्न पाएको उनको भनाइ छ । अहिले पनि उक्त स्थानबाट बजारमा अधिक तरकारी र दूध आउने गरेको छ । बिरामी पर्दा धौलागिरि अस्पताल आउन पनि सहज भएको छ ।
