खुल्यो नार्पा भूमिको बाटो

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार गत बुधबारदेखि सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गरेका थिए । आइतबारमात्रै सफल भएको र नार्पा भूमि गाउँपालिका जाने बाटो खुलेको उनले बताए ।

फाल्गुन १०, २०८२

आश गुरुङ

The road to Narpa land has opened.

What you should know

लमजुङ — हिमाली जिल्ला मनाङको विकट नार्पा भूमि जाने बाटो ५ दिन लगाएर सुरक्षाकर्मीले खुलाएका छन् । नार्पाभूमि गाउँपालिका–धर्मशाला माथिको झरना जम्नुका साथै ठाउँठाउँमा बरफ जमेपछि सिंगो नार्पा भूमि गाउँपालिका आउजाउ गर्ने बाटो बन्द थियो ।

हालसम्म सडक सञ्जालले नछोएको नार्पा भूमि गाउँपालिकाको नार र फू गाउँ पुग्दा सदरमुकाम चामे नजिकै कोतोबाट २ दिन लाग्छ । धर्मशाला माथिको झरना पुग्न सुरक्षाकर्मीलाई ६–७ घण्टा लागेको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको २० जना सुरक्षाकर्मीले गल, गैंती, घन, बेल्चा र हिउँ काट्ने बन्चरो प्रयोग गरेर बाटो खुलाएका हुन् । प्रायः घाम नलाग्ने उक्त ठाउँ नारखोला छेउ र खाँचमा भएकाले पनि प्रायः चिसो भइरहन्छ । सुरक्षाकर्मीले छ्याज्या, मेताफेदीलगायत बाटोको बरफ पनि हटाएका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार गत बुधबारदेखि सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गरेका थिए । आइतबारमात्रै सफल भएको र नार्पा भूमि गाउँपालिका जाने बाटो खुलेको उनले बताए ।

‘बाटो खुलसँगै अब स्थानीयलाई आवतजावत गर्न र निर्वाचनमा खटिने कर्मचारीलाई सहज हुने भएको छ,’ उनले भने । उनका अनुसार नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म र जिल्ला प्रहरी कार्यालय मनाङका सुरक्षाकर्मी बाटो खुलाउन खटिएका थिए ।

नार्पा भूमि गाउँपालिकाका वडा–१ देखि ३ सम्म नार क्षेत्रमा ३ र वडा–४ र ५ को फू क्षेत्रमा २ गरी ५ वटा मतदान केन्द्र छन् । सडक खुलेसँगै ती ठाउँको मतदान केन्द्र अनुगमनको तयारी भइरहेका प्रजिअ पौड्यालले बताए ।

The road to Narpa land has opened.

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully